रवि–छवि अझै ७ दिन हिरासतमा, हप्तादिनदेखि अशान्त पोखरा

विजय नेपाल ८ कार्तिक २०८१ २०:३६
16
SHARES
रवि–छवि अझै ७ दिन हिरासतमा, हप्तादिनदेखि अशान्त पोखरा

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बिहीबार अदालतमा उपस्थित गराउने भएपछि अघिल्लो रातिदेखि पोखरामाभर सुरक्षा व्यवस्था कडा थियो।

कास्की जिल्ला अदालत परिसर सहिदचोक, राष्ट्र बैंकचोक, रत्नचोक, मुस्ताङचोक, ड्यामसाइड क्षेत्रमा सुरक्षाकर्मी तैनाथ भइसकेका थिए।

यसैक्रममा रविलाई अदालत लैजानुपूर्व कार्यालय समयअघि ९ बजे रास्वपाले पत्रकार सम्मेलन ग¥यो। पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा भएको पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी तथा सांसदहरु लहरै थिए। पत्रकार, सञ्चारकर्मी, यूट्युबरलगायत रास्वपा कार्यकर्ताको उपस्थितिले उत्तिकै भीडभाड थियो।

आफ्ना अध्यक्षलाई राजनीतिक प्रतिशोधका कारण फसाइएको दाबी गर्दै रास्वपाले आन्दोलन जारी राख्दै अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा ग¥यो। रास्वपा कार्यवाहकप्रवक्ता मनिष झाले बिहीबारको आन्दोलन पनि शान्तिपूर्ण हुने जनाए।

पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले आफूहरु सधैँ सहकारीपीडितकै पक्षमा रहेको दाबी गर्दै तत्कालीन प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहकारी समस्या समाधानका लागि प्रतिवेदन बुझाएको स्मरण गराए।

उनले रवि लामिछाने हिरासतबाट बाहिर निस्केपछि पनि संसद र सडकबाट आन्दोलन जारी राख्ने बताउँदै गर्दा १० बजिसकेको थियो। यसरी पत्रकार सम्मेलन सकिँदै गर्दा उता रविलाई प्रहरीले अदालत लगिसकेको खबर आयो। सबै जना उतै हुर्रिए।

पोखरा–७ रत्नचोकनजिक बाईचोकमा शान्तिपूर्ण आन्दोलन गर्ने पत्रकार सम्मेलनमार्फत जनाएको रास्वपाको आन्दोलन सुरु नहुँदै रविसहित छविलाल जोशी समेत अदालतको कठघरामा उभ्याइसकिएका थिए।

गएको आइतबारजस्तो अदालत परिसरमा आन्दोलन गर्न रोक्नलाई प्रहरीले बाक्लो सुरक्षा घेरा हालिसकेको थियो। त्यसो त, बिहीबार फेरि म्याद थप हुने र रास्वपा कार्यकर्ताको आक्रोशले सम्भावित क्षति हुन नदिन निषेधाज्ञालाई कडाइका साथ लागु गरिएको थियो। त्यस क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो। पैदल यात्रामा रहेका सर्वसाधारणलाई समेत हिँडडुलमा कडाइ गरिएको थियो। यसरी हेर्दा, २०६२/०६३ को जनआन्दोलनको झल्को दिएको महसुस हुन्थ्यो। राष्ट्र बैंकचोक, सहिदचोक लगायतका क्षेत्र पूरै खाली थियो।

राष्ट्र बैंकचोकभन्दा केही माथि बाईचोकमा रास्वपा कार्यकर्ताले पूर्वघोषित विरोध प्रदर्शनलाई बिहीबार फरक रुपमा प्रस्तुत गरे। उनीहरुमध्ये अधिकांशले टाउकोमा नीलो पट्टी बाँधेर ‘नीलो क्रान्ति’ को नाम दिँदै सडकमै थुचुक्क बसेर विरोध प्रदर्शन गरे। कतिपयले विभिन्न नाराअंकित प्ले कार्ड बोकेका थिए।

‘न्याय मार्न पाइँदैन’, ‘भ्रष्ट सरकार राजीनामा दे’ लगायतका नाराअंकित प्ले कार्ड बोकेका रास्वपा कार्यकर्ता कतिकतिबेला नाराबाजीमा पनि उत्रिन्थे। रास्वपाका उपसभापति डिपी अर्याल, सांसद डा. तोषिमा कार्की, केन्द्रीय सदस्य रमेश प्रसाईं बेलाबेलामा माइक समातेर आन्दोलन अब नरोकिने भन्दै तत्काल लामिछानेको रिहाइको माग गरिरहेका थिए।

रास्वपा कार्यकर्ताहरूकाे प्रदर्शन

धर्नामा बसेकाहरुलाई नआत्तिन भन्दै गाह्रो भए शीतलमा जान आग्रह गरिरहेको पनि माइकमा सुनिन्थ्यो। विरोध प्रदर्शनअन्तर्गत कतिपयले विभिन्न गीतसंगीतमा पनि नाचगान गरेका थिए।

उता, अदालतमा रविको विषयमा बहस पैरवी चलिरहेको खबर थियो। यत्तिकैमा दिउँसो साढे २ बजिसकेपछि एउटा खबर बाहिरियो, रविलाई ७ दिनको म्याद थपियो भन्ने।

जसबाट रास्वपा कार्यकर्ता तथा तिनका समर्थक झनै आक्रोशित बने। उनीहरु प्रहरीको सुरक्षा घेरा तोड्दै राष्ट्र बैंक चोकतर्फ लागे। त्यहाँ ठूलो संख्यामा खटिएका प्रहरीले भीड नियन्त्रण गर्न नसकेपछि राष्ट्र बैंक चोक क्षेत्रमा अश्रु ग्यास प्रहार गर्‍यो।

दुईपटकसम्म अश्रु ग्यास हानेपछि भीड तितरबितर भयो। रास्वपा कार्यकर्ताले सरकारको रवैयाविरुद्ध चर्को नाराबाजी गर्दै रविको तत्काल रिहाइको माग गरिरहे। नजिकैको मुस्ताङचोकमा सहकारीपीडित पनि थालमा ढुंगा राखेर छुट्टै आन्दोलन गरिरहेका थिए।

सहकारीपीडितहरूकाे धर्ना

‘जीबी राई कहाँ छ? रविलाई थाहा छ’ लगायतका नाराबाजी गर्दै उनीहरुले आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने मागसहित धर्ना दिइरहेका थिए। रविसँगसँगै छविलाई पनि म्याद थपिएको सूचनापछि उनीहरु भने केही शान्त बने।

अदालतको पछिल्लो आदेशले ६ दिनदेखि अशान्त बनेको पोखरा शुक्रबारदेखि भने केही शान्त हुने आकलन छ। किनकि रास्वपाले काठमाडौं केन्द्रित आन्दोलनका लागि माइतीघर मण्डलामा भेला हुन आह्वान गरेको छ भने पोखरामा शुक्रबार मानवअधिकार चोकमा शान्तिपूर्ण धर्ना हुनेछ।

रवि र छवि अझै ७ दिन हिरासतमा

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने र छविलाल जोशीलाई ७ दिन म्याद थप भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरुलाई उक्त मुद्दामा अनुसन्धानका लागि थप ७ दिन म्याद थप गरेको हो। सोही प्रकरणमा पक्राउ परेकी लीला पछाईलाई पनि ७ दिन नै म्याद थप भएको छ।

सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेसहित सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपीनराज तिवारी, अधिवक्ता बिबी विष्ट र युवराज पराजुलीले बहस गरेका थिए।

उनीहरुले थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए। अनुसन्धानमा विभिन्न सरकारी कार्यालय तथा बैंकहरुबाट कागजात माग गरिएकोमा तत्काल प्राप्त नभइसकेको र बयान प्रारम्भ भएकाले थुनामै राख्नुपर्ने माग गरेको अधिवक्ता युवराज पराजुलीले जनाए।

उता, रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय नारायण घिमिरे र हरिप्रसाद सुवेदी, अधिवक्ता नारायण कँडेल, सोविता गौतम, मधुकुमार चौलागाईं र पदमराज शर्माले बहस गरेका थिए। उनीहरुले रविले संसदीय विशेष छानबिन समितिसमक्ष पनि बयान दिएको स्मरण गराउँदै उनलाई पक्राउपछि फेला परेको नयाँ तथ्य पेस गर्न माग गरे।

उनीहरुले हालसम्म सार्वजनिक कागजात जम्मा गरेर फाइल बनाउने, विनाकारण पक्राउ गरी थुन्ने र दुई तीन वटामात्र प्रश्न सोधेर अल्झाउने गर्दा राजनीतिक प्रतिशोध देखिएको दाबी गरे।

रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आवश्यक नरहेको जिकिर उनीहरूको थियो। सोही क्रममा छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए।
गोर्खा मिडिया नेटवर्कमा पूर्व प्रबन्ध निर्देशकसमेत रहेका रविमाथि सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोप छ।

एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक पूर्व डिआईजी छविलाल जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेकोमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको थियो।

सोहीअनुरुप गत ६ असोजमा जोशी पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान सुरु भएको १ महिना पूरा भइसकेको छ। उनलाई रुपन्देहीस्थित जिल्ला सरकारी वकिलसमक्ष बयानपछि फेरि पोखरा ल्याइएको छ।

रवि भने गत शुक्रबार पक्राउ परेका हुन्। आइतबार लामिछानेलाई पक्राउ परेको दिनदेखि लागु हुने गरी ६ दिन म्याद थप भएको थियो। उक्त म्याद बुधबार सकिएको हो। यसरी दुवै जना अब तिहारसम्म हिरासतमै रहने सम्भावना छ। दोस्रापटक थपिएको म्याद सकिँदा त्यसको भोलिपल्ट १५ कात्तिकदेखि तिहार सुरु भइसक्छ। यही १५ देखि १९ गतेसम्म तिहारको बिदा परेकाले उनलाई २० कात्तिकमा मात्र अदालत फेरि उभ्याइनेछ।

अब काठमाडौंकेन्द्रित आन्दोलन 

रास्वपाले अब काठमाडौंकेन्द्रित आदोलन गर्ने भएको छ। पोखरामा पार्टी अध्यक्ष रवि लामिछानेको तत्काल रिहाइको माग गर्दै ५ दिनदेखि निरन्तर आन्दोलन चर्काइरहेको रास्वपाले अब आन्दोलन बृहत् गर्ने गरी काठमाडौंकेन्द्रित आन्दोलन गर्ने जनाएको हो।

बिहीबार पत्रकार सम्मेलनमा रास्वपा कार्यवाहकप्रवक्ता झाले कानून पनि कानूनसम्मत भइदिनुपर्ने र राजनीतिक प्रतिशोध हुन नहुने बताए। उनले आफूहरु सदनबाट आवाज उठाउनुपर्ने ठाउँमा रहेकोमा अहिले संसद् पनि बन्द रहेको विशेष समितिहरु पनि ‘पंगू’ भएकाले न्यायका लागि सडकमा ओर्लिएको बताए। काठमाडौं माइतीघर मण्डलामा हुने आन्दोलन भने शान्तिपूर्ण नै हुने उनले बताए।

उनले संसदीय विशेष छानबिन समितिको ११२० पृष्ठ लामो प्रतिवेदनमा ४० सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको बाहिरिएको स्मरण गराउँदै ८७ अर्बको कुरा नगर्ने, खाली १५ प्रतिशतमात्र गोर्खा मिडियाको स्वेट शेयर लिएका लामिछानेलाई मात्र थुन्न नमिल्ने बताए। ८७ अर्बमध्ये गोर्खा मिडियामा ६५ करोड गएकोमा तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछाने हुँदा २२ करोडमध्ये त्यसको १५ प्रतिशत मात्र स्वेट शेयर लिएको बताए। उनले भने, ‘हामी ८७ अर्बमै चर्चा गरौँनँ, सबैलाई समातौं।’

उनले राष्ट्रपतिको कानूनी सल्लाहकार बाबुराम कुँवरसमेत मुछिएको उल्लेख गर्दै उनलाई कारबाही नगरेको बताए।

पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध नै भएको कुरा प्रहरीको कार्यशैलीबाट अझ पुष्टि भएको दाबी गरे। उनका अनुसार लामिछानेलाई ५ दिनयता बल्ल ४/५ घण्टामात्र बयानमा उपस्थित गराइनुले राजनीतिक प्रतिशोध भएको पुष्टि भएको बताए।

उनले भने, ‘के रवि लामिछानेलाई दालभात खुवाउनमात्र ल्याएको हो, मानमर्दन गर्ने शैलीमा सरकार केन्द्रित भएको छ।’ उनले राज्यको ढिकुटी कसरी सक्ने भन्नेमै अहिलेको सत्तारुढ दल रहेको आरोप लगाए।

रास्वपाले सहकारी पीडितको समस्या समाधानका लागि जलेश्वरको केन्द्रीय समितिको बैठकको निर्णयबमोजिम प्रतिवेदन तयार पारी तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुुझाएको स्मरण गराए।

सय दिनमा अहिलेको सरकारले सहकारीपीडितको पक्षमा चुइँक्कसम्म नबोलेको खाली आफ्ना अध्यक्ष लामिछानेलाई मात्र समातेको बताए।

सांसद हरि ढकालले सहकारीको समस्या समाधानका लागि आफूहरुले तयार पारेर तत्कालीन सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनमा लागेको भए, अहिलेको अवस्था नआउने दाबी गरे। उनले अब सदनसँगै सडकबाट सहकारीको मुद्दा निरन्तर अगाडि बढाउने बताए।

पोखराको आन्दोलनका लागि रास्वपाले पूर्वदेखि सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट कार्यकर्ता उतारेको थियो। रविलाई म्याद थप गरिएको र काठमाडौं केन्द्रित आन्दोलन हुने भएपछि कतिपय कार्यकर्ता पोखराबाट फर्किन सुरु गरेका छन्।

रास्वपाले गत शनिबार बिहान लामिछानेलाई हिरासतमा राखेदेखि नै फरक–फरक ठाउँमा आन्दोलन चर्काइरहेको थियो। रास्वपाले आफूहरुलाई न्यायालयप्रति विश्वास रहेको पटक–पटक बताए पनि अनुसन्धान प्रभावित पार्ने गरी निरन्तरको विरोध प्रदर्शनले भने सर्वत्र टीकाटिप्पणी भइरहेको छ।

रुपन्देहीबाट पनि पक्राउ पूर्जी

रविलाई रुपन्देही जिल्ला अदालतले प्रहरीलाई पक्राउ पूर्जीको अनुमति दिएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा रविलाई १२ जनालाई पक्राउ पूर्जीको अनुमति दिइएको हो।

बिहीबार न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो। सुप्रिम सहकारीको तर्फबाट बचतकर्ता नारायणबहादुर पहराई समेतको जाहेरी उक्त सहकारी ठगी मुद्दामा रविसहित छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई विपक्षी बनाइएको छ।

उनीहरुविरुद्ध संगठितरुपमा सहकारी ठगी सम्बन्धी कसूरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) बमोजिम पक्राउ अनुमति दिइएको हो।

पक्राउ अनुमति दिइएकामध्ये रवि र छवि दुवै कास्की जिल्ला प्रहरी कार्यालयको न्यायीक हिरासतमा छन्।

प्रकाशित: ८ कार्तिक २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =