विषय प्रवेश : नेपाली साहित्य, संगीत र कलाको उर्वर भूमिका रूपमा परिचित काठमाडौँको पूर्वी क्षेत्रमा पर्ने जोरपाटीमा २०१८ सालमा जन्मिएका कवि, साहित्यकार, राजनीति र समाजसेवाका अनवरत साधक विमल अर्याल साहित्य सिर्जनातर्फ आकर्षित हुनुमा यस क्षेत्रको समग्र साहित्यिक वातावरण हो। २०३७/३८ सालतिर करिब २० वर्षको उमेरदेखि कवि विमल स्थानीय युवाहरूले सञ्चालन गरेको ‘मुक्का/आगमन’ साहित्यिक अभियानमा आबद्ध रहेर साहित्य सिर्जनामा अग्रसर भएका थिए। कवि विमल यस क्षेत्रका जोरपाटी, बौद्ध, महांकाल, मूलपानी, आरुबारी, चाबहिलका समवयस्क साथीहरूको संगतमा सुरु गरिएको ‘मुक्का/आगमन’ साहित्यिक अभियानमार्फत साहित्य र समाजसेवातर्फ आकर्षित भएका स्रष्टा हुन्।
यस क्षेत्रका अग्रज साहित्यकार/कलाकारहरू रमेश विकल, भैरव अर्याल, डा. नवराज चालिसे, मनुजबाबु मिश्र, विश्वनाथ कौडिन्य, कालीप्रसाद रिजाल, कञ्चन पुडासैनी, नारायण ढकाल, विजय चालिसे आदिको प्रत्यक्ष वा परोक्ष प्रभाव, प्रेरणा र प्रोत्साहनले यस क्षेत्रमा साहित्य, संगीत र कला सम्बद्ध धेरै श्रष्ठा र संस्था जन्माउन सफल भएको छ। यस्तो साहित्य र कला सिर्जनाको केन्द्र बन्दै गएको काठमाडौँको पूर्वी क्षेत्रको सिर्जनात्मक वातावरण र संगतिमा हुर्किएका विमल अर्याल एक सचेत, सजग र जागरुक स्रष्टाका रूपमा स्थापित छन्।
कवि विमलको साहित्यिक यात्राको लगभग ४० वर्षपछि भदौ २०८१ मा ‘आवरण’ नामक एक कवितासंग्रह पहिलो साहित्यिक कृतिका रूपमा प्रकाशित हुनु आफैँमा एक सुखद पक्ष बन्न गएको छ। उनका यस संग्रहमा ९२ वटा गद्य कविता प्रकाशित हुनुपूर्व विभिन्न साहित्यिक पत्रपत्रिकामा उनका रचना प्रकाशित नभएका होइनन् तर एकमुष्ट रूपमा प्रकाशित भएको भने यो नै पहिलो हुन पुगेको छ। यस संग्रहले हिजो कविता लेख्ने विमल र आज लेखिरहेका विमलमा स्तरीयताको दृष्टिबाट सिर्जनाहरूको स्तर जुन रूपमा उच्च हुँदै गएको छ त्यो अनुभव पाठकले गर्न पाउँछन्।
उमेरले साठी नाघे पनि उनका कवितामा रहेका जोशपूर्ण अभिव्यक्तिहरूले उनी २० वर्षे युवा भएर व्यक्त भइरहेको आभास हुन्छ अर्थात् उनका कविताहरू युवा जोशलाई यथावत् राख्न सक्षम छन्। उनले पहिलो पटक साहित्य लेखन खासगरी कविता लेखन २०३७/३८ सालदेखि सुरु गरेका हुन् जुन क्रमिक रूपमा विकसित हुँदै गयो। कवि विमल यस क्षेत्रमा विभिन्न सिर्जनात्मक कार्यक्रममा मात्र होइन राजनीति र सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय सहभागी थिए। यस क्षेत्रका अन्य सक्रिय युवा र साहित्यकार/समाजसेवीहरू जस्तै : वसन्त रिजाल, गोपाल बराल, उद्धव रायमाझी, रमेशराज अर्याल, अच्युत अर्याल, चक्रबहादुर ठकुरी, दीपक सिंह र जोरपाटीका तत्कालीन जागरुक अन्य किशोर युवाहरूसँगको संगत र अन्तरक्रियाले उनको क्रियाशीलतामा थप ऊर्जा थपेको थियो।
आज उनी अभिनव साहित्य समाज, कल्पतरु साहित्य प्रतिष्ठान, साहित्य सदन, स्रष्टा पदयात्रा, घुम्ती कवि गोष्ठी नेपाल, भैरव अर्याल पुरस्कार गुठी, सुरभी साहित्य प्रतिष्ठान आदि साहित्य र सामाजिक संस्थाहरूसँग विभिन्न प्रकारले आबद्ध र तिनमा क्रियाशील छन्।
साहित्य लेखनप्रति कसरी आकर्षण र रुचि बढ्न गयो भन्ने विषयमा कवि अर्यालले पुस्तकको भूमिका ‘आफ्ना कुरा’मा विस्तृत रूपमा वर्णन गरेका छन्। संगतगुनाको फल भने जस्तै साहित्य सिर्जनामा लागेका साथीहरूसँगको संगतको प्रतिफल नै उनी साहित्य लेखनको अभियानमा जोडिएको देखिन्छ। २०३६ को जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पराजयसँगै परिवर्तनप्रति जागरुक युवामा सिर्जना हुन पुगेको निराशा, कुण्ठा र आक्रोशले तत्कालीन राजनीतिक-सामाजिक परिवेशविरुद्ध विद्रोहको चेत जन्माइदिएको थियो। फलस्वरूप, विमल पनि आफ्ना रचनाहरूद्वारा देशको राजनीति र सामाजिक दुर्गतिका विषयमा सशक्त रूपमा कलम चलाउन थालेका थिए।
कोपिला साहित्य समाज, बौद्ध साहित्य समाज र आगमन साहित्य समाज जस्ता संस्थाहरूसँग आबद्ध हुँदै ‘मुक्का’(२०३९) र ‘आगमन’(२०४० र २०४१) नामक साहित्यिक पत्रिकाहरूको प्रकाशनमा पनि उनी निरन्तर रूपमा सक्रिय थिए। यो सक्रियताले उनको लेखनि पनि थप खारिदै गयो। ‘मुक्का’, ‘आगमन’, ‘अपांगको आकांक्षा’ जस्ता यस क्षेत्रबाट प्रकाशित साहित्यिक पत्रिकाहरूमा उनका सामाजिक सन्देश बोकेका सशक्त कथाहरू त्यतिबेला नै छापिएका छन्।
हुन पनि उनलाइ आख्यान लेखनमा स्वयं रमेश विकलले समेत ‘आशालाग्दा प्रतिभा भएका’ युवामा गनेका थिए। तर उनको रुझान भने क्रमिक रूपमा कविता लेखनतर्फ मोडियो र उनी गद्य कविता, मुक्तक, गजल र हालसालैका वर्षमा सुशेली कविता सिर्जनातर्फ बढी अग्रसर भएको देखिन्छ। यिनै कवि साहित्यकार विमल अर्यालको पहिलो कृति ‘आवरण‘मा समाविष्ट कविताहरूका विभिन्न पक्षहरू, यिनले दिने सन्देश, समय सान्दर्भिकता र विशिष्टता एवं उनको काव्य प्रवृत्ति, धार र कविताका मूल ध्येयबारे संक्षिप्त रूपमा चर्चा गर्नु यो लेखको मूल उद्देश्य छ।
‘आवरण’ भित्रका ११ कविता : एक सिंहावलोकन
यस संग्रहका ९२ वटै कविता विमलजस्तै छन् – सरल, सहज र यथार्थवादी। जसरी उनले जीवनका भोगाइ, अनुभव र अनुभुतिलाई महसुस गरेका छन् कविले त्यसैगरी जस्ताको तेस्तै अभिव्यक्त गरेका छन्। उनी धेरै घुमाएर, चपाएर आफूलाई व्यक्त गर्दैनन् वा गर्न जान्दैनन्, मनमा अनुभूत गरेको विषयलाई त्यही रूपमा लेखिदिन्छन्। यो उनको व्यक्तिगत सरलपन कवितामा पनि जताततै अभिव्यक्त हुन पुगेको पाइन्छ। आखिर कविता भनेको कविको मन र व्यक्तित्वको आत्माको आवाज हो वा त्यसको प्रतिबिम्ब न हो। त्यसैले उनको व्यक्तित्वजस्तै उनका कविता छन्- स्पष्ट, सरल र सहज। कसैलाई पनि कविता बुझ्न कठिन नहुने गरी र कविताको मर्म पनि नमारी लेख्न सक्नु कवि विमलको लेखनीको एक प्रमुख विशिष्टता हो। यो उनको सिर्जनाको सबैभन्दा सबल पक्ष पनि हो।
जीवनको ४३ वर्ष साहित्य र समाजसेवामा उनले अनवरत रूपमा दिएको योगदानको फलस्वरूप प्रकाशित यो कृति उनले यस अवधिमा रचेका कविताको संग्रह भए पनि मुख्यतया २०६० देखि २०८० गरी करिब २० वर्ष अवधिका सिर्जना मात्र यस संग्रहमा समावेश भएको देखिन्छ। सारांशमा भन्नुपर्दा २०६२/६३ पछि विकसित नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई समावेश गरेर लेखिएका कविताहरूको एकमुष्ट रूप हो यो कविता संग्रह। यस कृतिले तत्कालीन समयका आवाज, सन्दर्भ र विषय प्रतिबिम्बन गरेको अनुभूति हुन्छ।
आफ्ना मातापितालाई कवितात्मक रूपमा गरिएको भावना प्रधान कविता ‘समर्पण’ बाट सुरु गरिएको कविता संग्रहले नेपाली साहित्यको इतिहासमा एउटा नयाँ इँटा थप्ने कार्य गरेकोमा कुनै द्विविधा छैन। यस संग्रहका सबै कविताका विषयमा यहाँ चर्चा गर्न सम्भव नभएकोले मन परेका ११ प्रमुख कविताहरूको शैली, विषय र अन्तरवस्तुबारे संक्षेपमा चर्चा गर्नु वाञ्छनीय हुनेछ।
‘आवरण‘ भित्र प्रवेश
१. संग्रहको पहिलो कविता ‘आआफ्ना भाका‘ मा देश, सत्ता, र नेताहरूको सत्ता लिप्साप्रति कठोर प्रहार गरेर यो संग्रह सुरु भएको छ। आज संक्रमण भनिएको राष्ट्रको स्थितिप्रति कवि आक्रोशित र निराश छन्; यसैले उनी आफ्नो कवितामा रोषपूर्ण अभिव्यक्ति दिन पछि हट्दैनन्। यो स्थिति परिवर्तित हुने र राष्ट्रको बृहत्तर हित हुनेमा भने उनी आफ्नो आशावादी स्वर कायम राख्दछन्। कवि भन्छन्-
‘रात धेरै अन्धकार र लामो नै होओस्
बिहान हुन उत्तिकै अनिवार्य छ।‘
२. यस्तै २०७९ माघ २६ मा लेखिएको एउटा अर्को कविताको शीर्षक छ – ‘आफूलाई समेत पखाल्नुपर्छ‘। आफूले आदर्श पुरुष वा युग पुरुष मानेर आशा, विश्वास र भरोसा गरेको राजनीतिक नेतृत्वको पतनोन्मुख प्रवृत्ति देखेर त्यस्ता पतित नेतृव वर्गभन्दा टाढै रहनु पर्ने भाव व्यक्त गर्दछन्। यसैले उनी भन्छन् –
‘बाहिर रहर लाग्दो चिल्लो फर्सी भित्र कुहिन सुरु भएछ
नाकले पत्तो लगायो
अब नजिक राख्नु हुँदैन…’
३. ‘अर्को उज्यालो मुस्कुराउनु अगाडि‘ शीर्षकको कविताले पनि प्रतीकात्मक रूपमा नेपालको राजनीति र यसका नेतृत्वलाई आफ्नो केन्द्रीय विषयवस्तु बनाएको छ। विगत भुलेर आफैँ निरंकुशतातर्फ बढ्दै गरेको नेतृत्व प्रति उनी सजग हुन् र अर्को परिवर्तन आउँनु अगाडि नै आँखा खोल्न कवि आग्रह गर्छन्।
४. संक्षिप्तमा धेरै कुरा भन्न सक्नु कविको शैली र विशेषता भएकाले कविता छोटा हुन्छन तर तिनले दिने सन्देश भने विशालतम हुन्छन्। उनको एक कविता ‘अति‘ यस्तै प्रकारको एक कविता हो जसमा मनसुनमा अति वर्षात्ले ल्याउने प्राकृतिक विपत्ति र विनाशलीलाको निमित्त हामी मानव जाति नै कारक भएकोले कवि प्रकृतिलाई कम र ठिक्क वृष्टि गरिदिन आग्रह गर्दछन्। प्रतीकात्मक रूपमा प्रकृतिको प्रकोप प्रति सजग गराउनु कविताको मनसाय रहेको छ।
५. अर्को राम्रो कविता हो- ‘आएपछि‘। यो कवितामा देशमा विगतमा जति नै राजनीतिक परिवर्तन भए पनि आममानिसको जीवनमा त्यसले कुनै तात्त्विक परिवर्तन नल्याएको, तिनका दु:ख, पीडा र व्यथा यथावत् रहन गएको तथा उनीहरूको जिन्दगी थप जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ।
६. जुन कविताबाट कविता संग्रहको नामकरण गरिएको छ त्यो कविता ‘आवरण‘ कविको एक सशक्त रचना हो। कुनै पनि आदर्श पुरुष/नारी, व्यक्ति वा सत्ताधारीहरूको बाहिरी आवरण, भेषभूषा, बोलीवचन राम्रो भए पनि वास्तविक आचरण र व्यवहार त्यति बेला मात्र बोध हुन्छ जब उनीहरूको आवरण अनावृत्त हुन्छ र वास्तविकताको जानकारी हुनसक्छ। पुस्तकको आवरण कलाले पनि यही झल्काएको छ। कवि लेख्छन्-
‘बाहिरी आवरणमा
रूप रंग भन्न अप्ठ्यारो छ
नायक हो वा खलनायक
पदवी दिन गाह्रो छ….’
७. एउटा केही लामो कविता छ- ‘अदृश्य स्वरूप‘। नेपालको परनिर्भरता, भूराजनीतिले सिर्जना गरेको जटिलता र यसका प्रभावहरू, शक्ति राष्टहरूको होडबाजी उल्लेख गर्दै कविले नेपालले असंलग्न पराराष्ट्र नीति अबलम्बन गर्नुपर्ने र आफ्नो सम्प्रभुताको जगेर्ना गर्नु सचेत हुनुपर्ने सन्देश दिएका छन्। नेपालको आजको वास्तविकता र यथार्थ उजागर गर्दै नेपालले सही रूपमा अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिको प्रतिबिम्ब बनेको यो एक राष्ट्रप्रेमी कविको राष्ट्रप्रतिको उदगार मान्न सकिन्छ।
८. संग्रहको अर्को एक उत्कृष्ट कविता ‘अरु झैँ‘ मुक्तक शैलीमा लेखिएको थोरै शब्दमा गहिरो सन्देश दिने खालको व्यंग्यात्मक छ। नेपालीहरूमा विद्यमान अरुको उन्नति प्रति इर्ष्यालु रहने प्रवृत्तिलाई व्यंग्य गर्दै कवि लेख्छन्-
‘कोही अघि बढन लागेमा
खुट्टा तान्ने जुक्ति जानेको छु
अब म पनि
आम मानिस झैँ हुन आँटेको छु।‘
९. ‘अन्तिम भेट‘ शीर्षक कविताले मार्मिक विषयवस्तु उठान गरेको छ। आफ्नो नितान्त निकट व्यक्तिबीच कुनै कुरामा भएको भनाभनले रामनामी हटाएर मुख हेर्नुपर्ने अवस्थामा मात्र पुग्नुपरेको मानवीय कमजोरी उद्घाटित गरिएको छ। यो हाम्रो समाज र परिवार घटित भइरहने दारुण विषयलाई पनि उनले आफ्नो कविताको विषय बनाएका छन्। कवि मानवीय संवेदना र भावनालाई आफ्ना कवितामा उजागर गर्दछन्।
१०. कवि विमलको अर्को सशक्त कविता हो –‘माग्ने‘। यो कविताले ‘माग्ने’ प्रवृत्ति मानवीय कमजोरी बनेको र जोसँग पनि हात थाप्ने प्रवृत्ति नेपाली समाजमा रहेकोले त्यसैलाई प्रतीक बनाएर एक इमानदार कार्यकर्ताले अवसर पाउन नसक्ने नेपाली राजनीतिको कहालीलाग्दो स्थिति चित्रण गरेका छन्। देशको आजको अस्तव्यस्त स्थितिका निम्ति यस्तै प्रवृत्ति जिम्मेवार रहेको अनुभूति हुन्छ।
११. ‘मरेको वर्तमान‘ कविताले नेपाल राष्ट्रको आजको स्थिति झल्काउँछ। हिजो एक जोर नयाँ चप्पल लगाउन पाउँदा नै खुसी हुने नेता एकातिर आलिसान महलमा बस्ने मात्र होइन ऐयासीपूर्ण जीवन जिउँछन् भने यस्ता निजी स्वार्थमा निर्लिप्त नेता ‘रूपान्तरण’ को बखान गर्न कहिल्यै नथाक्ने दोहोरो प्रवृत्तिलाई नंग्याएका छन्। कवि जनताले नेताप्रति राख्ने आजको भित्री भावना यथार्थ ढंगबाट यो कवितामार्फत प्रस्तुत गर्न सफल छन्। यो उनको केही सशक्त कवितामध्ये एक हो भन्न सकिन्छ।
कवि विमलका कविताका विशेषता
सकारात्मकता : सकारात्मक संवेदनासहित कविता समापन गर्ने उनको शैली र विशेषता देखिन्छ। उनी कवितामा देश, समाज र नेतृत्वको यथास्थिति देखाउँछन तर साथमा निराशाको बीच पनि आशा भएको सन्देश प्रवाह गर्दछन्। आशावादिता प्रत्येक कवितामा मानकका रूपमा रहनु कवि विमलका विशिष्टता हुन्। जतिसुकै कालो र निराशाका बीच पनि उनी नेपालको उज्ज्वल भविष्यको सदैव आशावादी भएर आफ्ना कविताहरूको अन्त्य गर्दछन्।
राजनीति केन्द्रित विषयवस्तु : धेरैजसो कविता राजनीति केन्द्रित छन् भने अधिकांश आग्रहात्मक, आह्वानात्मक र अनुरोधात्म्क देखिनु विमलका कविताका वैशिष्टय हुन्।कवि यस क्षेत्रको वामराजनीतिमा अनवरत रूपमा पसिना बगाएका सुपरिचित व्यक्तित्व हुन् तर उनको योगदानबमोजिमको पदप्रतिष्ठा प्राप्तिमा न उनी लागे न सम्बन्धित दल ले नै चासो देखायो। इमान र लगनशीलता होइन चाकरी र चाप्लुसीबाट पाइने पद र प्रतिष्ठाप्रति लेखकको चाहना पनि कहिल्यै रहेन। यो भावना उनका कवितामा पनि झल्किएका देखिन्छन्। उनी आफ्नो विचार, आस्था र अभीष्ट प्राप्तिमा दृढसंकल्पित देखिन्छन्। यस क्रममा नेपालको राजनीति र नेतृत्व वर्गमा पलाएको विसंगति र विकृतिप्रति आफ्ना कवितामार्फत उनी रोष प्रकट गर्दछन्।
यथार्थवादी धार : गद्य कवितामा छन्द कवितामा जस्तो कवितात्मक रस, माधुर्य र सौन्दर्य कम नै हुन्छ। यसमा विचार, आग्रह र आक्रोश प्रबल हुन्छ। यथार्थवादी धारलाई लिएर कविता लेख्ने कवि विमलका कवितामा यी पक्षहरू बलवान देखिन्छन् तर त्यसो भन्दैमा उनका कवितामा मिठास छैनन् भन्न खोजिएको पक्कै होइन। विचार पक्ष बढी हाबी भएको भने स्पष्ट नै छ।
सञ्चेतना उन्मुख : कविता मनबाट लेखिने विधा हो। यसले पाठकको मन, मुटु र मस्तिष्क छुने, उनीहरूलाई भित्रैबाट झंकृत पार्ने, संवेदनशील बनाउने र आन्दोलित पार्ने मात्र होइन कविताका रसमा डुबाउने सामर्थ्य राख्दछन्। त्यसैगरी उठान गरेका विषय र सन्दर्भबारे बिम्ब, प्रतीक र लाक्षणिक माध्यमको प्रयोगबाट केही सोच्न बाध्य पार्ने र पाठकलाई आफूसँगै हिँडाउने र आनन्दित पार्न सक्ने हुनुपर्ने सर्वमान्य मान्यता रहेको छ। यसरी लेखिएका कविताहरू कालजयी र जनजनको जिब्रोमा सहजै झुन्डिन सक्ने बन्न पुग्दछ। यस पक्षमा हेर्दा विमलका कविताहरू पाठकलाई सचेत पार्ने र यथास्थितिप्रति जागरुक पार्दै भविष्यको सुनौलो सपना देखाउन भने सक्षम छन्।
संक्षिप्तता : विमलका कविताहरू थोरै शब्दमा धेरै भन्न सक्ने र आफूले चाहेको भाव सम्प्रेषण गर्न सक्षम छन्। कविताका शीर्षकहरू पनि धेरै जसो एक वा दुई शब्दका प्रयोग गरेका छन्। शीर्षकमा वेष्टित भएर कविता अगाडि बढाएको देखिन्छ। कविता पनि संक्षिप्त वाक्य विन्यासको प्रयोग गरेको देखिनु विमलका कविताका विशेषता हुन्। त्यो उनको संक्षेपीकरणले कविताको मूल मर्म मारेको छैन बरु छोटोमा सटीक भाव, विचार र सन्देश प्रवाह गर्न सफल छन्। यो नै विमलको काव्यात्मक शैली बनेको छ।
उदाहरणका रूपमा उनले २०७८ पुस १६ मा लेखेको कविताको शीर्षक रहेको छ- ‘आशा’। यो कविताले दिन खोजेको सन्देश ३०/३१ हरफ र छोटा छोटा वाक्यबाट पूर्णता दिइएको छ।यो कविता यस संग्रहको एक उत्कृष्ट कविता पनि हो शैली र सन्देशको दृष्टिकोणबाट हेर्दा पनि। उनका एक शब्दका केही शीर्षकहरू जस्तो ‘आशा’, ‘अति’, ‘आभास’ आदि छन्।
अनुभूतिजन्य काव्यिक चेतना : राजनीतिमा लागेर आफूले आर्जन गरेको अनुभव र अनुभूतिहरूलाई काव्यात्मक रूपमा अभिव्यक्त गर्नु नै कविको मूल अभीष्ट रहेको आभास हुन्छ। कविले आफूले नजिकबाट बुझेको, देखेको र भोगेको विषय राजनीति भएकाले पनि होला सायद उनका कवितामा राजनीतिक नेतृत्व वर्गमा आएका विचलन, सहकर्मीहरूद्वारा खेलिने राजनीतिका अनेक तिकडम र फोहोरी खेल अनि आफूले भोगेका तितामिठा अनुभवहरूलाई कविताका माध्यमबाट अभिव्यक्त गरेको भान हुन्छ। यसर्थमा कवि विमल राजनीतिमा पारख भएका कवि हुन् भन्न सकिन्छ।
कथात्मक शैली : कवितालाई कथात्मक ढंगमा पेस गर्न सक्नु कवि विमलको अर्को विशेषता हो। उनी कवितालाई विगत, वर्मान र भविष्यसम्म डोर्याउन खप्पिस छन् र अन्त्यमा एक सशक्त सन्देश सम्प्रेषण गर्न पनि पछि पर्दैनन्। यी उनका काव्यशैलीका विशिष्टता हुन्। लयात्मक, अनुप्रास ट्वाक्कद्वाक्क मिलाएर कवितामा गहन भाव सम्प्रेषण गर्ने खुबी भएका विमल कविताका कतिपय निराश विषयवस्तुलाइ पनि सरस बनाउन सक्षम छन्।
नेपाली राजनीतिका विविध आयामको चित्रण : नेपाली राजनीतिका घात प्रतिघात, ईर्ष्या, धोखा, षडयन्त्र, चालबाजी, फरेब, जालझेल, झिनाझपटी, अहं, अहंकार, घमण्ड, नैतिकताको खडेरी, भ्रष्टाचार, दुराचार, नातावाद, कृपावाद, आफू र आफ्नोबाद, राम्रो होइन हाम्रो चाहिने मानसिकता, फुट र शासन गर्ने दुरासय, मानिस-मानिस बीच विभेद जस्ता पक्षलाई कवि विमलले आफ्ना कविताहरूमार्फत निशाना बनाएका छन्।
उनका ९२ कविताहरूमध्ये अधिकांश कविताले यस्ता प्रवृत्तिको विरोधमा आवाज उठाएका छन्। साथै, २०६२/६३ पछि नेपालमा भएको राजनीतिक परिवर्तनले झन्डै २० वर्षमा पनि जनताले चाहेको जस्तो सुख, शान्ति र विकासको सपना पूर्ति नगरेको प्रति रोष प्रकट गर्दछन् तर पनि कवि एक आशावादी व्यक्ति भएकाले होला सायद भोलि अवश्यै सुन्दर हुन्छ भन्ने सकारात्मक सन्देश दिन भने चुक्दैनन्। वर्तमान स्थितिको आंकलन गर्दा यो उनको आशावादिताको पराकाष्ठा हो भन्ने लाग्न सक्दछ कतिपय पाठकहरूलाई।
जागरणका कवि : कवि विमल न्याय, समानता, वर्गीय तथा जातीय विभेदको अन्त्य, विकास, समृद्धिका निम्ति कुनै सम्झौता गर्न चाहँदैनन र आफ्ना कवितामार्फत तिनलाई उजागर गर्न र जागरण ल्याउन प्रयत्नशील रहन्छन्। उनका अधिकांश कविता जातीय उत्पीडन, भेदभावविरुद्ध लेखिएका छन्।
बोधगम्य काव्यिक सिर्जना : जनबोलीका शब्दका प्रयोग, सहज र सबैले बुझ्न सक्ने गरी लेख्नु विमलको काव्यात्मक विशेषता हो। सञ्चेतना, सजगता, जागरुकता र सकारात्मक सन्देशले ओतप्रोत कविता लेखन कवि विमलका यस संग्रहका कविताका विशिष्टता हुन्।
उपसंहार
गहन विचार, चिन्तनमा गाम्भीर्य, आफूले भोगेको र अनुभूत गरेको व्यक्ति, परिवार, समाज र राजनीतिबारे स्पष्ट शब्दमा केही नलुकाई वास्तविकता र यथार्थ अभिव्यक्ति गर्नु नै विमलका कविता लेखनका मुल शैली र विशेषता बनेका छन्। यस अर्थमा उनी भावुक भएर लेख्ने एक बौद्धिक राजनीतिक कवि हुन् भने आफूले अगीकार गरेको राजनीतिक विचारधाराप्रति अडिग रहेर आफ्ना अनुभूतिहरू व्यक्त गर्ने एक सञ्चेतानामुलक यथार्थवादी सर्जक हुन्।
कवि विमल आफ्नो राष्ट्र, राष्टियता, स्वाधीनता, स्वतन्त्रताप्रति गहिरो माया स्नेह राख्ने र त्यसको पक्षधरता गरेर आफ्ना कविता सिर्जना गर्ने भएकाले उनी आफ्नो प्रिय मातृभूमिप्रति कसैले वक्रदृष्टि लगाएको देख्न सक्दैनन्। यसर्थमा उनका कविता राष्ट्र प्रेमले ओतप्रोत छन्। साथै, कवि विमल सत्यको सधैँ जित र असत्यको अवश्य हार हुने मान्यतामा अडिग भएर कविताहरू लेख्ने गर्दछन भन्ने यो संग्रहका सबैजसो कविताहरूले पुष्टि गर्दछन्।
केही कविताका रचना वर्ष, मिति र प्रकाशन भएको पत्रपत्रिकाको नाम पनि उल्लेख भएका छन् तर केही कविताहरूमा भने लेखन वर्ष छुट हुन गएकाले कविताले उठान गरेको विषयलाई समय र सन्दर्भको दृष्टिबाट विश्लेषण गर्न केही कठिनाइ हुने देखिएको छ। यसतर्फ आगामी कृतिहरूमा लेखकले अवश्य ध्यान दिनेछन्।
नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिमा करिबकरिब ४ दशक सक्रिय भएर महत्त्वपूर्ण योगदान गरेका कवि विमलले आफूले राजनीतिमा संलग्न रहँदा भोगेका, अनुभव र अनुभूति गरेका तितामिठा विषयहरू एवं उनीजस्ता इमानदार र निष्ठावान् राजनीतिक कर्मीलाई लिस्नो बनाएर माथि पुग्ने प्रवृत्तिको नांगेझार पार्ने उद्देश्यलाई नै कविले कवितामा प्राथमिकता दिएका छन्।
राजनीतिक क्रियाकलापमा लागेका व्यक्तिहरूले कविता लेख्छन् तर राजनीतिक आग्रह र पूर्वाग्रहबाट भने उनीहरू टाढा नै बस्नु उचित हुन्छ। यदि कवितामा राजनीति त्यो पनि निश्चित वाद, दल र गुटउपगुटको विषय हाबी हुन गयो भने त्यो केवल एक सस्तो नारावादी सिर्जनामा परिणत हुन सक्ने भएकोले कवि विमलले आफूलाई कतिपय अवस्थामा बचाएर लेखेका छन्।
कतिपय कविताका विषय बनेका कुनै अमुक राजनीतिक दल जुट्नु वा फुट्नु जस्ता विषय आममानिसको कुनै सरोकार, चिन्ता र चासोको विषय हुँदैन भन्ने कुरा कविले बुझ्नुपर्ने पक्षलाई यहाँ उल्लेख गर्न आवश्यक हुन्छ। कविता मानव मूल्यका शाश्वत पक्षहरू उद्बोधन गर्ने एक सशक्त माध्यम हो र कवि त्यतिबेला सफल हुन्छ जब उसले मानिसका मन र मुटु छुने कालजयी कविता सिर्जना गर्दछ। यसतर्फ कवि विमलले आगामी कृतिहरू प्रकाशन गर्दा अवश्य नै ध्यान दिनेछन् भन्ने विश्वास लिन सकिन्छ।
कवि विमल एक इमानदार राजनीतिकर्मी मात्र नभएर एक सदाबहार आशावादी, सकारात्मक र उज्यालोको पक्षधरता लिने एक सशक्त कवि भएको तथ्य ‘आवरण‘ कविता संग्रहले पुष्टि गरेको छ। सारांशमा, जनताको शपथ खाएर सत्तामा पुगेका कतिपय नेतृत्वकर्ताहरूले आफूलाई सत्ताको विकृति, विसंगति, भ्रष्टाचार, दुराचारमा चुर्लुम्म डुबाएर देशको विकास र शान्तिका निमित्त काम गर्न असमर्थ भएको यथार्थलाई सत्ता राजनीति वृत्तबाहिर रहेका आममानिसले राजनीतिक आवरणमा छोपिएको कारण बुझ्न वा थाहा पाउन सक्दैनन्। यस्तो आवरणले छोपिएको अवस्थालाई अनावृत्त गराउन ‘आवरण‘ कविता संग्रहका कविता सक्षम छन्। कवि विमलको सक्रिय साहित्य जीवनको ६ दशकमा प्रकाशित हुन सम्भव भएको यो पहिलो कृति ‘आवरण‘ ले लिएको अभीष्ट पूर्ण हुनेमा कुनै द्विविधा देखिँदैन।
(अभिनव साहित्य समाज, जोरपाटीले भदौ २९, २०८१ मा आयोजना गरेको कवि विमल अर्यालको कविता संग्रह ‘आवरण‘ को लोकार्पण समारोहको अवसरमा लेखकद्वारा प्रस्तुत समीक्षात्मक टिप्पणीको सम्पादित अंश)
[कूटनीति र साहित्य लेखनमा रुचि भएका खनाल जर्मनीका लागि नेपालका पूर्वराजदूत हुन्।]