हर्क साम्पाङले कार्यवाहक मेयर तोकेका वडाध्यक्षलाई काम नगर्न उच्च अदालतको अल्पकालीन आदेश

हिमाल प्रेस ४ कार्तिक २०८१ १८:४६
28
SHARES
हर्क साम्पाङले कार्यवाहक मेयर तोकेका वडाध्यक्षलाई काम नगर्न उच्च अदालतको अल्पकालीन आदेश

इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कानुन मिचेर वडाध्यक्षलाई कार्यवाहक मेयर तोकेको विषयमा उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ। साम्पाङले आफू बेलायत भ्रमणमा जाने भएपछि वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। तर उच्च अदालत विराटनगरले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ।

उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो। न्यायाधीश ध्रुवराज नन्दको इजलासले मेयर साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो।

मेयर साम्पाङले उपमेयर कार्यकक्षमा रहँदारहँदै वडाध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए। अदालतले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को कार्य विभाजनसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२) ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१/६/२३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको’ उल्लेख छ।

प्रकाशित: ४ कार्तिक २०८१ १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =