नेपाल विदेशी शक्ति केन्द्रको खेल मैदानमा परिणत हुँदै गएको छ : भट्टराई

हिमाल प्रेस १० कार्तिक २०८१ २१:३३
46
SHARES
नेपाल विदेशी शक्ति केन्द्रको खेल मैदानमा परिणत हुँदै गएको छ : भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेसपा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले पछिल्लो समय नेपाल विदेशी शक्ति केन्द्रको खेल मैदानको रुपमा परिणत हुँदै गएको बताएका छन्। उनले आफ्ना समकालीन नेताहरू आम नागरिकको हितभन्दा पनि विदेशीको इसारामा चल्न थालेकाले यसबाट जोगाउन वैकल्पिक शक्ति आवश्यक भएको बताए। यही ढंगले र यिनै नेताहरू नै सत्तामा रहिरहँदा लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान नै नस्ट हुनसक्ने आशंका उनले व्यक्त गरे।

संविधानलाई संरक्षण गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि युवाले प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन प्रणालीको लविङ गर्नुपर्ने उनको भनाइ छ। मुख्यमन्त्री र राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा भट्टराईले जोड दिएका छन्। यो व्यवस्था लागू भएपछि मन्त्रिमण्डल राष्ट्रपतिको तजविजीमा हुने र संसद्ले सरकारलाई नियन्त्रणमा राख्ने हुँदा क्रसचेक हुने उनको तर्क छ।

आम नागरिकले को गलत र को ठिक भन्ने बुझ्न पनि आवश्यक भइसकेको उनको भनाइ छ। लहडमा नागरिक हिँड्दा मुलुकको अवस्था पनि त्यस्तै हुने उदाहरण अहिले देखिइसकेको भट्टराईले बताए। कात्तिक ५ र ६ गते पोखरामा पार्टीको विधान अधिवेशन सम्पन्न गरेका पूर्वप्रधानमन्त्री डा.भट्टराई आफ्नो पार्टीलाई वैकल्पिक राजनीतिक दलका रूपमा उभ्याउन लागि परेका छन्। त्यही क्रममा उनले मिसन ८४ लाई लिएर नै आफ्नो पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखेका हुन्।

उनले पुरातन पार्टीका नेताहरू बाह्य शक्तिबाट परिचालित हुँदा यहाँ कहिले चरम राष्ट्रवादको कुरा आउने कहिले प्रचण्ड र राजा मिल्ने कुरा पनि उत्तिकै चर्चामा छ।

भट्टराईले शनिबार केही सम्पादकहरूसँगको अनौपचारिक छलफलमा भने, ‘नेपालको संविधान साँच्चै राम्रो छ। यसमा केही सुधार आवश्यक छ। तर पनि यसलाई मास्न विदेशी केही शक्ति पूर्ण रुपमा लगेका छन्। लामो संघर्षबाट आएको यो संविधान मास्ने होइन यसमा केही परिमार्जित गर्ने हो। परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक छ। विदेशीलाई नेपालमा हावी हुन दिनु हुँदैन।’

तर दलका नेताहरू विदेशी इसारामा चल्दा समस्या भइसकेको उनले बताए। उनले नेपालमा केही नेताहरू सिधै दूतावासबाट परिचलित हुने गरेको पनि बताए। प्रधानमन्त्री छिमेक भ्रमणमा जाँदासमेत नेपाल र भारतबीच जोडिएका सम्बन्धको सबै पाटो केलाइएको नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे समेत कुरा गर्न नसक्ने भन्दै उनले भने, ‘के हामी भुटानी मोडल हुँदै सिक्किमीकरणमा जाने त? यसमा ध्यान दिनुपर्छ। यहाँ केही उथलपुथल गर्छु भन्ने विदेशीहरू पनि छन्। त्यसमा निकै सचेत भएर अघि बढ्न आवश्यक छ। हामी कूटनीतिक संवेदनशील स्थानमा रहेको कुरा ध्यानमा राखेर मात्र बोल्न जरुरी छ।’

उनले संघीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र सम्वर्द्धन गर्दै लैजानपर्ने आजको आवश्यकतालाई कसैले नकार्न नसक्ने जिकिर गरे। तर विदेशीले नै पात्र खडा गरेर यहाँ खेलिरहँदा सबै चुप भएर बस्न नमिल्ने भन्दै उनले भने, ‘मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यो समयको दुःख, कष्ट देखेका राजनीतिक नेतृत्वले जनताका एजेन्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय त भयो तर उक्त दल पनि पुरानो दलकै हैसियतमा देखिँदा आश्चर्यमा परियो।’

लोकतन्त्रका लागि योगदान पुर्‍याएका पुराना शक्तिलाई सुधार्ने तथा नयाँ शक्तिलाई व्यवस्थित बनाएर सहमतिको आधारमा नेपालमा लेफ्ट नभई सेन्ट्रल लेफ्टको आवधारणामा अघि बढ्न आवश्यक रहेको उनले बताए। यो भनेको कांग्रेससँग सहकार्य गर्ने हो त भन्ने जिज्ञासामा उनले भने, ‘हामी पहिला पनि बलियो थियौँ र यति जमिन बच्यो। जुन हाम्रा पुर्खाले गरेकै हो। तर पछिल्लो समयमा लोकतन्त्रवादी भन्नेहरूले नै छियाछिाया बनाइदिए।’

पुराना दल र नयाँ युवाबीच आम सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै संयोजक भट्टराईले लोकतान्त्रिक गणतन्त्रभित्रै नयाँ शक्ति निर्माण गर्न आवश्यक रहेको बताए। ‘वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन। संघीयतालाई पनि परिस्कृत गर्दै लैजानुपर्छ,’उनले भने।

