साहित्य वार्ता

समाजको अपेक्षाभन्दा बाहिरको साहित्य कसैलाई पनि ग्राह्य हुँदैन : कल्पना खरेल

हिमाल प्रेस १० कार्तिक २०८१ ११:४१
10
SHARES
समाजको अपेक्षाभन्दा बाहिरको साहित्य कसैलाई पनि ग्राह्य हुँदैन : कल्पना खरेल

चितवनमा जन्मिएकी कल्पना खरेलले स्नातकसम्म अध्ययन गरेकी छन्। उनको पहिलो प्रकाशित रचना नेपाल आमा २०६८ हो भने प्रकाशित कृति क्षितिजपारिको शब्द हो।उनका क्षितिजपारिका शब्दहरू (गीतिसंग्रह), कामना (गीति एल्बम), समलिंगी सम्बन्ध (उपन्यास), रागिनी (कथासंग्रह), लभ इन जेरुसलेम (उपन्यास), रानीतलाउ (उपन्यास), पुरुष (उपन्यास)लगायत दुई सय फुटकर लेखरचना छन्।

भृकुटीतारा लेखक कल्पना खरेलको पाँचौँ उपन्यास र आठौँ कृति हो। उनका पाथीभरा (भजनसंग्रह) र तुलसी (गीतिसंग्रह) प्रकाशनोन्मुख छन्।  यसअघि उनले रचेका दुई दर्जन गीत श्रोतामाझ लोकप्रिय छन्। उनीद्वारा रचिएका आधुनिक गीत कामना एल्बममा समेटिएका छन्। खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत लेखिका हुन्। उनले गीतकार संघ सम्मान, वर्ल्ड  नेपाली म्युजिक अवार्ड, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट उपन्यास पुरस्कार, रणलक्ष्मी राष्ट्रिय पुरस्कारलगायत दर्जनौँ सम्मान तथा पुरस्कार पाइसकेकी छिन्।

खरेल अन्तर्राष्ट्रिय साहित्य समाज आजीवन सदस्य, गीतकार संघ सदस्य, स्रष्टा समाज आजीवन सदस्य, शाश्वत प्रतिष्ठान सदस्य, रेडक्रस सोसाइटी आजीवन सदस्यका रूपमा आबद्ध छिन्। खरेलले बेलायत साहित्यिक सम्मेलन, सिक्किम साहित्यिक सम्मेलन, भारतको हरियाणा साहित्यक कार्यक्रम, इजरायल, प्यालेस्टाइन र बहराइनमा भएका विभिन्न साहित्यिक समारोहमा उपस्थिति जनाएकी छिन्। प्रस्तुत छ स्रष्टा खरेलसित लिइएको अन्तर्वार्ता :

यहाँको साहित्य लेखन कहिलेदेखि सुरु भयो?

विसं.२०६० देखि सुरु भएको हो।

कसबाट र कसरी प्रभावित हुनुभयो?

म १२ वर्षकी हुँदा डा. तसलिमा नसरिनको ‘लज्जा’उपन्यास पढेर प्रभावित भएकी थिएँ। लज्जामा महिलामाथि लगाइने अङ्कुशहरूमाथि प्रहार गरिएको थियो।

कसरी बढिरहेको छ त लेखन गतिविधि?

नियमित म आफ्नो कर्म गर्न रुचाउँछु। त्यसरी नै लेख्ने क्रम नियमित अविरल इन्द्रावतीजसरी बगिरहेको छ!

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?

आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुने मेरो स्वभाव छ। त्यसैले होला वर्तमान लेखनमा सन्तुष्ट छु।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि?

पछिल्लो समयमा पूर्वीय दर्शनमा अध्ययनअनुसन्धान गरेर लेखिरहेको छु।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?

साहित्य राष्ट्रको अभिन्न अङ्ग हो- जसले भाषा संस्कृति इतिहासको जगेर्ना र संरक्षण गर्दछ। स्रष्टा राष्ट्रको गहना हो। राष्ट्रले स्रष्टाको योगदानअनुसार मूल्याङ्कनका साथ सम्मान गर्नुपर्दछ। जसरी भाषा साहित्य जगेर्नाको निमित स्रष्टाले त्याग तपस्या वा साधना गरिरहेको छ- त्यसै गरी स्रष्टालाई जोगाउन राष्ट्रले मलजल गरेझैँ संरक्षण गर्नुपर्दछ।

तपाईंको साहित्यिक आदर्श के हो?

साहित्य जीवन र जगत्को दर्पण हो। साहित्यले हरेकको अन्तर्भावलाई शब्दद्वारा प्रस्तुत गरेको हुन्छ। साहित्यले भाषा संस्कृति जगेर्ना गर्छ। साहित्य दर्शनले समाजलाई डोहोर्‍याइरहेको हुन्छ। साहित्य सजीव अनुभवहरूको कलात्मक अभिव्यक्ति हो।

साहित्यले दबिएका आवाजलाई प्रस्फुटन गर्छ। साहित्यले प्रेम, धर्म र नैतिकताका साथै सम्पूर्ण सांसारिक जीवनलाई उजागर गर्छ। साहित्य प्रज्ञाको दीपज्योति हो- जसले उज्यालो प्रकाश छरिरहेको हुन्छ। साहित्य समाजको अभिन्न अङ्ग हो। साहित्य समाजको इतिहास हो। साहित्यमा अति सूक्ष्मदृष्टि र दूरदृष्टि हुन्छ- जसले समाजको हरेक पाटोमा न्याय गरेको हुन्छ।

भाषा साहित्य जीवनको अभिन्न अङ्ग हो। भाषा साहित्यबिना मानिस अपूर्ण छ। भाषा साहित्यले नै अन्तस्करणको भाव आदानप्रदान गर्छ। हामी एकअर्कामा संवाद गर्न सक्छौँ। भाषा साहित्य र दर्शनले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा सिङ्गो समाजलाई योगदान पुर्‍याएको हुन्छ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त?

हरेक कालखण्डमा लेखकले आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। त्यसै गरी वर्तमान नेपाली लेखकहरूले पनि आफ्नो लेखकीय दायित्व वहन गरिरहनुभएको छ।

तपाईँ आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ?

आफूले सिर्जना गरेको हरेक वस्तु प्यारो लाग्छ। त्यसमा पनि आफ्ना कृति आफूले जन्माएका सन्तानसमान हुन्। आफ्नो सन्तान सबैभन्दा प्यारो र सुन्दर लाग्छ। त्यसैले म मेरा कृतिबाट सन्तुष्ट छु।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?

समय परिवर्तनशील छ। मानव समाज विकास उन्मुख छ। मानव सभ्यता विकास हुँदै जाँदा मानिसको सोच, विचार, चिन्तन र दर्शन सबै परिवर्तन हुन्छन्। हिजोको समाज र आजको समाजमा निकै भिन्नता छ। साहित्य समाजको दर्पण हो। समाज जस्तो छ- त्यस्तै साहित्य सिर्जना हुन्छ। किनभने समाजको अपेक्षाभन्दा बाहिरको साहित्य कसैलाई पनि ग्राह्य हुँदैन। आजको समय विज्ञानको चमत्कारको समय हो। त्यसैले हिजोको र आजको लेखनमा धेरै भिन्नता छ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ?

अबको साहित्य अनुसन्धानमूलक, यथार्थपरक हुनुपर्छ। अबको युगको मानिसले प्रमाण खोज्छ। रिसर्च गरेर लेखिनुपर्छ।

लेखनप्रति केले  प्रेरणा दिन्छ जस्तो लाग्छ?

साहित्यिक गतिविधिले जब विचार भावना जुर्मुराउँछ- तब लेख्ने प्रेरणा जागेर आउँछ।

तपाईंको लेख्ने निश्चित समय छ कि?

मैले लेख्ने समय ब्रह्ममुहूर्तमै हो। बिहानीको समय ऊर्जाशील र सिर्जनशील हुन्छ। सूर्योदयपछि भने गृहस्थी जीवनमा व्यस्त हुन्छु।

लेख्न कस्तो वातावरण चाहिन्छ?

लेखक एक योगी हो। लेख्न निरन्तर साधना चाहिन्छ। साधनाका लागि शान्ति र शान्त वातावरण चाहिन्छ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?

जुन विषयले मन छुन्छ र सान्दर्भिक लाग्छ- त्यही विषयवस्तुमा केन्द्रित हुन्छु र सिर्जना गर्छु।

सफल स्रष्टाका आवश्यक गुण केके हुन्?

सफल स्रष्टाका निमित्त मेहनत र साधना मुख्य हुनुपर्छ। अरूले भन्दा फरक काम गर्नुपर्छ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ?

पछिल्लो समयलाई नियाल्दा आख्यान विधाका पाठक बढेको महसुस हुन्छ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?

अबको सिर्जना यथार्थपरक हुनुपर्छ। त्यसैले सजीवता नै बढी हुनुपर्छ।

लेख्नुपर्ने बाध्यता कतिबेला महसुस हुन्छ?

हाम्रा हेरेक कालखण्डको नेपाली इतिहास लोप भएका छन्। अन्तर्राष्ट्रिय साहित्यलाई हेर्ने हो भने हामी धेरै पछाडि छौँ। दुई सय चार वर्षसम्म राणाशासनको दमनले जनमानसमा शिक्षाको पहुँच थिएन। लेखिनुपर्ने धेरै कुरा लेखिएनन्। अबका पुस्ता सय वर्षअघिका घटनाक्रमदेखि अनभिज्ञ छन्। जब लेखिँदैन- इतिहास लोप हुन्छ। इतिहास जोगाउनलाई पनि लेख्नुपर्ने बाध्यता बोध हुन्छ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि?

आजको मानिस सन्तुष्टिको प्यासमा भौँतारिइरहेको छ। बाहिरी तडकभडक, पैसा खर्चिएर आनन्द र सन्तुष्टि लिन रानो हाराएको मौरीजस्तो भएको छ। कैयौँ मानिस डिप्रेसनको शिकार भएका छन्। लेख्नु आफ्नै लागि हो। लेखनमा जस्तो सन्तुष्टि र आनन्द कुनै भौतिक सुखसुविधामा छैन। लेखिरहनुहोस् समुद्रको मोती टिप्न सफल हुनुहोस्।

किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन्?

साहित्य अमृत हो- जुन ग्रहण गरेर प्रज्ञाको द्वार खोल्न सकिन्छ। स्रष्टा समग्र समाजलाई डोहोर्‍याउने मार्गदर्शक हो। स्रष्टाको आफ्नै पृथक् उचाइ छ। कुनै पनि स्रष्टा राजनीतिक दलको झन्डामुनि रहेर ओत लाग्नु भनेको सस्तो प्रचारमुखी हुनु वा दलको आडमा महत्त्वाकांक्षी हुनु हो। दलको झन्डामुनि रहेर लेखिएका साहित्यले सबै वर्ग, समाज र राष्ट्रलाई न्याय गर्न सक्दैन।

जितराज सापकोटासँग गरिएको कुराकानी

प्रकाशित: १० कार्तिक २०८१ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =