काठमाडौँ- कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसंग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले कृषि वैज्ञानिक र प्राविधिकलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे।
‘कृषि वैज्ञानिक र प्राविधिकहरू कृषि कर्म गर्नेहरूका अभिभावक हो, त्यसैले उहाँहरूसँग निरन्तर साक्षात्कार गर्नुस्,’ मन्त्री अधिकारीले भने, ‘कृषि सुधार्न तपाईंहरुको अहम् भूमिका छ।’ मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न पर्यत्न भइरहेको बताए। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।
नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए।नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिंग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उनको टिप्पणी छ।