सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला राख्ने व्यक्ति को हुन्? के एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा शिखरमा पुग्ने पहिला व्यक्ति थिएनन्? नेसनल जियोग्राफिकको एउटा टोलीले सगरमाथाका सम्बन्धमा एउटा नयाँ तथ्य पत्ता लगाएको दाबी गरेको छ, जसले एक शताब्दी पुरानो रहस्य उद्घाटन गर्न सघाउ पुग्ने विश्वास गरिएको छ।
आजभन्दा ठिक एक शताब्दीअघिको कुरा हो। सन् १९२४ को जुनमा सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला राख्ने ब्रिटिस महत्त्वाकांक्षाको बोझ एउटा आरोहण दलले लिएको थियो। यो टिमको उद्देश्य समुद्री सतहदेखि २९ हजार ३२ फिट उचाइमा रहेको सगरमाथामा पुग्नु थियो।
अघिल्ला दुई टोलीको असफल प्रयासपछि सगरमाथा चुम्ने अभियानमा तेस्रो टोली सक्रिय भयो। नौजनाको टोलीमा थिए, जर्ज मल्लोरी (टोली नेता), एडवर्ड नोर्टन, नोएल ओडेल, जोन म्याकडोनाल्ड, एडवर्ड ओ सेबेअर, जफ्ररी ब्रुस, टी हावर्ड सोमरवेल, बेन्ट्ली बिथम र एन्ड्रु ‘स्यान्डी’ इरभिन।
सगरमाथा शिखरतर्फको उत्तरी बाटोमा एउटा साँघुरो खोँच छ। अभियान टोलीका दुई सदस्य मल्लोरी र इरभिनले ८ जुन १९२४ को दिउँसो यो खोँच पार गरिसकेका थिए। अनि अचानक मौसम खुल्यो। बादल हटेर पहाडको माथिल्लो भाग स्पष्ट देखिन थाल्यो।
उत्तरपूर्वतर्फ ‘थ्री स्टेप’ को पहिलो खुड्किलो पनि देखिन थालेको थियो। यो स्थान लगभग २८,०९७ फिटको उचाइमा छ। त्यसपछि केही मिनेटमै मौसम अचानक बदलियो र घना बादल देखापर्यो। त्यति बेला टोलीका अर्का सदस्य नोएल ओडेल मल्लोरी र इरभिनभन्दा करिब एक हजार फिट तलै थिए। एउटा घुमाउरो बाटो हुँदै छैटौँ आधारशिविरबाट माथि चढ्ने प्रयास गरिरहेका थिए उनी। त्यहाँ एउटा ठाडो चट्टान थियो, त्यसमाथि चढेका ओडेलले मौसम एक्कासि खुलेको देखे।
अगाडिको बाटो स्पष्ट थियो। उनले पहिलो र दोस्रो स्टेप राम्ररी देखे। त्यसपछि ओडेलले जुन दृश्य देखे, त्यो क्षण उनको जीवनभरका लागि सम्झना मात्रै थिएन, सगरमाथाको इतिहासमा सबैभन्दा ठूलो रहस्य पनि बन्ने थियो। यस क्षणमा आधारित रहेर अनगिन्ती किताब लेखिने र बहस हुनेवाला थियो।
ओडेलले के देखेका थिए?
ओडेल ९६ वर्षको उमेरमा फेब्रुअरी १९८७ मा संसारबाट बिदा भए। उनले जीवनभर आफ्नो दिमागमा ८ जुन १९२४ मा खिचिएका सगरमाथा ती तस्बिर स्मरण गरिरहे। उनले त्यति बेला २८,२५० फिटको उचाइमा ‘सेकेन्ड स्टेप’ को माथि दुई गतिशील आकृति देखेका थिए। ओडेललाई यसमा रत्तीभर पनि शंका थिएन, उनले ती दुई पर्वतारोहीलाई सो उचाइमा अगाडि बढ्दै गरेको देखेका थिए! ओडेलका शब्दमा ती दुवै फुर्तीसाथ अघि बढ्दै थिए।
यस्तो थियो भने ती दुई पर्वतारोही मल्लोरी र इरभिनबाहेक अरू कोही हुन सक्दैनथे। ती दुईजना टोलीका अन्य सदस्यभन्दा पहिल्यै अघि बढेका थिए। ओडेलले देखेको यस झलकको लगभग पाँच मिनेटपछि फेरि बादलले ढाक्यो। अनि त्यस दिन ओडेलले सगरमाथाको दृश्य देखेनन्।
जब उनले देखे, त्यहाँ मल्लोरी र इरभिनको कुनै नामोनिसान थिएन! मल्लोरी र इरभिन फेरि कहिल्यै कसैले देख्दा पनि देखेनन्। उनीहरू सगरमाथा यात्रीका त्यो क्लबको हिस्सा बने, जसको जीवन हिउँमै समाप्त भएको थियो।
आशा जीवितै राख्ने त्यो क्यामेरा
मल्लोरी र इरभिनको मृत्यु त भयो, तर कहिल्यै र कुन चरणमा? के उनीहरूले कहिल्यै सगरमाथा चढ्न सके? ओडेलले उनीहरूलाई ‘सेकेन्ड स्टेप’ मा देखेका थिए भने सगरमाथाको शिखर उनीहरूबाट धेरै टाढा थिएन।
के २९ मे १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथामा पाइला टेक्नुभन्दा तीन दशकअघि मल्लोरी र इरभिन वा केवल मल्लोरी वा केवल इरभिनले सगरमाथाको शिखरमा पाइला राखेका थिए? के ती दुई वा तिनीहरूमध्ये एकजना फर्कँदा खसेर मरे? तर तिनीहरूको जुत्ता त आधुनिक पर्वतारोहीहरूका जस्तै थिएनन्। त्यसो हो भने उनीहरूले हिमालयको त्यो कठिन उचाइमा ती जुत्ताहरूको साथ चढ्न सक्थे?
विगत एक शताब्दीदेखि यो सन्दर्भ पर्वतारोहण समुदायबीच बढी चर्चा हुने बहसमध्ये एक बनेको छ। यो रहस्य समाधान गर्ने कुनै तरिका छैन भन्ने प्रश्न धेरै अघिदेखि उठ्दै आएको छ। कतिपय भने त्यो रहस्य बाहिर आउनेमा आशावादी छन्। उनीहरूको आशा एउटा क्यामेरामा छ। त्यो हो कोडाक वेस्ट पाकेट क्यामेरा।
उक्त क्यामेरा आरोही टोलीका एक सदस्य सोमरवेलले आरोहणका क्रममा मल्लोरीलाई दिएका थिए। मल्लोरी शिखरमा पुगेका थिए भने निश्चित रूपमा उनले क्यामेरामा तस्बिर खिचेका हुने थिए र क्यामेरा ज्याकेटको झोलामा राखेका हुने थिए।
यसको त्यो फिल्म (रिल), जो सायद अझै पनि सुरक्षित हुन सक्छ। हुन त कोडाक कम्पनीले यसअघि नै भनिसकेको छ, दशकोँसम्म हिउँमा जमिरहिरहँदा पनि तस्बिर रिकभर गर्ने प्रयास गरिनेछ। सायद सफलता मिल्न पनि सक्छ।
शव भेटियो, क्यामेरा भेटिएन
मल्लोरी र इरभिनका शव तथा कोडाक क्यामेराको खोजीमा दशकौँदेखि प्रयास हुँदै आएको छ। सन् १९३३ मा सगरमाथा आरोहणमा गएका अभियान टोलीले एउटा सानो सफलताका रूपमा इरभिनले बोकेको एउटा आइस एक्स फेला पारेको थियो।
त्यसपछि लामो समय केही भेटिएन। दशकौँको मेहनतपछि सन् १९९९ मा एउटा आरोही टोलीले २७,००० फिट उचाइमा मल्लोरीको शव फेला पारेको थियो। शवको टाउको जमिनतर्फ थियो। एउटा खुट्टा र सायद एउटा हात भाँचिएको थियो। जसले संकेत गर्दछ कि उनी हिउँमा लडेर मरेका थिए। मल्लोरीको शवमा केही भएको थिएन। उनको झोलामा राखिएको चिठी सुरक्षित भेटिएको थियो।
धेरै कुरा भेटियो, तर त्यो कोडाक क्यामेराको कुनै संकेत भेटिएन। खोजीमा संलग्नहरू क्यामेरा इरभिनसँग रहेको हुन सक्नेमा आशावादी देखिए। त्यसपछि इरभिनको शव खोज्न सगरमाथा क्षेत्रमा धेरै मानिस गए। धेरैपटक विशेष अभियान पनि सञ्चालन गरिए।
ठिक एक शताब्दीपछि इरभिनको अवशेष भेटिएको छ। नेसनल जियोग्राफिकको अनुसन्धानअनुसार तिनीहरूको एउटा टोलीले उत्तरी मोहडाको तलतिर एउटा शवको अवशेष भेट्टाएको हो। अनुसन्धानकर्ताहरूले त्यो शव इरभिनकै हो भनेर दाबी गरेका छन्।
हिउँको धसिएको अवस्थामा एउटा जुत्ता र खुट्टासँगै एउटा मोजा पनि भेटिएको छ, जसमा एम्ब्राइड गरी लेखिएको छ एसी इरभिन। नेसनल जियोग्राफिकको टोलीले सेप्टेम्बरमा यो खोज गरेको हो। अध्ययन प्रतिवेदनमा टोलीका सदस्य जिमी चिनले यस बहुप्रतीक्षित खोजको क्षणलाई यसरी व्यक्त गरेका छन्, ‘मैले मोजा उठाएँ र त्यहाँ सिलाइएको थियो एसी इरभिन।’
नेसनल जियोग्राफिकको टोलीले यो ऐतिहासिक खोजले १९२४ को जुन महिनामा सगरमाथामा के भयो भन्ने थाहा पाउन मद्दत गर्ने विश्वास लिएको छ। खोजी टोली क्यामेरा वरपरको कुनै ठाउँमा सुरक्षित रहेकोमा आशावादी देखिएको छ।
विगतमा हिमाली क्षेत्रमा खोजी कार्य निकै जटिल थियो। अहिले खोजी दायरा निकै सानो भएको छ। जिमी चीनको टीलीले इरभिनको अवशेष भेटिएका स्थानको बारेमा विस्तृत जानकारी दिएको छैन।
स्वाति मिश्राले डीडब्ल्यूमा लेखेको यो सामग्री अनुवाद गरिएको हो।