रवि पक्राउबारे भिन्नाभिन्नै वक्तव्य जारी गर्ने सत्तारुढ दलको निर्णय

हिमाल प्रेस ७ कार्तिक २०८१ १३:३७
62
SHARES
रवि पक्राउबारे भिन्नाभिन्नै वक्तव्य जारी गर्ने सत्तारुढ दलको निर्णय रवि लामिछाने : फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी राखेको विरोध प्रदर्शन र उक्त पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानका विषयमा सत्तारूढ दलहरूले भिन्नाभिन्नै वक्तव्य जारी गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो निष्कर्ष निकालिएको सहभागी एक नेताले जानकारी दिए।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मत तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराएका थिए। उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएको ती नेताले जानकारी दिए।

‘यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ’, ती नेताले भने।

बैठकले सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ।

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताएका थिए। उनले भनेका थिए, ‘हामी लोकतन्त्रका लागि लडेका हौँ। हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ। अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन। जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन लागि आजीवन लागेका छौँ। हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन। यसमा हामी स्पष्ट छौँ।’

बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सहभागी थिए।

प्रकाशित: ७ कार्तिक २०८१ १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =