खेती-किसानी

४० करोडको फूल व्यापार

रमेश भारती १४ कार्तिक २०८१ १२:३८
12
SHARES
४० करोडको फूल व्यापार मुगु जिल्ला छायानाथ रारा नगरपालिका ५ कार्कीवाडा गाउँका बालचन्द्र कार्कीले व्यावसायिक रूपमा गरेको फूल खेतीमा ढकमक्क फुलेका सयपत्री फूल। तस्बिर : रासस

काठमाडौँ– यस वर्षको तिहारमा ४० करोड रुपैयाँको फूलको व्यापार हुने अनुमान गरिएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का उपाध्यक्ष रामबहादुर तामाङले तिहारमा ४५ देखि ४७ लाख वटा फूलको माला खपत हुने अनुमान छ। यति फूलको मालाको करिब ४० करोड पर्ने उनले बताए।

‘बजारमा सबैभन्दा बढी सयपत्री फूलको माग हुन्छ। तिहारमा त सयपत्री फूलको माग झन् २० गुणाले बढ्छ। त्यसैले पनि व्यावसायिक फूलखेती गर्नेहरूको व्यस्तता बढेको छ’, तामाङले भने।

तिहारमा करिब १५ लाख माला विदेशबाट आयात हुने उनी बताउँछन्। नेपालमा उत्पादित सयपत्रीले करिब ६६.५० प्रतिशत मात्र माग धान्ने गरेको फ्यानले जनाएको छ। सरकारकै कारण फूलमा नेपाल अझै परनिर्भर हुनुपरेको उनको आरोप छ। सरकारले फूलखेतीका लागि लगानी गरेको छैन। जसका कारण फूल आयात गर्नुपरेको फ्यानका उपाध्यक्ष तामाङले जानकारी दिए।

अहिले पनि ३३.५० प्रतिशत फूल आयात गर्नुपर्ने अवस्था छ। यति फूल स्थानीय सरकारले सहयोग गरे घरगाउँको आँगनमा उत्पादन गर्न सकिने उनको दाबी छ। फ्यानका अनुसार गत वर्षको तिहारमा व्यावसायिक सयपत्री फूलको मालाको खपत करिब ३५ लाख हुँदा करिब ३६ करोडको व्यापार भएको छ।

तिहारमा सयपत्री मालाको औसत मूल्य प्रतिमाला ९०, मखमलीको ४५ र मिक्स मालाको तीन सय औसत मूल्य तोकिएको एसोसिएसनले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष करिब २० प्रतिशतले फूलको व्यापार बढ्ने एसोसिएसनको अनुमान छ।

‘तस्करीबाट ४-५ लाख माला भित्रिन्छ’

भारतसँगको खुला सिमानाका कारण फूल र माला अवैध रुपमा भित्रिने गरेको पुष्प व्यवसायी बताउँछन्। तिहारमा अवैध रूपमा फूलका माला भित्रिँदा नेपाली फूल व्यवसायी मारमा पर्ने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष दिलीप बडेले बताए। भारतसँग सिमाना जोडिएका जिल्लामा अवैध फूलका माला व्यापार हुने गरेको उनको भनाइ छ।

तिहारको समयमा अवैध बाटोमा ४–५ लाख फुलका माला नेपाल भित्रिने गरेको उनले बताए। ‘सम्बधित निकायले चासो नदिँदा आन्तरिक उत्पादनले बजार पाउन सकेको छैन। त्यसमा अवैध रुपमा फूलका माला भित्रिँदा उत्पादक मारमा परेका छन्’, उनले भने।

दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौराका वीरेन्द्र खड्काले व्यावसायिक रुपमा गरेको मखमली फूलखेतीमा फुलेको फूल टिप्दै किसान। तस्बिर : रासस

तिहारमा ४५ लाख सयपत्रीको माला खपत हुने अनुमान गरिए पनि ३५ लाख मात्र स्वदेशी उत्पादनले धान्ने अवस्था छ। गाँउघरमा उत्पादन भएको फूल बजारमा आउने हो भने विदेशी फूल आवश्यक नपर्ने उनले बताए।

सरकारले यस वर्षको तिहारमा अवैध फूलको माला भित्रिने क्रम रोक भान्सार नाकामा खटिएका प्रहरीलाई पत्राचार गरेको छ। सोही कारण विगतमा जस्तो यस बर्ष अवैध रुपमा फूलका माला नभित्रिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए।

मखमली र गोदावरीमा आत्मनिर्भर

मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर छ। यद्यपि यी फूल पनि विदेशबाट आयात भइरहेको छ। मखमली र गोदावरी फूलमा पनि विदेशी उत्पादनको दबदबा हुँदा आन्तरिक उत्पादनले मूल्य पाउन नसकेको फ्यानका अध्यक्ष बडेको आरोप छ। काठमाडौँको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी र बडिखेल, कैलाली, पाल्पा, धादिङ, इलामलगायतका ठाउँमा मखमली फूलको व्यावसायिक खेती भइरहेको छ। यी क्षेत्रमा उत्पादन भएको फूले निर्यात गर्नुपर्ने अवस्था भए पनि सरकारले चासो नदिँदा बारीमा कुहिने गरेको फ्यानका अध्यक्ष बडे बताउँछन्।

सातै प्रदेशका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा सयपत्री फूलको खेती भइरहेको छ। यो फूल कति उत्पादन हुन्छ भन्ने तथ्यांक सरकार र व्यवसायीसँग छैन। तर सयपत्री फूलमा नेपाल अहिले पनि परनिर्भर हुनुपरेको उनले उनले बताए।

‘सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले धान्ने गरेको छ। तर सरकारले बेवास्ता गर्दा विदेशी सयपत्री फूलको दबदबा छ’, उनले भने।

बाढीका कारण १४ करोडको फूल क्षति

यस वर्ष फूल खेतीमा बाढीपहिरोका कारण पुष्प व्यवसायले करोडौँको क्षति व्यहोर्नु परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिए। जसका कारण विदेशी फूल अलिक बढी आयात गर्नुपरेको पुष्प व्यवसायीले बताएका छन्।

‘गत वर्ष आन्तरिक उत्पादन प्रशस्त थियो। थोरै मात्र आयात गरे पुग्ने अवस्था थियो। तर यस वर्ष बाढीपहिरोले फूलखेतीमा क्षति बढी पु¥याएका कारण बढी आयात गर्नुपरेको छ’, केसीले भने।

गत असोज ११ र १२ गते परेको वर्षाका कारण सबैभन्दा बढी सयपत्री फूलामा क्षति पुगेको कृषि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५२ भन्दा बढी जिल्लामा व्यावसायिक पुष्पखेती भइरहेको छ। करिब २६० हेक्टर क्षेत्रफलमा भइरहेको पुष्प व्यवसायमा ११ सयभन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको मन्त्रालयले जनाएको छ।

उपत्कासहित काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, धादिङ, चितवन, झापा, इलाम, धनकुटा, पाँचथर, कास्की, स्याङ्जा, बाँके, पाल्पा, रामेछाप, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिरहा, रुपन्देही, तनहु, दाङ र कैलालीमा सबैभन्दा बढी फूल उत्पादन हुने गरेको एसोसिएसनले जनाएको छ।

नेपालमा नौ अर्बभन्दा बढी पुष्प व्यवसाय भइरहेको र यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० हजारभन्दा बढी रोजगारी पाइरहेको एसोसिएसनले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =