सरकारको १०० दिन : ओलीले भने, रवि पक्राउ पर्नु पनि उपलब्धि हो

हिमाल प्रेस ७ कार्तिक २०८१ १३:१४
38
SHARES
सरकारको १०० दिन :  ओलीले भने,  रवि पक्राउ पर्नु पनि उपलब्धि हो प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलहरुको बैठकमा सहभागी नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत। तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय / रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १०० दिन पुगेको छ। अहिले देशका दुई ठूला दल (कांग्रेस-एमाले)को सरकार छ।

यो समयमा सरकारले पर्याप्त काम गर्न नसकेको चर्चा भइरहेको बेला सत्तारुढ दलकै बैठकमा भने सरकारबाट सकारात्मक प्रगति भएको दाबी भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री ओलीले सरकार सही दिशामा रहेको दाबी गरेको सहभागी एक नेताले जानकारी दिए।

उनले सरकार लोकतान्त्रिक मूल्यमान्यतामा अडिग रहेको बताएका थिए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकारले १०० दिनमा प्रगति देखाएको बताएको बालुवाटारमा सहभागी एक नेताले बताए।

ओलीले अर्थतन्त्र लयमा आउन थालेको, विपद्पछिको अवस्थामा सरकारले उल्लेख्य काम गरेको, सहकारी ठगीमा कारबाही सुरु भएको जस्ता विषय उठाउँदै सरकारको बचाउ गरेका थिए। ओलीले रवि लामिछाने पक्राउको घटनालाई उपलब्धिका रूपमा व्याख्या गरेको ती नेताले बताए।  उनले रविलाई पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भनेर भ्रम फैलाइएको भन्दै त्यसलाई चिर्न सत्तारुढ दलको एउटै धारणा हुनुपर्ने बताएका थिए।

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकार पूर्वाग्रही नभएको बरु संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन मात्र गरेको बताएका थिए। बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए।

‘रास्वपाको सडक दबाब अनुचित’

सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ ।

पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलका नेताहरुले न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्नेगरी विरोध प्रदर्शन नगर्न सचेत गराएको हो ।

बैठकले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने गरी भएको विरोध प्रदर्शन उचित नभएको निष्कर्ष निकालेको छ। कानुनी राज्यलाई कमजोर पर्ने र लोकतान्त्रिक मूल्य मान्यतालाई अवरोध गर्ने काम नगर्न बैठकले आग्रह गरेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए। उनले भने, ‘सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि छानविन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भीड जम्मा गरेर छानबिन र अदालतलाई समेत प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य हुँदैन।’

बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको महासचिव पोखरेलले बताए। सरकारमा रहेका राजनीतिक दलका तर्फबाट सरकारले गरेका काम र सामूहिक रूपमा कसरी अघि बढ्ने भन्ने बिषयमा सत्तारूढ दलको बैठक शुक्रबार बस्ने र आवश्यक निष्कर्ष निकाल्ने पोखरेलले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए।

संसदीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा संसदले दिएको निर्देशनअनुसार लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धानको काम भइरहेका बेला त्यसलाई प्रभावित पार्ने काम नैतिक हिसाaले पनि उचित नहुने भएकाले त्यसो नगर्न आफूहरुले सो पार्टीलाई आग्रह गरेको सत्तारुढ दलहरुले बताएका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =