बेथिति, अनियमिता, भ्रष्टाचारमा संलग्न भए सजायको भागीदार हुनैपर्छ : ईश्वर पोखरेल

हिमाल प्रेस १० कार्तिक २०८१ १२:१८
6
SHARES
 बेथिति, अनियमिता, भ्रष्टाचारमा संलग्न भए सजायको भागीदार हुनैपर्छ : ईश्वर पोखरेल

पोखरा- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अपराधकर्म, अनियमितता र भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्ति जुनसुकै तहमा भए पनि छुट नपाउने स्पष्ट पारेका छन्।

एमाले कास्कीले दशैँतिहारलगायत चाडपर्व अवसरमा शनिबार पोखरा सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान समारोहमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन्। देशकै चौथो ठूलो दल राष्ट्रिय स्तवन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पोखरामै यतिखेर प्रहरी हिरासतमा छन्।

आफ्ना अध्यक्षको तत्काल रिहाइ माग गर्दै रास्वपा तथा रवि समर्थित भने सातादिनदेखि सडक आन्दोलनमा छन्।

सोही विषयलाई इंकित गर्दै पोखरेलले भने, ‘विधिसम्मत्, प्रक्रियासम्मत् र कानुनसम्मत् ढंगले त्यसको छिनोफानो हुनुपर्छ । मान्दिनँ भनेर अघि बढ्यो भने हामीहरुलाई कुनै पनि हालतमा मञ्जुर छैन । स्वीकार्य छैन।’

उनले कोही पनि व्यक्ति बेथिति, अनियमिता, भ्रष्टाचारमा संलग्न भए सजायको भागीदार हुनैपर्ने कुरा सम्बोधनक्रममा पटक–पटक दोहोर्‍याए।

‘नेपाल बहुजातीय, बहुभाषीय देश भएको हो तर समाजमा अराजकता फैलाउने, कानूनको धज्जी उडाउने, अपमान गर्ने यस्ता प्रवृत्ति बढिरहेका छन्,’ उनले भने, ‘हामी कुनै पनि किसिमको सामाजिक अराजकता रुचाउँदैनौं, स्वीकार्दैनौं । यो नेपाली चरित्र होइन, सामाजिक अराजकता भनेको यो हाम्रो देशको अखण्डता कमजोर बनाउने, अझ चर्काउने खालको हो।’

‘कानुनको राजलाई खिल्ली उडाउँदैछन् । कसैले मलजल गरिरहेका छन्। राष्ट्रलाई कमजोर गराउने यो गलत हो। अनियमितता र भ्रष्टाचार हो भने ऊ दण्डको भागीदार हुनैपर्छ,’ उनले भने।

आफ्ना भनाइ, प्रस्ताव भए ती सबै कानुनसम्मत् ढंगले प्रस्तुत गर्नुपर्ने सुझाव दिए। मुलुकको विकास र समृद्धिका लागि पुराना दलले कमजोरीका कारण नयाँ दल आवश्यकता हो भने यसको समाधान लोकतान्त्रिक विधिमात्र भएको स्पष्ट पारे।

‘कानुनी शासनको पक्षपोषण गरेरमात्र हामीले लोकतन्त्रको रक्षा गर्न सक्छौं । यसलाई कमजोर बनाइयो भने यसले वास्तवमा झन् कमजोर बनाउँँछ । हामीहरुले लोकतन्त्र मूल्यमान्यताको पक्षमा अघि बढ्ने संकल्प गर्नुपर्नेछ,’ पोखरेलले भने।

राष्ट्रिय एजेण्डामा एमाले–कांग्रेसलगायत दलहरु अहिले एक ठाउँमा उभिएको उनले बताए । उनले भने, ‘कांग्रेस र एमाले भनेका प्रतिस्पर्धा गरेर आएका पार्टी हुन्। भोलि पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। तर अहिले सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता ठानेर सँगै आएका हुन्। यो सहकार्यले दिगो शान्ति, विकास र समृद्धिको सन्देश दिन खोजेको छ।’

उनले अगाडि भने, ‘पार्टीहरुले गरेनन् भने टीकाटिप्पणी भइरहेको छ । एउटा पार्टीले गर्न सकेन भने अर्को पार्टीले बनाउँछ । हामी कसैले रहर गरेरमात्र त्यो पूरा हुन सक्दैन । हाम्रा पार्टी हिजो गौरवशाली इतिहास बोकेका पार्टीहरु छन् । भविष्यको मार्गनिर्देश भएका पार्टी छन् । अहिलेको अवस्थामा कसरी अघि बढ्नुपर्छ भन्ने योजना भएका पार्टी छन् । तर, गल्ती कमजोरी गरे भने दण्ड कसले दिन्छ? जनताले दिन्छन् । दण्ड भनेको लोकतान्त्रिक विधि र प्रक्रियाबाट हुन्छ।’

नेपालको छिमकमा चीन र भारतजस्ता ठूला राष्ट्र रहेकामा देशका २ करोड ९२ लाख जनतालाई सुरक्षा दिँदै देशको स्वाभिमान, स्वतन्त्रता, अखण्डता कायम गर्नुपर्ने चुनौतीमा सामाजिक अराजकताले प्रश्रय पाए हाम्रो देश के होला? भनी संशय व्यक्त गरे।

उनले शान्तिप्रक्रियाका काम विगतमा केही अड्किएकोमा केपी ओली शर्मा नेतृत्वको सरकारले अघि बढाएको दाबी गरे। उनले आर्थिक विकास र समृद्धि अहिलेको मुद्दा भएकोमा अराजकता प्रमुख बाधक बन्न नहुने कुरा दोहो¥याए।

उनले भने, ‘सामाजिक सद्भाव खलबल्याउने काम गर्नु हुँदैन। यसैको जगमा राष्ट्रिय एकता छ । यो नै आजको आवश्यकता हो। हामी जब चाडपर्व मनाइरहन्छौं, यो चाडपर्वमा यो सद्भावको जग थप मजबुत बनाउने काममा निर्देशित हुनुपर्दछ। यसैमा राष्ट्रिय हित अडेको छ।’

कार्यक्रममा एमालेसहित विभिन्न दलका नेता, कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति थियो।

प्रकाशित: १० कार्तिक २०८१ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =