पोखरामा ‘पूर्णबहादुरको सारङ्गीसँग जोडिए प्रकाश सपुत, हालसम्म नजोडिएको विषयमा दिए स्पष्टीकरण

हिमाल प्रेस १० कार्तिक २०८१ १२:३४
16
SHARES
पोखरामा ‘पूर्णबहादुरको सारङ्गीसँग जोडिए प्रकाश सपुत, हालसम्म नजोडिएको विषयमा दिए स्पष्टीकरण

पोखरा- लक्ष्मीपूजादेखि फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ रिलिज तयारीमा छ। सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको यो फिल्म प्रचारमा फिल्म यूनिट देश दौडाहामा रहँदा फिल्मका कलाकार प्रकाश सपूत भने नहिंडेकोमा आलोचित थिए।

तर, उनी शुक्रबार पोखरामा आयोजित चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने देखिए।
लोकप्रिय लोकगायकको छवि बनाइसकेका उनले यस विषयमा स्पष्ट पारे। आफ्नै फिल्म ‘वसन्त’ लगायतको सेड्युलमा काम गरेको हुँदा चाहेर पनि फिल्म प्रचारमा निस्कन नसकेको सुनाए।

उनले भने, ‘पूर्णबहादुरको सारङ्गी फिल्मको सफलताको कामना गर्दछु । फिल्म प्रचारमा चलचित्रका काफी कलाकार उपस्थिति हुनुहुन्थ्यो। कलाकारको हिसाबले, भूमिकाको हिसाबले, उहाँहरूको लोकप्रियताका हिसाबले उहाँहरू नै पर्याप्त हुनुहुन्थ्यो। तर म नहुँदा मात्रै प्रश्नहरू उठे। मान्छेमा जे कुरा छैन, त्यो अभाव हुन्छ तर आफूसँग जे छ, त्यो सामान्य लाग्दो रैछ।’

‘सारङ्गी’ नामबाट पहिलोपल्ट नेपाली फिल्म बनेको उल्लेख गर्दै गण्डकी क्षेत्र सारङ्गी लोकभाखाको पर्याय भएको बताए।

उनले भने, ‘यही ठाउँ (पोखरा) मा झलकमान गन्धर्वको जन्म भएको हो। यो धूनसँग यो कथासँग, गीतसँग हामी जति नजिक छौँ, सायद अरूसँग हुन्छ होला।’

उनले यो फिल्मलाई आफ्नो क्षेत्र, गीतसंगीतबाट नजिकबाट महसुस गरेको गरे। उनले भने, ‘जे कुरा आफ्नो लाग्छ, त्यो अलि प्रिय लाग्छ। तपाईंलाई पनि पूर्णबहादुरको सारङ्गी प्रिय लाग्नेछ।’

पूर्णबहादुरको सामान्य कथा ठूलो पर्दामा आउन लागेको र यो फिल्मले एउटा सन्देश बोकेर जाने उल्लेख गरे।

फिल्मका मुख्य कलाकार विजय बरालले यो फिल्मको कथा ०४५ सालअघिको भएको प्रस्ट पारे। उनले सारङ्गी संस्कृति जोगाउन गन्धर्व समुदायले गर्ने संघर्षलाई कथामा समेटिएको बताए।

अर्का कलाकार मुकुन भुषालले फिल्मको टिजर, ट्रेलर र गीतअनुसार सबै जनाले फिल्मको ‘कन्टेन्ट’ मन पराएको उल्लेख गर्दै दशैँको बेलामा रिलिज अन्य फिल्मको बिजनेस राम्रो भएकाले यसलाई पनि दर्शक मन पराउनेमा आशावादी देखिए।

फिल्म प्रचारका लागि आफूहरू देशदौडाहामा रहँदा थकानसमेत महसुस गरेकोमा पोखरामा प्रकाश सपूतको उपस्थितिले उत्साह बढेको बताए।

सपूत पोखराको प्रचारबाट मात्र जोडिएका हुन्। अभिनेत्री अञ्जना बराइलीले छोटो प्रतिक्रिया दिँदै नेपाली चलचित्र र कलाकारलाई माया गरिदिन अनुरोध गरिन्।

विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेको फिल्ममा बुद्धि तामाङ, गायक प्रशान्त सिवाकोटी, सारङ्गीवादक विराज गन्धर्वलगायतको अभिनय छ।
फिल्मको प्रचार गर्दै कलाकारको टोली पूर्वदेखि पश्चिमका विभिन्न सहर पुगेर पोखरा आइपुगेको हो।

प्रकाशित: १० कार्तिक २०८१ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =