बेरोजगारी समस्या भोगिरहेको स्पेनसँग श्रम सम्झौता गर्दै सरकार

रमेश भारती १२ कार्तिक २०८१ १३:४४
16
SHARES
बेरोजगारी समस्या भोगिरहेको स्पेनसँग श्रम सम्झौता गर्दै सरकार

काठमाडौँ- सरकारले स्पेनसँग श्रम सम्झौता गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली मुलुक रोमानिया र जर्मनीपछि स्पेनसँगको द्विपक्षीय श्रम सम्झौता गर्न लागेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीको डिसेम्बर १८ गतेदेखि हुने स्पेन भमणका क्रममा श्रम सम्झौता गर्ने तयारी भइरहेको हो।

मन्त्री भण्डारीले युरोपका देश संस्थागत कामदार पठाउने योजनाअनुसार स्पेनसँग श्रम सम्झौता गर्न लागिएको जानकारी दिए। उनका अनुसार स्पेनसँग श्रम सम्झौता हुँदै छ। श्रम सम्झौता भएपछि स्पेनसँग कूटनीतिक सम्बन्ध र विकासजस्ता क्षेत्रमा सहकार्य हुने उनले बताए। ‘स्पेनसँग श्रम सम्झौता गरेपछि संस्थागत रूपमा कामदार पठाउने प्रक्रिया सुरु हुन्छ। स्पेन पनि नेपाली कामदारका लागि रोजगार गन्तव्य देश बन्छ। स्पेनले नेपालसँग श्रम सम्झौता गर्न विषेश चासो राखेको छ’, उनले भने।

सरकारले युरोपका देशसँग पनि संस्थागत रूपमा कामदार पठाउन श्रम सम्झौतामा जोड दिएको उनी बताउँछन्। स्पेन नेपाली कामदारको रोजाइमा खासै पर्देन। गत आर्थिक वर्षमा स्पेनमा ९७ जना गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। विभागको तथ्यांकअनुसार संस्थागत रूपमा नेपाली कामदार स्पेन गएका छैनन्।

स्पेन व्यक्तिगत भिसामा पनि थोरै मात्र नेपाली कामदार जाने गरेका छन्।

सन् २०१७ यता स्पेनमा उच्च बेरोजगारी समस्या देखिएको छ। पछिल्लो समय आर्थिक मन्दीबाट बाहिरिन संघर्षरत स्पेनमा बेरोजगारी अझै पनि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको स्पेनको गैरसरकारी संस्था सेन्टर फर सोसोलोजिकल इन्भेस्टिगेसन (सीआईएस) को जनमत प्रतिवेदनमा उल्लेख छ।

सीआईएसका प्रतिवेदनमा स्पेनको समग्र बेरोजगारीको संख्या ३५ लाख पुगेको छ। कोरोना महामारीपछि स्पेनमा बेरोजगारी समस्या जटिल बन्दै गएको समेत सीआईएसको २०२३ को प्रतिवेदनमा बताइएको छ। स्पेनका नागरिक देशभित्र रोजगारी नपाएपछि पछिल्लो समय युरोपका देश र मध्यपूर्वका देश रोजगारीका लागि जाने गरेका छन्।

कोरोना महामारीका समयमा विश्वभर २ करोड ५० लाख मानिसले आफ्नो रोजगारी गुमाउँदा सबैभन्दा बढी स्पेनी नागरिक परेको संयुक्त राष्ट्रसंघको अध्ययनमा उल्लेख छ।  अध्ययनअनुसार कोरोना महामारीमा देखिएको बेरोजगारी समस्या स्पेनमा अझै समाधान भएको  छैन।

प्रकाशित: १२ कार्तिक २०८१ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =