विश्वविद्यालय शान्ति र परिवर्तनका लागि परिणाममूलक उपकरण हो : निधि

हिमाल प्रेस १२ कार्तिक २०८१ १६:१९
104
SHARES
विश्वविद्यालय शान्ति र परिवर्तनका लागि परिणाममूलक उपकरण हो : निधि का‌ग्रेस नेता विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विश्वविद्यालय लोकतन्त्र, शान्ति, परिवर्तन र क्रान्तिका लागि अत्यन्त परिणाममूलक तथा वैध उपकरण रहेको बताएका छन्।

सोमबार जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयको सातौँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ठूला हतियारले गर्न नसक्ने परिवर्तन विश्विद्यालयहरूले गरेको प्रश्स्तै उदाहरणहरू रहेको उनले बताए।

‘विश्वविद्यालय सानोतिनो कुरा होइन, हतियार, दुईवटा बन्दुक, दुईवटा ग्रेनेड, हतियारले जति परिवर्तन गर्न सक्दैन, क्रान्ति गर्न सक्दैन त्योभन्दा बढी विश्वविद्यालय लोकतन्त्र, शान्ति र क्रान्तिका लागि अत्यन्त परिणाममूलक र वैध उपकरण हो,’ निधिले भने।

वर्तमान सन्दर्भमा रोजगारमूलक शिक्षा दिने कि ज्ञानमूलक शिक्षा दिने बहसको विषय हुनसक्ने बताउँदै उनले मिथिला कला र संस्कृतिका सम्बन्धमा अध्यापन गराउन विश्वविद्यालय व्यवस्थापनलाई आग्रह गरे।

‘रामायणमा रामको चर्चा भएको पाइन्छ, सीता जनकपुरकी हुन् उनको त्यति धेरै चर्चा भएको पाइँदैन,’ उनले भने,‘जनकपुरधाम र सीताका विषयमा अनुसन्धानमूलक काम विश्वविद्यालयले गरोस् भन्ने मेरो आग्रह छ।’

विश्वविद्यालयको भवन निर्माणका लागि जग्गा सुरक्षित गर्न खोज्दा जनकपुरमा आफ्नो पुतला जलेको निधिले स्मरण गरे।

‘विश्वविद्यालय कहाँ बनाउने बहस चलेको थियो, मैले फुलगामाको मनिहारीमा बनाउनुपर्छ अडान लिएँ,’ उनले भने,‘विश्वविद्यालयका लागि मनिहारीमा जग्गा सुरक्षित गर्न खोज्दा मेरो पुतला जलेको मलाई अझै स्मरण छ। विश्वविद्यालय त्यही ठाउँमा बन्ने भएपछि खुशी लागेको छ।’

नगराईन नगरपालिकाको फुलगामास्थित मनिहारीमा १० बिघा जग्गा गुठी संस्थानबाट लिजमा लिएर राजर्षिजनक विश्वविद्यालयको भवन बनाउने तयारी सुरू भएको छ।

नेता निधिले गुठी संस्थानसँग सम्झौता भइसकेको मनिहारीको जग्गामा चाँडै विश्वविद्यालय भवनको शिलान्यास गर्न व्यवस्थापनसँग आग्रह गरे।उनले भने,‘छिटोभन्दा छिटो विश्वविद्यालयको भवन शिलान्यास गर्न आग्रह गर्दछु। पैसाको अभाव हुँदैन, त्यस्तै परे सरकारलाई घचघचाउन म तयार छु।’

निधिले विश्वविद्यालयले प्राविधिक विषयका साथै मिथिला कला संस्कृतिबारे समेत अध्यापन गराउनुपर्नेमा जोड दिए।

जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको परिकल्पना धेरैअघि गरिए पनि निधिको पहलमा २०७४ सालमा सरकारले मान्यता दिएको थियो। विश्वविद्यालय स्थापनका लागि मान्यता पाए पनि जग्गाका लागि विवाद चलेको थियो।

एसियाली विकास बैंकको अनुदानमा जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत उपमहानगरपालिकाले फुलगामाको मनिहारीमा ल्यान्डफिल साइट बनाउने तयारी गरेपछि निधिले त्यसको विरोध गरेका थिए।

मनिहारीको जग्गा राजर्षि जनक विश्वविद्यालयको लागि सुरक्षित गरिएको भन्दै त्यहाँ ल्यान्डफिल साइट बनाउन नहुने अडान उनले लिएका थिए। निधिले यस्तो अडान लिएपछि कांग्रेसका साथै अन्य पार्टीका स्थानीय नेताहरू विरोधमा उत्रिएर प्रदर्शन गर्नुका साथै पुतला जलाएका थिए। अन्ततः सुरक्षित गरिएको स्थान मनिहारीमै विश्वविद्यालयको भवन निर्माण हुने भएको छ।

सात वर्षअघि स्थापना भएको विश्वविद्यालयबाट मधेश प्रदेशका ६० वटा निजी क्याम्पसहरूले सम्बधन लिएको व्यवस्थापनले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =