जनकपुरधाम- दीपावलीको पहिलो दिन धनतेरसमा अन्य वर्षहरूको तुलनामा यसपालि राम्रो चहलपहल र व्यापार भएको जनकपुरधामका व्यवसायीले बताएका छन्।
अघिल्ला वर्षको तुलनामा यसपालि सुनचाँदीका गरगहनाका साथै भाँडाकुँडाको राम्रो व्यवसाय भएको व्यापारीहरूले बताएका हुन्।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले गत वर्षको तुलनामा यसपालि धनतेरसका दिन उत्साहजनक व्यवसाय भएको बताए।
धनतेरसका दिन विशेषतः सुनचाँदीका गहना र भाँडाकुँडाको राम्रो व्यवसाय भएको उनको भनाइ छ।
‘विगतका वर्षहरूको तुलनामा यसपालि जनकपुर बजारमा ठिकठाक व्यापार भएको छ,’ उनले भने, ‘बजारमा भीडभाड राम्रै देखियो। गरगहना र भाँडाकुँडा तुलनात्मक रूपमा यसपालि राम्रो बिक्री भएको छ।’
धनतेरसमा कतिपयले ३० देखि ३५ लाखसम्मको गरगहना खरिद गरेको आफूले जानकारी पाएको साहले बताए। सुन महँगो भएका कारण व्यापार नहुने अनुमान गरिए पनि यसपालि ठिक उल्टो देखिएको उनको भनाइ छ।
‘सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ। बढ्दो मूल्यका कारण सन्तोषजनक व्यापार नहुने अनुमान हामीले गरेका थियौँ,’ साह भन्छन्, ‘तर एक्लै एक जनाले ३० देखि ३५ लाखसम्मको सुनको गहना खरिद गरेको थाहा पाएका छौँ।’
पुँँजी भएका सुनचाँदी व्यवसायीले औसतमा ५ देखि ६ करोडसम्मको व्यापार गरेको उनको अनुमान छ। त्यस्तै भाँडाकुँडाको पनि करोडौँमा व्यवसाय भएको उनले बताए।
धनतेरसका दिन जनकपुरधामको बजारमा राम्रै भीडभाड देखिए पनि गाँउगाउँमा पसल खुलिसकेकाले केही वर्षअघिको तुलनामा व्यवसाय प्रभावित भएको यहाँका व्यवसायीहरू बताउँछन्।
‘१०/१५ वर्षअघि छिमेकका गाउँका मानिसहरू धनतेरसमा किनमेलका लागि जनकपुर आउने गर्दथे,’ सुनचाँदी व्यवसायी रवि साह भन्छन्,‘अहिले अवस्था फेरिएको छ, गाउँगाउँमा पसल खुलिसकेका छन्। उनीहरू उतै किनमेल गर्छन्।’
छिमेकी पालिकामा सबैखाले पसल खुलिसकेपछि जनकपुरमा तुलनात्मक रूपमा व्यवसाय पातलिएको उनको भनाइ छ। धनतेरसमा गरगहना र भाँडाकुँडाको व्यवसाय भए पनि किराना र लत्ताकपडाका व्यवसायीहरू खासै उत्साहित देखिएका छैनन्। छिटपुट किराना तथा लत्ताकपडा यहाँ खरिद गरे पनि ठूलो परिमाणमा समान ल्याउनुपरे अधिकांश उपभोक्ता सीमापारि जाने गरेका छन्।
जनकपुरको भन्दा सस्तोमा किराना समान र लत्ताकपडा पाउने भएकाले धेरै परिमाणमा खरिद गर्नेहरूको रोजाइ सीमापारिको बजार पर्ने गरेको छ। पूर्ववरिष्ठ उपाध्यक्ष साह धनतेरसका दिन बजारमा केही उत्साह देखिए पनि दैनिक उपभोगका लागि चाहिने घरायसी समान र लत्ताकपडाका लागि उपभोक्ता सीमापारि जाने गरेको बताउँछन्।
दीपावलीदेखि छठसम्म जनकपुर बजारमा केही चहलपहल हुने गरे पनि त्यसपछि फेरि ह्रास आउने निश्चित रहेको उनको भनाइ छ। साह भन्छन्, ‘पर्वतिहारका बेला केही चहलपहल देखिन्छ। तर अरू बेला उपभोक्ताहरू किनमेलका लागि सीमापारिको बजार नै जाने हो।’
जनकपुरधामबाट भारतीय बजार पुग्न मुस्किलले आधा घण्टाको समय लाग्ने गरेको छ। चिनी, तेललगायतका घरायसी सामानहरू सस्तो पाइने भएकाले यहाँका अधिकांश उपभोक्ता भारतीय बजारबाटै ल्याउने गरेका छन्।
‘यहाँ र भारतीय बजारको मूल्यमा धेरैको अन्तर छ,’ साह भन्छन्, ‘बढी मूल्य तिरेर यहाँ खरिद गर्नुभन्दा आधा एक घण्टा हिँडेर उतैबाट सामान ल्याउने बढी देखिन्छन्। मूल्यको अन्तरका कारण यहाँका व्यवसायी धेरै क्षति बेहोर्नुपरेको छ।’
भन्सार शुल्क, करलगायतका विषयमा सरकारले समयमै ध्यान नपुर्याए भारतीय बजारको वर्चस्व हुन धेरै समय नलाग्ने उनको ठम्याइ छ।
प्रदेशको राजधानी भइसकेपछि जनकपुरमा व्यापार व्यवसाय उकालो लाग्ने अनुमान गरिए पनि त्योअनुरूप हुन नसकेको व्यवसायीहरू बताउँछन्। जनकपुरमा चाँडै बजार बन्द भए पनि सीमापारि अबेर रातिसम्म किनमेल हुने गरेको छ।
‘प्रदेशको राजधानी भए पनि यहाँ साँझ चाँडै बजार बन्द हुन्छ, किनमेल नै कोही हुँदैनन्,’ जनकपुरको विश्वकर्मा चोकका व्यवसायी रामबहादुर साह भन्छन्, ‘उता पारी अबेर रातिसम्म बजार खुलिरहन्छ। किनमेल गर्नेको राम्रै भीडभाड हुन्छ।’
घरायसी प्रयोगका लागि ल्याउने सामान नाकामा पनि कुनै अवरोध गर्ने गरिएको छैन। नाकामा खटिएका सुरक्षाकर्मीहरूले सामान्य सोधपुछ गरे पनि घरायसी प्रयोगका लागि भनेपछि छाड्ने गरेका छैनन्।
विवाह, श्राद्धलगायतका कामका लागि पनि जनकपुर र आसपासका सर्वसधारण भारतीय बजारबाटै लत्ताकपडा र किरानाका सामान ल्याउने गरेका छन्। धेरै परिमाणमा सामान ल्याउँदा वडा कार्यालयले सिफारिस गर्ने गरेको छ। वडा कार्यालयको सिफारिसपत्र हुँदा धेरै भारतीय बजारबाट सामान ल्याउँदा कठिनाइ हुने गरेको छैन।
भारतीय बजारबाट सामान ल्याउँदा उपभोक्तालाई आर्थिक हिसाबले फाइदा हुने गरे पनि नेपालका व्यवसायीको कारोबारमा कमी आउँदा क्षति बेहोर्नुपरेको छ।
भन्सार, करलगायतमा सरकारले सहुलियत दिएर मूल्यको अन्तरलाई कम गर्न सकिए नेपालका बजारहरू पनि सधैँ गुलजार भइरहने व्यवसायीहरूको भनाइ छ।