विधान अधिवेशन सम्पन्न गरेको नेसपाले आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा राष्ट्रिय अधिवेशन गर्दैछ। पार्टीका सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनुपर्नेमा जोड दिएका भट्टराईले पालिकाबाट ४० प्रतिशत, प्रदेशबाट ३० र केन्द्रबाट २० प्रतिशत प्रतिनिधित्व हुने संरचना बनाएका छन्। पदाधिकारीसहित सबै समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहने पनि नेसपाको विधानमा उल्लेख छ।

उनी आफू पार्टीमा अभिभावक हुने र युवालाई अघि बढाउने पनि बताए। ‘नयाँ शक्ति भनेको वैकल्पिक धार देखाउन खोज्नु पनि हो। युवासहितको शक्तिको रुपमा दललाई अघि बढाउन चाहेका छौँ,’ भट्टराईले भने। उनले सम्पादकहरूसँग पार्टीको विधान महाधिवेशन, देशको वर्तमान राजनीति, भूराजनीति वर्तमान गठबन्धनलगायतको विषयमा विचार राखेका थिए।

उनले नयाँ शक्ति आवश्यक भएको तर अहिले नै कांग्रेस र एमाले जस्तो पार्टी नबन्ने उल्लेख गर्दै यो केही हदसम्म सेन्टरतिर ढल्केको दल बन्ने बताए। भट्टराईले कांग्रेस–एमाले गठबन्धन असफल भए मुलुक अराजकतातर्फ जाने निष्कर्ष सुनाए। त्यो खाली स्थनानमा कसले नेतृत्व गर्छ भन्ने बताउँदै कतिपयले सेनालाई उकास्ने काम पनि गरिरहेका जानकारी आफूले पाएको बताए।

राजा नै नेपालमा आउने सम्भावना नरहे पनि राजालाई देखाएर अन्य फाइदा लिने खेलह विदेशीबाट भइरहेको पनि उनले खुलाए। राजाको भूटान भ्रमण र भुटानको राजाको अस्ट्रेलिया भ्रमण हुनु संयोगमात्र नभएको भट्टराईको भनाइ छ। भारतले आफू अनुकूल चलाउने उपयुक्त पात्र खोजिरहने भए पनि यहाँबाट सबैथोक पारित गरेर लैजान सहज नभएको भट्टराईले बताए। यो सबै कार्य रोक्न पुराना दलबाट सम्भव नभएको उनको भनाइ छ।

नयाँ दल र आफूलाई वैकल्पिक भन्नेहरू प्रस्ट नहुनुले पनि मुलुक अराजकतातर्फ धकेलिएको उनले बताए। नाम नलिई घुमाउरो शैलीमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कारण पनि मुलुक यो अवस्थामा पुगेको बताए। उनी शक्तिमा रहिरहन जतिबेला जे पनि गर्न सक्ने भट्टराईको बुझाइ छ।

‘मैदानमा देखिएका नयाँ पार्टीहरू प्रस्ट छैनन्। गन्तव्य प्रस्ट नभएकाले उनीहरूलाई प्रस्ट भएर अघि बढ्न आवशयक छ,’ उनले भने, ‘पछिल्लो समय नयाँ पुस्ताका केही नेताहरू रहस्यमयी भएको भन्दै बालेन्द्र शाह पनि त्यही तवरको एक रहस्यीमयी चरित्र हुन्।’ सबैको साथ र सहयोग पाएमा काठमाडौँका मेयर कम बोल्ने र एक्सनमा जाने खालको रहेको बताए।

खुलेरै प्रस्तुत भएका भट्टराई माओवादी केन्द्रका अध्यक्ष दाहालप्रति भने आक्रमक थिए। उनले यतिबेला संविधान ‘कोल्याप्स’ बनाएर मुलुकलाई द्वन्द्वमा धकेल्न लागकेकाले भट्टराईले चिन्ता व्यक्त गरे। यस्तो प्रयास नेपालमा खेल्ने शक्तिबाट नै भएको उनले बताए। कुनै मुलुकको नाम नलिए पनि उनको इसारा भने भारत तर्फ थियो। भारतले नै मुलुकमा विकास हुन नदिएको निष्कर्ष उनको छ।

आफूले भारतसँग नेपालको असमाना सन्धि हटाएर नयाँ सिराबाट सम्बन्ध अघि बढाउन प्रयास गर्दा भारतीय दलाल भनियो भन्दै उनले भने, ‘नेपालमा भारतीय गाडी खुलेयाम आउँछन्। नेपालको गाडी भारतमा यसरी जान सक्दैनन्। ठूलाले पो सानालाई ध्यान दिने। सानाले ठूलालाई ध्यान दिने उल्टो काम भइरहेको छ।’ नेपाली केही नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न विदेशीलाई आमन्त्र गरेको भन्ने कुरा आमनागरिकले पनि अहिले बुझ्दै गएको भट्टराईले बताए।

उनले विदेशीसँग झुक्न नझुक्ने आफू असल भएको नेतामात्र हुँदा नेपालले विकास गर्ने भट्टराईको विश्लेषण छ।

प्रचार एवं आईटी विभाग प्रमुख रहेकी मानुषी यमि भट्टराईले विधान सम्मेलनबारे जानकारी दिँदै नेपालको वर्तमान अवस्था र भूराजनीतिको विषयमा संयोजक भट्टराईलाई भूराजनीतिक विषयमा बोल्न आग्रह गरेकी थिइन्।

प्रकाशित: १० कार्तिक २०८१ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =