 पेसागत महासंघ सुनसरीद्वारा बुधबार इटहरीमा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीका सहभागी। तस्बिर : विवेक विवश रेग्मी
                            पेसागत महासंघ सुनसरीद्वारा बुधबार इटहरीमा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीका सहभागी। तस्बिर : विवेक विवश रेग्मी
                                            इटहरी- पछिल्लो समय पुँजीवादका कारण संस्कृति निर्माण गर्नका निम्ति समस्या भइरहेको धारणा विज्ञहरूले व्यक्त गरेका छन्। पेसागत महासंघ सुनसरीद्वारा बुधबार इटहरीमा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरूले संस्कृति निर्माण र रूपान्तरणका निम्ति पेसाकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए।
कार्यपत्र प्रस्तुत गर्दै डा. दिवाकर रेग्मीले समाजवाद उन्मुख संस्कृति निर्माण गर्नको लागि पेसाकर्मीको भूमिका महत्त्वपूर्ण हुने तर्क गरे। उनले पछिल्लो समय समाज पुँजीवादउन्मुख हुँदै गइरहेको बताए।
‘हिजो मानिस गुफामा बस्थ्यो, कन्दमुल जम्मा गर्थ्यो, परिवारमा बाँडेर खान्थ्यो, उसको संस्कृति कहाँ थियो?’ डा. रेग्मीले भने, ‘आज पुँजीवादले दिएका तमाम सुविधा प्रयोग गरिरहेका छौँ, पुँजीवादले ल्याइदिएका अर्थतन्त्रको क्रियाकलापमा अगाडि र सांस्कृतिक परिवर्तनलाई आत्मसात् गरेर हिँडेका छौँ।’
उनले संस्कृति भन्नेबित्तिकै दसैँ, तिहार, उँधौली, उँभौली, धान नाच वा अन्य कुनै पर्व मात्रै नरहेको बताउँदै संस्कृतिको महत्त्वपूर्ण पाटो भने छुटिरहेको धारणा राखे । नेपाली समुदायभित्र संस्कृतिको बहस हुँदा हिजोको संस्कृति र आजको संस्कृतिभित्र ब्युरोक्रेसीको रोल के हो? भन्नेबारे बहस हुन आवश्यक रहेको उनको भनाइ छ।
‘हामीले शैक्षिक संस्कृति, स्वास्थ्य संस्कृतिबारे कुरै गरेका छैनौँ, खासमा श्रम भनेको भौतिक उत्पादन मात्रै होइन। हामी सामाजिक भएर हेर्ने हो भने हामी मानव भइसकेपछि हाम्रो मानवप्रतिको अर्को जिम्मेवारी पनि होला, त्यसमा बहस हुन आवश्यक छ,’ उनले भने, ‘हामीलाई पुँजीवादले त्यो सिकाएको छैन त्यसैले हामी आफैँ जस्तो हुन सकेनौँ।’
उनले पछिल्लो समय मानिसहरू साथी र परिवारबाट टाढिँदै गएको र मेसिनजस्तो बनिरहेको तर्क गरे। यो हुनुमा चिन्तन प्रणाली वा नैतिक शिक्षाको अभावले नभई प्रतिस्पर्धाका कारण र पुँजीवादका कारण मान्छेको स्वभावबाट मान्छेहरू विमुख भइसकेको उनले सुनाए।
‘संस्कृति परिवर्तन हुन्छ, त्यो हामीलाई मार्क्सवादले सिकाएको छ। तर हामीहरू जहिल्यै पनि शासक वर्गको पृष्ठपोषण मात्रै गर्नाले परिवर्तन भइरहेको छैन। संस्कृति परम्परागत नै हुनुपर्छ भन्ने भाष्य अझै पनि छ। परिवर्तन गर्न खोज्यो भने पुरानाहरूको आङ नै सिरिङ्ग हुन्छ,’ उनले थपे।
खासगरी मानिसले जीवनयापन गर्ने शिक्षामा एक्लै हिँडेर कहीँ पुगिँदैन भन्ने भाष्य विकास भइरहे पनि पुँजीवादी शिक्षाका कारण ‘तँ एक्लै हिँडिनस् भने कहीँ पनि पुग्दैनस्’ भनेर सिकाइराखिएको उनले उदाहरण दिए।
‘आफैँले श्रम गरेको संस्थामा आफ्नै स्वामित्व हुँदैन, हामी त्यो अवस्थामा पुगिसक्यौँ। हाम्रा हाकिमसाबले तलका कर्मचारीलाई पेल्ने दृष्टिकोण पनि हामीले देखिरहेका छौँ। यो पनि संस्कृति रूपान्तरणका लागि चुनौती हो,’ रेग्मी भन्छन्, ‘तलको काम गर्ने र हाकिमको वर्गबीच पनि भिन्नता छ। त्यसले जस्तो खालको संस्कृति निर्माण गरिरहेको छ, त्यही खालको संस्कृति निर्माण भइरहेको छ।’
उनले सांस्कृतिक रूपान्तरणका निम्ति सामूहिकताको विकास जरुरी रहेको सुनाए। पेसाकर्मीका लागि आफ्नो पेसा नै संस्कृति रहेकोसमेत उनको भनाइ छ। ‘सामूहिक लक्ष्य नै संस्कृतिका रूपमा विकास हुन आवश्यक छ। व्यक्तिगत इच्छा त सबैको हुन्छ,’ उनले भने। एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव प्रकाश राईले एड्भोकेसी हुनु र एकेडेमिक हुनुको भिन्नताबारे प्रस्ट्याए।
‘हामी विद्वत्ता आर्जन गर्ने नाममा ठूल्ठूलो स्वरमा चिच्याएर बेठिकलाई पनि ठिक भन्दिनुपर्ने अवस्थामा छौँ,’ राईले भने, ‘बुद्धिजीवी पनि पार्टीको भइदिनुपर्ने? अहिले त जातिको पनि भइदिनुपर्ने? अझै बढी क्षेत्रको पनि भइदिनुपर्ने? हाम्रो संस्कृति कतातिर जाँदैछ?’
उनले एड्भोकेसी र एकेडेमीमा आकाशपातलको फरक रहेको सुनाए। एकेडेमीले दूधको दूध र पानीको पानी छुट्याउने भए पनि एड्भोकेसीमा भने ‘ज्यानै मारे पनि होइन’ भन्ने बहस गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

पछिल्लो समय आधुनिकताका नाममा राईहरूको मगनीमा छानेको रक्सीको सट्टा कोकाकोलाको बोतल राखेपछि हुने अवस्था आउनु नै संस्कृतिप्रतिको चुनौती रहेको उनको तर्क छ। ‘आर्थिक, राजनीतिक र सांस्कृतिक आयामबाट मानिसको संगठित जिन्दगानी चलिरहेको हुन्छ। संस्कृतिलाई अलग्गै राखेर बुझ्ने कोसिस गर्यौँ भने ठाउँमा पुगिँदैन,’ राईले भने, ‘हामीले अहिले बाँचिरहेको मूल आधार भनेको पुँजीवादी समाज हो। यो समाजमा पनि नयाँ न्युट्रेसन देखा परिरहेको छ। यसलाई भत्काउन निर्ममतासाथ प्रहार हुनुपर्छ।’
नेपाली समाज राजनीतिक दलमा विभाजित भइरहेको उनको भनाइ छ। पुँजीवादको लामो इतिहास भएकाले पुँजीवादले एकअर्कालाई दाँज्ने काम मात्रै गर्ने र स्रोतसाधनमा मानिसलाई कब्जामा राख्ने राईले तर्क गरे।
‘म स्कुल पढ्दा एउटा सम्झना आउँछ। हाम्रो हेडमास्टरले एउटा प्रश्न गर्नुहुन्थ्यो- सबैको पेट छामेर तैँले के खाएर आइस्? उसको छोरी पनि हामीसँगै पढ्थिन्। उनी हेडसरको छोरी भएको कारण राम्रो, मिठोमसिनो खाने भइहाल्यो,’ उनले विगतको एक उदाहरण सम्झँदै भने, ‘हामी कोदोको झोल र च्याङ्ख्ला खानेलाई स्कुल जानै लाज हुन्थ्यो। सबै प्रश्नको उत्तर दिन सकिएला, हेड मास्टरको उत्तर दिन सकिन्थेन।’
उनले त्यसताका हेड मास्टरले कक्षामा नपढाउने तर प्रश्न मात्रै सोध्ने गर्दा उनकै छोरीको गौरव बढाउनुबाहेक अरू केही नरहेकोसमेत बताए। ‘यो पुँजीवादी समाजले विभेदलाई संस्थागत गर्यो। यो शृंखलाबद्ध रूपमा अगाडि बढ्यो। यसलाई प्रहार गर्नुपर्छ’ उनले भने।
नेपाली समाज कर्पोरेट संस्कृतिमा केन्द्रित भएको उनी बताउँछन्। ‘अब हामीलाई खोलाको माछा होइन, प्याकिङ गरेको माछा चाहियो। यो च्यालेन्जमा अल्पसंख्यकहरूले सामना गर्नका निम्ति नयाँ जुक्ति र बहस अगाडि बढाउन आवश्यक छ,’ उनले भने।
देशमा परिवर्तन भएको सबैभन्दा ठूलो कारण भनेको ग्लोबल चेन्ज र सांस्कृतिक रूपान्तरण नै रहेको उनको तर्क छ।
‘हामीले झुपडीको व्यथा एकांकी नाटक गाउँको सबैभन्दा धनी, सबैभन्दा राम्रो घर, सबैभन्दा धेरै धान फलाउनेकोमा लगेर देखायौँ। अनि झुपडीको कथा समाधान हुन्छ? जो सँग धन छ, ऊ समाजको प्रतिष्ठित र समाजसेवी भयो। त्यसलाई हाम्रो संस्कृतिले स्वीकार गर्यो,’ उनले भने, ‘त्यतिबेलैदेखि पुँजीवादी संस्कृतिको विकास भयो।’
उनले नेपालमा कम्युनिस्ट पार्टी सामन्तविरुद्ध गीत गाउने तर त्यही सामन्तको घरमा गएर देउसी खेल्ने प्रथाबाट माथि उठ्न नसकेकोसमेत उल्लेख गरे। ‘हामीले समाजमा धनी वर्ग छानेर, धेर पैसा दिने घर छानेर देउसी खेल्यौँ। त्यो पुँजीवादीको विषयमा अझै गीत गाउने चलन छ। यो विरोधाभासबाट उठ्न आवश्यक छ,’ राई भन्छन् ‘खासमा भन्ने हो भने कुनै पेसामा कोही एक तह माथि हुनेबित्तिकै तलबसुविधा बढी भइहाल्नुपर्ने? हामीले हड्डी खायौँ भने माथिल्लो तहले मासु नै खानुपर्ने?’
समाजमा अल्पसंख्यक मानिसहरू र पुँजीवादी मानिसबीच समानता हुनुपर्नेमा उनले जोड दिए। कलालय इटहरीका अध्यक्षसमेत रहेका नाट्यकर्मी सोनु जयन्तीले जीवनमा थाहा हुनु र हुनुबीचको अन्तर छुट्याउनुपर्ने सुनाए। यो विभेदलाई छुट्याएर त्यसलाई चिर्नुपर्ने उनले बताए।
‘संस्कृतिको कुरा गर्दा भूगोलको कुरा आउँदोरहेछ। मानिस कोही मान्छे गोरा छन्, कोही काला छन्। हरेक ठाउँको संस्कार र संस्कृति फरक हुनुको कारण भनेको भूगोल नै हो,’ उनी भन्छन्, ‘भूगोल र वरिपरिको वातावरणले निर्माण गर्ने चीज र जीवनशैलीका रूपमा जे उतारिन्छ त्यो नै संस्कृति हो।’
भूगोल फरक हुनेबित्तिकै बजारीकरण र काम गर्ने तरिका नै अलग हुने उनको तर्क छ। सांस्कृतिक रूपान्तरण भनेको रूपलाई अन्तर पार्ने प्रक्रिया रहेको उनले सुनाए। जे भइरहेको थियो, त्यो होइन, त्यसलाई राम्रो कसरी गर्ने भन्ने बोध हुनु नै सांस्कृतिक रूपान्तरण रहेको उनको भनाइ छ।
‘हामी घाम उदाउनेबित्तिकै पूर्वतिर फर्किएर घामलाई ढोग्छौँ। तर साउदी अरबमा जाने हो भने घाम अस्ताएपछि ढोगिन्छ। अर्थात्, जब चन्द्रमा टल्कन्छ अनि पुजिन्छ। घाम र चन्द्रमालाई पुज्ने उदाहरण दिनुको कारण भनेको भूगोलको कुरा हो। त्यसैले हरेकको संस्कार, संस्कृति सम्मानित हुनुपर्छ,’ उनले भने। विश्वमा निर्माण भएका संगीत र बाजाहरू पछाडि पनि भूगोल रहेको उनको भनाइ छ।
आवश्यकताले फरक चिजको आविष्कार गर्ने उनले सुनाए। ‘आवश्यकताले आविष्कार गर्ने र हामीले त्यसलाई प्रयोग गरिरहेका छौँ। सँगै चेतनाको विकास पनि भइरहेको हुन्छ,’ जयन्ती भन्छन्, ‘एउटा हात्तीलाई जन्मेदेखि यसरी बाँधिन्छ कि, पछि उसलाई परालको त्यान्द्रदोले बाँधिदिनुहोस् त्यो हिँड्दैन। किनभने हामीभित्र एउटा लक छ, त्यो लक भत्कन आवश्यक छ।’
मानिसभित्र मानिसले नै एउटा डर छाडेको र त्यसलाई तोड्न आवश्यक रहेको उनी बताउँछन्। ‘हामीले बच्चालाई राति बाहिर हिँड्न हुँदैन, भूत लाग्छ भन्यौँ। किनभने सानैदेखि हामीले त्यो लक बनाइदियौँ। त्यति मात्रै भत्कियो भने सांस्कृतिक रूपान्तरण सम्भव छ,’ उनले भने।
आयोजक संस्था पेसागत महासंघ सुनसरीका अध्यक्ष राजनकुमार ढकालले सांस्कृतिक चेतना शैक्षिक चेतनाभन्दा शक्तिशाली हुने बताए। सांस्कृतिक चेतनाले व्यक्तिगत चेतना निर्धारण गर्ने उनको भनाइ छ।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 