भीड उतारेर अनुसन्धान प्रभावित गर्न खोज्दैछन् रवि

विजय नेपाल ५ कार्तिक २०८१ २०:३२
18
SHARES
भीड उतारेर अनुसन्धान प्रभावित गर्न खोज्दैछन् रवि

पोखरा – सहकारी ठगी प्रकरणमा पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पोखरामा निरन्तर विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरुले राजनीतिक प्रतिशोधका कारण अध्यक्ष लामिछानेलाई फसाउन खोजिएको दाबी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

पर्यटनको राजधानी पोखरामा यतिबेला ‘ओली सरकार राजीनामा दे, ओली चोर देश छोड, न्याय मार्न पाइँदैन, रवि दाइ हाईहाई’ लगायतका नाराबाजी घन्किरहेका छन्।

एकापट्टि पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष लामिछानेले सहकारी प्रकरणको अनुसन्धानमा आफूले सघाउने भन्दै सहजरुपमा गिरफ्तारी दिइरहेको बताइरहँदा अर्कोतर्फ रास्वपाको सिंगो केन्द्रीय नेतृत्व नै पोखरा आएर ‘न्याय मार्न पाइँदैन’ भन्दै अनुसन्धानसमेत प्रभावित पार्ने गरी विरोध प्रदर्शनमा उत्रिनु विरोधाभाष छ।

उनका समर्थक अनुसन्धान र अदालती प्रक्रियालाई सघाउनुको सट्टा भीडबाट न्याय प्रभावित पार्नतर्फ केन्द्रित छन्। खासमा, न्यायालय भीडबाट प्रभावित हुँदैन र हुनुहुँदैन पनि। तर, देशको चौंथो ठूलो जिम्मेवार दल रास्वपाले त्यसविपरीतको क्रियाकलाप गरेकोमा कतिपयले आलोचना गरेका छन्।

वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले कुनै पनि मुद्दाको अनुसन्धानलाई प्रभावित पार्ने काम कोहीकसैले गर्न नहुने बताउँछन्। उनले भने, ‘अदालतमा पुगिसकेपछि यति गलत नभए न्यायिक निरुपणबाट सफाइ पाउने सम्भावना उत्तिकै छ। गलत भए सजायको भागिदार हुन्छ। त्यसैले पक्राउको विषयलाई लिएर रास्वपा जत्तिको जिम्मेवार दल यसरी आन्दोलित हुनु जरुरी होइन।’

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा गत शुक्रबार लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी रारारात पोखरा ल्याइएको थियो। उनी यतिखेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। उनीमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आइतबार ६ दिनको म्याद थपेको छ। उक्त म्याद उनी पक्राउ परेको दिन शुक्रबारदेखि नै लागु हुनेछ।

सोमबारदेखि जिल्ला सरकारी वकिल न्यायाधिवक्ता कमला काफ्लेसमक्ष प्रहरीले बयान लिने काम सुरु भएको छ।

त्यसो त पक्राउ परेदेखि नै प्रहरीले कुनै न कुनै रुपमा अनुसन्धान गरिरहने सहायक जिल्ला न्यायायधिवक्ता विपीनराज तिवारीले बताए। अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर नगर्दासम्म प्रहरीले अनुसन्धान गरिरहने छ। यदि अब बुधबारसम्म अनुसन्धान कार्य नसकिए लामिछानेलाई फेरि म्याद थप हुन सक्छ। यद्यपि संगठित अपराध निवारणसम्बन्धी ऐनअनुसार ६० दिनभित्र प्रहरीले प्रतिवेदन बुझाएर सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरिसक्नुपर्ने हुन्छ।

यस्तै प्रकृतिको मुद्दामा गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडिआइजी छविलाल जोशी झण्डै एक महिनादेखि प्रहरी हिरासतमै छन्। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि पनि लागेको छ। प्रहरीले जोशीलाई ६ असोजमा काठमाडौँबाट पक्राउ गरेको थियो। काठमाडौँबाट पक्राउ परेर कास्की जिल्ला प्रहरी कार्यालय लगिएका उनलाई सोमबार रूपन्देही लगिएको छ।

सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले हवाई उडानमार्फत उनलाई गौतमबुद्ध विमानस्थल उतारिएको थियो। उनको बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जनाएको छ।

एकै प्रकृतिको मुद्दामा जोशीमाथि न्यायिक अनुसन्धान भइरहेकोमा लामिछानेलाई तत्काल रिहाइ गर्नुपर्ने भीडको माग जायज नभएको तर्क जिल्ला सरकारी वकिलले नै आइतबार अदालतमा प्रस्तुत गरेका थिए।

सोहीबमोजिम उनलाई जमानतमा नछाडी न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको म्याद थप अनुमतिको आदेश दिएको हो। सरकारी वकिलका साथै सहकारीपीडितका वकिलहरूले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति मागेका थिए।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा कार्यकारी निर्देशक रहँदा अपचलन गरेको आरोप छ।

तिहार नजिकिँदै गर्दा पोखरा यतिखेर अशान्त छ। निषेधित क्षेत्र तोड्दै लामिछानेका समर्थक आइतबार आन्दोलनमा उत्रिएका थिए। प्रहरीसँग पटकपटक धकेलाधकेल भएको थियो। पोखराको सहिदचोक क्षेत्र तनावग्रस्त बनेको थियो।

आन्दोलनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा तथा अश्रुग्यास नै प्रहार गर्नु परेको थियो। रविका समर्थकले रविलाई हिरासतमा राखेदेखि नै आन्दोलन गरिरहेका छन्। शनिबार मध्यरातमा गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरेका थिए भने शनिबार दिउँसो मानवअधिकारचोकमा विरोध सभा गरे।

विरोधसभालाई रास्वपाका केन्द्रीय तहका नेताहरुले सम्बोधन गरेका थिए। उक्त विरोधसभाका सहभागी चिप्लेढुंगा बीपीचोक हुँदै महेन्द्रपुलसम्म विरोध ¥यालीमा सहभागी भए। आइतबार पूर्वनिर्धारित कार्यक्रमबमोजिम मध्यान्ह सहिदचोक क्षेत्रमा विरोध प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बनेको थियो।

नजिकै राष्ट्र बैंकचोकमा सहकारीपीडितले आफ्नो बचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। सोमबार रास्वपाले पोखरा पृथ्वीचोकदेखि नयाँबजार, महेन्द्रपुलहुँदै विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनमा भाग लिन रास्वपाले प्रत्येक जिल्लामा कम्तीमा १ सय जना कार्यकर्ता उतार्न उर्दी जारी गरेको छ।

रास्वपाका नेताहरुले सरकारप्रति विश्वास नभए पनि अदालतप्रति अझै विश्वास रहेको बताउने गरेका छन्। सभापति लामिछानेले आफूलाई अदालतप्रति पूर्ण रुपमा विश्वास रहेको बताएका छन्।

अदालत हाताभित्रै आइतबार पत्रकारसँग बोल्दै उनले आफूले अनुसन्धानलाई सघाउन आएको र न्याय दिनेमा एकदमै विश्वास रहेको बताए। उनले ओली सरकार रहेसम्म जनताले दुःख पाउने भन्दै घरघरबाट आन्दोलनमा उत्रिनुपर्ने पनि अपील गरे।

अर्थशास्त्रीसमेत रहेका पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले यो देशमा अदालत छ, त्यसले न्याय दिन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन्। तर, निर्दोष व्यक्ति फसाउने षड्यन्त्रमा सरकार लागेकोले सडकमा आएर दबाब दिन उनले सम्पूर्णमा अपील गरेको बताए।

प्रकाशित: ५ कार्तिक २०८१ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =