दिल्लीबाट काठमाडौँ आएको भिस्ताराको जहाजमा बम राखेको हल्ला, जाँच गरिँदै

हिमाल प्रेस ६ कार्तिक २०८१ १८:२६
56
SHARES
दिल्लीबाट काठमाडौँ आएको भिस्ताराको जहाजमा बम राखेको हल्ला, जाँच गरिँदै त्रिभुवन विमानस्थल

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय विमान कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम भएको हल्ला फैलिएपछि अहिले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ।

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्ताराको उडान नम्बर यूके १५५ को जहाज अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गरिरहेको छ। त्यस्तै तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ। यात्रुलाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए। उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनै पनि शंकास्पद वस्तु फेला नपरेको जानकारी दिए।

उनका अनुसार अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ जाँच भइसकेको छ। लगेज र कार्गोको जाँच गरिनेछ। अहिले काठमाडौँ विमानस्थलको उडान-अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताए। ‘काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको छैन,’ उनले भने।

पछिल्लो समय भारतीय जहाजमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ।

प्रकाशित: ६ कार्तिक २०८१ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =