ईरानको परमाणु र तेल भण्डारण क्षेत्रमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी

हिमाल प्रेस १० कार्तिक २०८१ १६:२९
22
SHARES
ईरानको परमाणु र तेल भण्डारण क्षेत्रमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई ईरानको परमाणु र तेल भण्डारणस्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन्।

ईरानले गरेको आक्रमणको इजरायललाई आफ्नो बचाउ गर्ने अधिकार भए पनि परमाणु र तेल भण्डारणस्थलमा आक्रमण नगर्न बाइडेनले चेतावनी दिएका हुन्।

इजरायलले ईरानको परमाणु भण्डारणस्थलमा आक्रमण गरेर आफूले समर्थन नगर्ने उनले बताएका छन्। ईरानको परमाणु भण्डारणस्थलमा आक्रमण गर्दा स्थिति झनै बिग्रिनसक्ने बाइडेनको बुझाइ छ।

बाइडेनले केही दिनअघि भनेका थिए,‘यदि म इजरायलको स्थानमा भइदिएको भए ईरानी तेल क्षेत्रमा आक्रमणको सट्टा अन्य विकल्पबारे सोच्ने थिएँ।’

अमेरिकाले ईरानलाई पनि इजरायली हवाई आक्रमणको जवाफ नदिन अपिल गरेको छ।

अमेरिकाका वरिष्ठ अधिकारीहरूले वक्तव्य निकालेर ईरानले इजरायली आक्रमणको जवाफ दिने निर्णय गरे आफूहरू पनि तयार रहने र ईरानलाई फेरि एकपटक गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

‘इजरायल र ईरानबीच भइरहेको संघर्ष रोकिनुपर्छ। हामी लेबनानमा युद्ध गर्न र गाजामा पनि युद्धविरामका लागि प्रयास गरिरहेका छौँ। इजरायली बन्धकलाई रिहा गराउने प्रयासका लागि पनि हामी तयार छौँ,’ अमेरिकाका वरिष्ठ अधिकारीहरूले भनेका छन्।

यसैबीच इजरायलले गएराति हवाई आक्रमण गरेपछि बन्द भएको हवाई सेवा ईरानले पुनः सञ्चालनमा ल्याएको छ। इजरायली आक्रमणपछि ईरानले हवाई सेवा बन्द गरेको थियो।

ईरानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समयअनुसार बिहान ९ बजेदेखि हवाई सेवा सञ्चालनमा आएको बताएको छ।

इजरायलले ईरानको सैन्य स्थललाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। इजरायलले आफ्नो सैन्य स्थललाई लक्षित गरेर आक्रमण गरेको ईरानले पनि बताएको थियो।
ईरानी वायुसेनाका अनुसार इजरायलले तेहरान, खुजेस्तान र इलम प्रान्तस्थित सैन्य स्थलहरूमा आक्रमण गरेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली सेनाले ईरानको कैयौँ क्षेत्रमा गरेको सटिक आक्रमण पूरा भएको र आफ्ना लडाकु विमानहरू सुरक्षित फर्किएको बताएको छ।

प्रकाशित: १० कार्तिक २०८१ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =