नेसपा विधान अधिवेशन : पार्टीको नाम नयाँ शक्ति राख्न प्रतिनिधिको सुझाव

हिमाल प्रेस ६ कार्तिक २०८१ १२:३३
40
SHARES
नेसपा विधान अधिवेशन : पार्टीको नाम नयाँ शक्ति राख्न प्रतिनिधिको सुझाव

पोखरा- नेपाल समाजवादी पार्टी (नेसपा) प्रथम विधान अधिवेशनमा भाग लिएका प्रतिनिधिहरूले मुख्यतः पार्टीको नाम नयाँ शक्ति राख्न सुझाव दिएका छन्।

पोखराको सभागृहमा भएको अधिवेशनमा उनीहरूले नामसँगै झण्डा पनि परिवर्तन गर्न सुझाव दिएका हुन्। सोमबार प्रतिनिधिहरूलाई दश समूहमा छलफल गराएर विधान मस्यौदामाथि सुझाव माग गरिएको समूह ४ बाट निष्कर्ष सुनाउँदै प्रतिनिधि कृष्ण गौतमले भने, ‘पार्टीको नाम नयाँ शक्ति नै हुनुपर्ने सुझाव छ।’

यसअघि एक, दुई र तीन समुहको निष्कर्ष राखेका प्रतिनिधिले पनि पार्टीको नाम नयाँ शक्ति हुनुपर्ने सुझाव राखेका थिए। उनले पदाधिकारी, केन्द्रीय सदस्य संख्या कम गर्ने सुझाव दिँदै पार्टीका नेताहरू कसरी आत्मनिर्भर हुने र श्रमसँग कसरी जोड्ने त्यो कुरा विधानमा राख्नुपर्ने बताए।

समूह ४ कै प्रतिनिधि सुनिता काफ्लेले पार्टी पदाधिकारी ७ सदस्यीय हुनुपर्ने सुझाव दिँदै पार्टी अध्यक्ष संसदीय दलको नेता बन्न नपाउने, १४९ केन्द्रीय समितिमा ४० युवा ३३ महिला अनिवार्य हुनुपर्ने बताइन्। समूह ५ का नारायण लामिछाने नयाँ शक्ति नाम जनतामा स्थापित भएको बताउँदै विधानमा व्यवस्था गर्न सुझाव दिए। उनले भने, ‘यो नाम जनतामा स्थापित भैसकेको छ। जनताले अहिले पनि हामीलाई नयाँ शक्तिकै नेताका रूपमा चिन्छन्।’

ईश्वरी थापा थापाले भने पटकपटक पार्टीको नाम फरकफरक हुँदा जनतामा अन्योल भएको भन्दै कतिपय अवस्थामा आफूलाई पनि दुस्ख भएको बताइन्।

‘पार्टी, नाम परिवर्तन गर्दा गाउँगाउँमा जान गाह्रो भयो। तपाईंको पार्टीको नाम, झण्डा, के हो भन्नुहुन्छ। दु:ख भयो।पार्टीको नाम परिवर्तन गर्नुहुन्न।’ उनले भनिन्। विधानमा मधेशी र मुस्लिम एउटै क्याटगोरीमा रहेको जनाउँदै उनले छुट्टाछुट्टै बनाउनुपर्ने बताइन्।
६ नम्बर समूहको निष्कर्ष सुनाउँदै गजाघर सुनार पार्टीको नाम नेपाल समाजवादी पार्टी ‍(नयाँ शक्ति) राख्नुपर्ने भन्ने रहेको कार्यक्रममा सुनाए।

७ नम्बर समूहको निष्कर्ष परिवर्तन भट्टराईले सुनाए। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति),माथिल्लो पदमा जान पार्टीको वडामा निर्वाचित हुनैपर्ने, पार्टी पूर्ण रूपमा संगठनमा लागेर, संगठन बलियो बनाएर मात्रै निर्वाचनमा जानुपर्ने व्यवस्था विधानमा व्यवस्था हुनुपर्ने सुझाव आएको भट्टराईले बताए।

त्यस्तै पार्टीमा टिके प्रथाको अन्त्य, सामाजिक जीवन उच्च भएको व्यक्तिलाई पार्टीको नेता बनाउनुपर्ने, केन्द्रीय समिति सय जना हुने व्यवस्था गर्नुपर्ने पनि उनले बताए।पार्टीमा वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानमा देखिएकाले त्यसको पनि व्यवस्था गर्नुपर्ने सुझाव उक्त समूहको छ।

८ नम्बर समूहको निष्कर्ष सुनाउँदै भरत केसीले पुरानो मौलिक पहिचान बोकेको पार्टीको नाम नयाँ शक्ति हुनुपर्छ र हालको नेपाल समाजवादी पार्टी नेसपाले नयाँ शक्तिको भारबोक्न नसकेको निष्कर्ष सुनाए।

९ नम्बर समूहको निष्कर्ष सुनाउँदै राकेश मास्केले पार्टीको नाम परिवर्तन गरि नयाँ शक्ति राख्न सुझाव दिए। ‘अहिले त्यसमा जान टेक्निकल समस्या छ भन्ने सुनेको छु। नेतृत्वले सोचोस्। विधानमा व्यवस्था हुनुपर्छ भन्ने हाम्रो समुहको सुझाव छ।’ अन्त्यमा १० नम्बर समूहका प्रतिनिधि मीरा कुमारी मल्लले पनि पार्टीको नाम नयाँ शक्ति राख्न समुहका प्रतिनिधिबाट सुझाव आएको बताइन्। साथै उनले पार्टीमा महिलाको संख्या बढाउने गरि विधान संशोधन गर्न सुझाव दिइन्।

समूह १० कै प्रतिनिधि पिताम्बर महतोले विधान मस्यौदामाथि भएको समुहगत छलफलको निष्कर्ष सुनाउँदै भने, ‘पार्टीको नाम नयाँ शक्ति राख्दा उचित हुने सुझाव आएको छ।’ विधान अधिवेशनमा उपस्थित विष्णुराज खड्का, सुजन राजथला, कृष्ण महर्जनले पार्टीको नाम नयाँ शक्ति नै हुनेगरी विधानमा व्यवस्था गर्न सुझाव दिए।

उनीहरूको भनाइमा २०७३ जेठ ३० गते स्थापित नयाँ शक्तिकै रूप नेपाल समाजवादी पार्टी भए पनि वर्तमान सन्दर्भमा पार्टीको नाम नयाँ शक्ति राख्दा उचित हुनेछ। यसको व्यवस्था विधानमै हुनुपर्छ।

प्रकाशित: ६ कार्तिक २०८१ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =