रुसका लागि नेपाली राजदूत चौहानलाई रुसी सदन र शैली थिएटरको अभिनन्दन

हिमाल प्रेस ६ कार्तिक २०८१ १६:४२
8
SHARES
रुसका लागि नेपाली राजदूत चौहानलाई रुसी सदन र शैली थिएटरको अभिनन्दन

काठमाडौँ- नेपाल सरकारबाट रुसका लागि नेपाली राजदूत प्रा. डा. जंगब चौहानलाई रुसी सदन र शैली थिएटरले संयुक्त रूपमा अभिनन्दन गरेको छ।

शैली थिएटरले रुसी सदन, कमलपोखरीमा आयोजना गरेको अभिनन्दन समारोहमा थिएटरका निर्देशक नवराज बुढाथोकी,  वरिष्ठ लेखक तथा साहित्यकार मोहन दुवाल, रुसी हाउसकी उपनिर्देशक श्रीमती अनुसलगायतले चौहानलाई सम्मान-पत्र, दोसल्ला र मालाले अभिनन्दन गरेका हुन्।

शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले रुसी कथा, कविता र नाटकको अनुवादबाट प्रा. डा‍‍. चौहानले नेपाली साहित्य रङ्गमञ्चमा पुर्‍याएको योगदानको स्मरण गरे। बुढाथोकीले शैलीले छिट्टै काभ्रेमा कला र नाटक अध्यापन केन्द्र स्थापना गर्ने घोषणा गर्दै प्रा. चौहानलाई नयाँ परियोजनाको पनि अभिभावकत्व लिइदिन आग्रह गरे।

समालोचक तथा अनुवादक महेश पौड्यालले प्रा. चौहानले शैक्षिक, साहित्यिक र पत्रकारिताका क्षेत्रमा पुर्‍याएको योगदानबारे प्रकाश पार्दै भने, ‘राजदूतका रूपमा एकजना साहित्यिक व्यक्तित्वको हुनुले दुई देशबीचको कूटनीतिक र व्यापारिक सम्बन्धका अतिरिक्त कला, साहित्य र संस्कृतिको आदानप्रदानबाट जनता-जनताबीचको सम्बन्ध अझ राम्रो हुने संकेत गर्दछ।’

राजदूत चौहानलाई रुसी सदनको तर्फबाट बधाई दिँदै सदनकी उपनिर्देशक अनुसले प्रा. डा. चौहानको कार्यकालमा नेपाल-रुस सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन्।

लेखक तथा साहित्यिक पत्रकार मोहन दुवालले आफू दशकौँदेखि प्रा. चौहानसँगको सामीप्यमा रहेको भन्दै रुसी भाषा, साहित्य र इतिहासको विज्ञताका आधारमा उहाँभन्दा राम्रो रुसका लागि नेपाली राजदूत अरू कोही नहुने बताए। उनले प्राध्यापक चौहानको सफल कार्यकालको कामना पनि गरे।

कला र साहित्य मानिस-मानिसबीचको बलियो पुल भएको बताउँदै राजदूत प्रा. डा. चौहानले आफ्नो कार्यकालमा यस्ता सम्बन्धलाई प्राथमिकतामा राख्ने बताए। आफूले आदर्श मानेका व्यक्तित्वहरूले अभिनन्दित गरेकोमा आफू ज्यादै हर्षित भएको भन्दै उनले आयोजकलाई धन्यवाद दिए। ‘अनुभवी लेखक, थिएटर व्यवसायी र पत्रकारहरूको उपस्थितिमा अभिनन्दित हुनु मेराे लागि अपार हर्षको विषय हो।’ उनले भने।

कार्यक्रममा प्रा. चौहनाद्वारा नेपालीमा अनुवाद गरिएका रुसी कवि अलेक्ज्याण्डर पुस्किन र फ्योडोर ट्युटचेभका कविताहरूको वाचन र नाट्य- प्रस्तुति पनि राखिएको थियो।

प्रकाशित: ६ कार्तिक २०८१ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =