पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री

हिमाल प्रेस ४ कार्तिक २०८१ २१:२९
6
SHARES
पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री पर्यटनमन्त्री बद्री पाण्डे । फाइल तस्बिर

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको बताएका छन्।

मिश्रप्रति अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट पुगेका मन्त्री पाण्डेले व्यवसायी मिश्रले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहिरहने बताए।

‘करिब पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न नेपालका वरिष्ठ पर्यटन व्यवसायी मिश्रको निधन भएको खबरले म मर्माहत भएको छु,’ मन्त्री पाण्डेले भने, ‘उहाँले नेपाल पर्यटन बोर्ड स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। साथै नेपालको पर्यटकीयस्थलहरुलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन उहाँको महत्वपूर्ण योगदान रहेको छ।’

मन्त्री पाण्डेले मिश्रको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। पर्यटन व्यवसायी मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको थियो। मिश्र केही दिनअघि डेङ्गु लागेर नर्भिक अस्पताल भर्ना भएका थिए।

मिश्रलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, विभिन्न राजनीतिक दलका नेता, पर्यटन व्यवसायीलगायत आर्यघाट पुगेका थिए। मुलुकको पर्यटन विकासको क्षेत्रमा ‘टेम्पल टाइगर ग्रुप’का अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान दिएका थिए। मिश्रका श्रीमती र एक छोरा छन्।

प्रकाशित: ४ कार्तिक २०८१ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =