श्रममन्त्री भण्डारीको सय दिन : श्रम सम्झौता, सीप तालिम र आन्तरिक रोजगारीमा केद्रित

हिमाल प्रेस ७ कार्तिक २०८१ १३:०६
34
SHARES
श्रममन्त्री भण्डारीको सय दिन : श्रम सम्झौता, सीप तालिम र आन्तरिक रोजगारीमा केद्रित

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको छ। यस अवधिमा उनले रोजगारदाता देशसँग श्रम सम्झौता, दक्ष जनशक्ति उत्पादनका लागि सीप तालिम र आन्तरिक रोजगार व्यवस्थापनमा जोड दिएका छन्।

श्रममन्त्री भण्डारीले दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्न पहल गरेका छन्। यसका लागि मस्यौदा पनि तयार गरी सम्बन्धित देश पठाइएको छ।

साथै रोमनिया, मौरिसस, जापान र जर्मनीसँग भएको श्रम सम्झौता कार्यान्वयनका लागि पहल भइरहेको भण्डारीले बताए। उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र क्षेत्रीय विमानस्थल, पोखराबाट श्रम स्वीकृतिलगायत सेवा प्रवाह गर्ने तयारी अन्तिम चरण्मा पुगेको छ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधि तयार भई स्वीकृतिको अन्तिम चरणमा पुगेको उनले बताए। ‘साउदी अरब र ओमानसँग चाँडै श्रम सम्झौता हुँदैछ। यसका लागि मिति तय गर्न मात्र बाँकी छ। अवैध रुपमा रोजगारदाता देशमा बसेका नेपालीलाई श्रम स्वीकृत नवीकरणको व्यवस्था गरिएको छ’, भण्डारीले भने।

वैदेशिक रोजगारीका सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भइरहेको दाबी मन्त्री भण्डारीको छ।

वैदेशिक रोजगार बोर्डको भूमिका र संरचनालगायत आप्रवासनका सबै चरणमा कल्याणकारी रूपमा काम भइरहेको मन्त्रालयले सार्वजनिक गरेको सय दिने प्रगतिमा उल्लेख छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई १० लाख क्षतिपूर्ति दिइने भएको छ।

मलेसिया, कतार र ओमानसँग श्रम सम्झौताको मस्यौदा टुंगो लगाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलाले जानकारी दिए। हङकङ, टर्की, लेबनान, कुवेत, स्पेन, पोर्चुगल र ब्रुनाईसँग श्रम सम्झौलाको मस्यौदा तयारी गर िप्रस्ताव पठाउन लागिएको छ। यी देशसँग श्रम सम्झौताका प्रस्ताव पठाई छलफल अघि बढाइने उनले बताए। ‘तीन देशसँग श्रम सम्झौताको मस्यौदालाई टुंगो लगाएको छ। सात देशसँग मस्यौदा आदानप्रदान गरिएको छ। हाल यी देशमा नेपाली कामदार गइरहेका छन्’, उनले भने।

आन्तरिक रोजगार प्रवर्द्धन दशक सञ्चालनको तयारीका लागि रणनीतिक योजनामा केन्द्रित काम भइरहेको सचिव निरौलाले बताए। यस वर्ष आन्तरिक रोजगारी सिर्जनामा विशेष काम हुने दाबी उनको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विपद् व्यवस्थापनमा परिचालन

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विपद् व्यवस्थापनसमेतमा परिचालन गर्न सकिने गरी कार्यविधिमा थप व्यवस्था गर्ने लागिएको श्रममन्त्रीको सयदिने प्रगतिमा उल्लेख छ। विपद् व्यवस्थापनमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिचालन गरेर यस वर्ष पाँच लाखभन्दा बढीलाई रोजगारी दिने गरी कार्यविधि बनाउने काम भइरहेको श्रममन्त्री भण्डारीले बताए।

‘श्रम मन्त्रालय आगामी दिनमा वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारी सिर्जनामा जोड दिनेछ। यसका लागि तीनै तहको सरकारले काम गर्ने गरी छलफल भइरहेको छ’, उनले भने।

चालु आर्थिक वर्षमा आन्तरिक श्रम बजारमा १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने गरी काम भइरहेको उनी बताउँछन्।

भण्डारीका अनुसार आन्तरिक श्रम बजारमै सामाजिक सुरक्षा, गुणस्तरीय रोजगार करारपत्र, तलब, सेवासुविधा, कार्यस्थलको स्वास्थ्य र सुरक्षा, उपचारमा समानता र महिला श्रमिकको संरक्षणका लागि विषेश व्यवस्थापन हुन्छ। साथै श्रमिकको न्यायोचित भर्ना अभ्यास, तालिम र अभिमुखीकरण, कामको अवस्था र श्रमिक विवाद समाधानलगायत विषयमा काम गर्ने योजना बनाइरहेको उनको भनाइ छ।

सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धिमूलक वैदेशिक रोजगारीसँगै यसको विकल्पमा सुरक्षित आन्तरिक श्रम बजार र सामाजिक सुरक्षा नीति अपनाइने श्रम मन्त्री भण्डारीले जानकारी दिए।

सामाजिक सुरक्षा कोषको पुनःसंरचना र कोषबाट प्रवाह हुने सेवा सुविधामा सुधार गरी सञ्चालन गर्न पूर्वसचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको छ।
कार्यदलले कोषमा जम्मा भएको रकम लगानी, वैदेशिक रोजगारीमा कार्यरत कामदारका हकमा दिने सुविधा र नीजि तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा ल्याउन आवश्यक योजना बनाउने श्रम मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =