काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको लागि मस्यौदा भइरहेको बताएका छन्। आफ्नो कार्यकालको सय दिनको उपलब्धि सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले ऐन संशोधनका लागि मस्यौदा तयार भएको बताएका हुन्।
आफ्नो कार्यकालमा मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलालाई स्वदेश फिर्ता गरी पारिवारिक पुनर्मिलन तथा पुन:स्थापना गरिएको समेत उनले बताए। त्यस्तै त्यस्तै ४८ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाइ उद्धार गरिएको, सडक बालबालिकामुक्त बनाउने सरकारको निर्णयलाई कार्यान्वयनका लागि उद्धार, पुनर्स्थापना, संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडि बढाइएको, महिला समुत्थान परियोजनामार्फत निर्माण हुने मंगला साहना दीर्घकालिन पुनर्स्थापना गृहको जग्गा विवाद सूर्य विनायक नगरपालिकाको समन्वयमा समाधान गरिएको मन्त्री सुडीले बताए।
उनले महिला समुत्थान परियोजना कार्यान्वयनका लागि नेपाल सरकार र लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेश सरकारबीच साझेदारी सम्झौता सम्पन्न भएको समेत जानकारी दिए। त्यस्तै उनले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन पाँच वटा संघीय मन्त्रालयहरूको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण कार्य सुरु भएको उल्लेख गरे।
त्यस्तै बेवारिसे बालबालिका १४० जना उद्धार गरिएकोमा ९१ जनालाई परिवारिक पूनर्मिलन गरिएको, बाल बिवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१ निर्माणको अन्तिम चरणमा रहेको उनले बताए।