रवि लामिछानेविरुद्ध फेरि म्याद थप होला?

विजय नेपाल ७ कार्तिक २०८१ ११:४७
122
SHARES
रवि लामिछानेविरुद्ध फेरि म्याद थप होला? रवि लामिछाने जिल्ला अदालत कास्कीअगाडि । फाइल तस्बिर

पोखरा- सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्। उनलाई गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।

गत आइतबार कास्की जिल्ला अदालतले मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीलाई ६ दिनको म्याद दिएको थियो। उक्त म्याद लामिछाने पक्राउ परेकै दिन शुक्रबारदेखि लागू हुँदा बुधबार (आज) सकिँदैछ। अब म्याद थप गर्ने/नगर्ने तथा जमानतमा रिहा गर्ने भन्नेबारे बिहीबार फेरि अदालतमा उपस्थित गराइनेछ।

आफ्ना सभापति पक्राउ विरोधमा पोखरामा ४ दिनदेखि रास्वपाले आन्दोलन चर्काइरहँदा उनको म्याद फेरि थप होला वा रिहा होलान् भन्ने संशय सबैमा उत्तिकै छ। जिल्ला प्रहरीले लामिछनेलाई पक्राउ परेकै दिनदेखि कुनै न कुनै रुपमा सोधपुछ गरिरहेको जनाएको छ।

अनुसन्धान अधिकारी डीएसपी वसन्तराज शर्माले अनुसन्धान कार्य जारी रहेको र बुधबार पहिलो म्याद सकिने बताए। डीएसपी शर्माले जिल्ला सरकारी वकिलसमक्ष लामिछानेको बयान लिने कार्य प्रारम्भ गरेको जानकारी दिए।

मंगलबार मुस्ताङचोकस्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेलाई बयानका लागि लगिएको थियो। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेसमक्ष लामिछानेको डेढ घण्टासम्म बयान लिइएको थियो। बुधबार पनि उनको बयान हुने काफ्लेले जनाइन्।

उनको म्याद थप होला ? भन्ने हिमालप्रेसको जिज्ञासामा उनले भनिन्, ‘बयान लिने कार्य बल्ल प्रारम्भ भएको छ। अनुसन्धान नै कम्प्लिट भएको छैन, थप्ने (म्याद) होला नि।’

यसअघि पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्व संचालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएपछि लामिछानेलाई पनि त्यता लगिने हल्ला व्यापक छ। यसबारे न्यायाधिवक्ता काफ्लेले प्रष्ट पारिन्, ‘यो उता (रुपन्देही) को विषय भयो। उताको सरकारी वकिलको कार्यालय तथा प्रहरीले बोलाएपछि रिलेटेड (सम्बन्धित) रैछ भने लैजाला नि।’

कास्कीका अनुसन्धान अधिकारी डीएसपी वसन्तराज शर्माले भने रुपन्देहीबाट अहिलेसम्म खबर नआएको प्रष्ट पारे।

यसैबीच, पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष लामिछाने पक्राउ विरोधमा आन्दोलन चर्काइरहेको रास्वपाले बुधबार पनि प्रदर्शनको तयारी गरेको छ।

बुधबार दिउँसो साढे १२ बजे पोखरा ८, सिर्जनाचोकमा विरोध प्रदर्शनमा सहभागी हुने सम्पूर्णलाई रास्वपाले सूचना जारी गरेको छ। रास्वपा कास्की अध्यक्ष योगराज पौडेलका अनुसार उक्त विरोध प्रदर्शन सिर्जनाचोकदेखि सुरु भई रत्नचोक, पुरानो एयरपोर्ट हुँदै बिरौटा, छोरेपाटनसम्म पुग्नेछ। त्यहाँबाट फर्किएर पुनः बिरौटामा आई कोणसभामा परिणत हुनेछ।

रास्वपाले लामिछानेको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ। लामिछाने पक्राउ परेसँगै उसले पोखराका फरक–फरक ठाउँमा विरोध प्रदर्शनलाई जारी राखेको छ। विरोध प्रदर्शनमा सहभागी हुने नेपालको पूर्वदेखि सुदूरपश्चिमका जिल्लाबाट पनि कार्यकर्ता पोखरा आएका छन्।

रवि पक्राउको विरोधमा कास्कीको पोखरामा भएको विरोध प्रदर्शन । तस्बिर- हिमालप्रेस

कोणसभालाई पार्टीका केन्द्रीय तहका नेताहरुले सम्बोधन गर्दै केपी ओली सरकारको रवैयाका कारण निर्दोषलाई फसाइएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका छन्। गोर्खा मिडिया नेटवर्कमा पूर्व प्रबन्ध निर्देशकसमेत लामिछानेमाथि सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोप छ।

सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेकोमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको थियो। सोहीअनुरुप गत ६ असोजमा जोशी पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान सुरु भएको १ महिना पनि पूरा भइसकेको छ।

यता, लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले गत शुक्रबार पक्राउ पूर्जीको आदेश दिएकोमा आइतबार न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको म्याद थप अनुमति दिएको हो।

यसैबीच, सहकारीपीडित संघर्ष समितिले पनि रास्वपा सभापति लामिछानेमाथि अनुसन्धान भइरहँदा त्यसलाई प्रभावित पार्ने गरी रास्वपाले गरेको विरोध प्रदर्शनप्रति आपत्ति जनाएको छ। संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति आपत्ति जनाएका हुन्। समितिले लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन बिहीबार नै पोखराको मुस्ताङचोकमा प्रदर्शन गर्ने तयारी गरेको छ।

लामिछानेको पक्राउसँगै विरोध हुन थालेपछि शान्तिसुरक्षामा खलल पुग्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि लागु हुने गरी पोखराको सहिदचोक (अदालत क्षेत्र) र गैह्रापाटन (प्रहरी कार्यालय क्षेत्र) आसपासमा अनिश्चितकालीन निषेधाज्ञा आदेश गरेको छ।

सहकारी ठगी प्रकरण : रविलाई रूपन्देही लैजान यस्तो छ तयारी

प्रकाशित: ७ कार्तिक २०८१ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =