काठमाडौँ- बुधबार हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकले पानीका बोतल, हेल्मेट, सिक्कालगायतका बस्तु साथमा लिन नपाउने भएका छन्।
बुधबार साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथरगंशालामा हुँदै छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक सूचना जारी गर्दै खेल हेर्न जाने दर्शकलाई प्रतिबन्धित सामग्रीहरू नलिएर आउन आग्रह गरेकाे हाे।
यसअघि आइतबार नेपाल र भारतबीच भएकाे सेमिफाइनल खेलमा दर्शकले मैदानमा पानीका बाेत्तल फाल्दा खेल केहीबेर राेकिएकाे थियाे। उक्त घटनापछि एन्फाले केही सामाग्री लैजान रोक लगाएको हो। खेल हेर्न आउने दर्शकलाई सुरक्षित र शान्तिपूर्ण वातावरण मिलाइएकाे एन्फाले जनाएकाे छ।
एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरूमा बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार, चुरोट, लाइटर, सलाइ मदिरा र अन्य नशालु पदार्थहरू रहेका छन्।
यस्तै, झाेलाहरू पनि लान मिल्ने छैन तर साना झाेलाहरू भने जाँचपछि लान मिल्ने छ। हेल्मेट, यस्तै सुरक्षा सामग्रीहरू, अनुमति बिना ब्यानर, झण्डा, पोस्टर लग्न पाइने छैन।
पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन , सामग्रीहरू, खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू, लिबिस्टिक ,नेल कटर, कैँची, काइयोमा पनि प्रतिबन्धित लगाइएकाे छ।
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ। खेलका लागि टीम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन्।
खेलअघि मंगलबार रंगशालामा आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टीम बंगलादेशलाई पराजित गर्दै उपाधी जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए। यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने उनको भनाइ छ। उनले महिला फूटबलमा दर्शकको समर्थनले थप हौसला मिलेको धारणा राखे।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधी जित्नेमा विश्वस्त रहेको बताए। नेपालले मौलिक खेल देखाउने र खेल आफ्नो पक्षमा पार्ने उनको भनाइ छ। उहाले साफमा उपाधि जित्ने अवसर भएकाले मौका खेर नफाल्ने पनि बताए।
त्यस्तै बंगलादेशका कप्तान तथा प्रशिक्षकले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताएका छन्। सेमिफाइनलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेको थियो।