खेतीकिसानी

तिहारमा चार लाखको माला बेच्दै सरस्वती

रमेश भारती ७ कार्तिक २०८१ २०:३३
26
SHARES
तिहारमा चार लाखको माला बेच्दै सरस्वती

काठमाडौँ– स्याङ्जा चापाकोट नगरपालिका-१ बेलडाँडाकी सरस्वती भण्डारी तिहारका लागि सयपत्री फूल टिप्ने तयारीमा छन्। तीन वर्षदेखि फूलखेती गर्दै आएकी सरस्वतीले यस वर्ष तीन हजार फूलका माला बिक्री गर्ने लक्ष्य लिएको बताइन्। उनले भनिन्, ‘फूलका माला स्थानीय बजार, वालिङ, बुटवल, पोखरा, काठमाडौँ व्यापार गर्ने योजना छ।’

आफ्नो खेतीबाट तिहारमा चार लाखभन्दा बढीको फूल व्यापार हुने उनको विश्वास छ। गत वर्ष तीन लाख रुपैयाँभन्दा बढीको फूलको माला व्यापार भएको बताइन्। सरस्वतीले भनिन्, ‘यस वर्ष तिहारका लागि तीन हजारभन्दा बढी माला तयार हुन्छन्। प्रतिमाला एक सय ६० रुपैयाँका दरले घरबाटै व्यापार गर्नेछ।’ उनले पहिलो वर्षमै राम्रो आम्दानी भएपछि हौसिएर फूल व्यवसाय बढाउँदै लगेकी हुन्। ‘राम्रै भइरहेको छ। अर्को वर्ष फूलखेती तीन गुणा बढाउने योजनामा छु’, उनले भनिन्।

सरस्वतीका अनुसार प्रायः कार्यक्रमसँगै घर, कार्यालय, मठमन्दिर, पार्कलगायतका ठाउँमा फूलको माग हुन्छ। फूलखेतीबाट थोरै लगानीमा व्यवसाय गर्न र राम्रो आम्दानी लिन सकिने उनी बताउँछिन्।

सरस्वतीले १० रोपनी जग्गामा सयपत्री फूलखेती गरेकी छिन्। तिहारमा सयपत्रीको माग बढी हुने भएकाले धेरै रोपेको उनले बताइन्। उनले भनिन्, ‘फूल उत्पादन, बजार र मुनाफा राम्रो हुने भएकाले व्यावसायिक खेतीमै लागेकी छु।’

सरस्वतीले यस वर्ष फूलखेतीका लागि ८० हजार जति खर्चिएकी छिन्। यस वर्ष समय र मौसमले साथ दिएका कारण फूल उत्पादन राम्रो भएको उनले बताइन्। ‘तीन हजार फूलका बिरुवा रोपेकी थिएँ। करिब चार हजार माला उत्पादन हुन्छ।मठमन्दिरमा चढाउनका लागि तीन सय केजीभन्दा बढी फूल पनि उत्पादन हुन्छ’, सरस्वतीले भनिन्।

पहिला फूलको बजार थिएन। अहिले त सजावटमा पनि सयपत्री फूलको प्रयोग बढेपछि माग धान्न मुस्किल भइरहेको सरस्वतीले जानकारी दिइन्। भदौमा रोपेको फूल पुससम्म बजारमा पठाउन सकिने उनको भनाइ छ।

पछिल्लो समय फूलको बजार फराकिलो हुँदै गएको सरस्वतीको बुझाइ छ। फूल मान्छेको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने भएका कारण पनि यस खेतीमा आफू आकर्षित बढेको उनी बताउँछिन्।

कृषिमा अरू व्यवसायभन्दा फूलखेती गर्दा छुट्टै आनन्द आउने सरस्वतीले बताइन्। तिहारलाई लक्षित गरेर बारी र आँगनको डिलसँगै करेसाबारीमा थोरै मात्रामा फूल रोप्ने चलन थियो। अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूल व्यावसायिक खेती थालिएको उनले जानकारी दिइन्।

परम्परागत र निर्वाहमुखी खेतीले केही नहुने भन्दै उनले व्यावसायिक रूपमा नयाँनयाँ खेती गर्न सरकारले तालिम दिनुपर्ने उनको माग छ। ‘थोरै भए पनि आधुनिक तरिकाले व्यावसायिक खेती गरौँ। सरकारले यति सीप सिकाइदिनुपर्छ। हामी अझै पनि निर्वाहमुखी खेती गर्दै आएका छौँ’, उनले भनिन्। सरस्वतीका दुई छोरा र पति पनि फूलसँगै तरकारी खेतीमा व्यस्त छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यसपटकको तिहारमा भारतबाट १५ लाख मात्र माला आयात गरिनेछ। तिहारमा ४० लाख फूलका मालाको माग हुन्छ। २५ लाखभन्दा बढी नेपालमै उत्पादन भएको मालाले धान्ने र १५ लाख मात्र भारतबाट माला आयात हुने एसोसिएसनले जनाएको छ। गत वर्ष तिहारमा ३५ लाख मालाको व्यापार भएको एसोसिएसनको तथ्यांक छ।

प्रकाशित: ७ कार्तिक २०८१ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =