रविलाई ६ दिन हिरासतमा राख्न अनुमति, पाेखरा दिनभर तनावग्रस्त

हिमाल प्रेस ४ कार्तिक २०८१ १७:३३
34
SHARES
रविलाई ६ दिन हिरासतमा राख्न अनुमति, पाेखरा दिनभर तनावग्रस्त

पोखरा – सहकारी बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दा अनुसन्धानका लागि गत शुक्रबारदेखि लागु हुने गरी ६ दिनको म्याद थप भएको हाे।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो। योसँगै पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने अझै ३ दिन न्यायिक हिरासतमा रहने भएका छन्।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपीनराज तिवारी र सहकारीपीडितको तर्फबाट वेदबहादुर विष्ट (बिबि विष्ट) ले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए। लामिछानेको तर्फबाट भने वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण घिमिरेले बहस गरेका थिए।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा कार्यकारी निर्देशक रहँदा अपचलन गरेको आरोप छ। उनलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका गर्न कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ पूर्जीको अनुमति लिएसँगै सिआईबी सहयोगमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो।

शनिबार सार्वजनिक बिदा परेकाले आइतबारमात्र अदालतमा उपस्थित गराइएको थियो। सहिदचोक क्षेत्रमा प्रदर्शनकारीको आन्दोलनका कारण रवि लामिछानेलाई सिधा बाटो नलगी लेकसाइड घुमाएर अदालतमा उपस्थित गराइएको थियो। उनलाई अदालतमा उपस्थित गराइने दिन आइतबार मध्यान्ह रास्वपाका कार्यकर्ताले छुट्टाछुट्टै विरोध प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले अदालत परिसर सहिदचोक र जिल्ला प्रहरी कार्यालय परिसर गैह्रापाटन क्षेत्र आसपासमा अनिश्चितकालका लागि निषेधाज्ञा घोषणा गरेको छ।

प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीले आदेश जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झपडा आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्तिसुरक्षा भंग हुन सक्ने भन्दै दिउँसो ११ बजेर ४५ मिनेटदेखि लागु हुने गरी उक्त घोषणा गरेका हुन्।

यद्यपि, पूर्वनिर्धारित विरोध प्रदर्शनको कार्यक्रम तय गरेका रास्वपा कार्यकर्ताले भने निषेधित क्षेत्र तोड्दै दिनभरजसो प्रदर्शन गरे। अर्कोतर्फ राष्ट्र बैंक चोक क्षेत्रमा सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गरे। सहिदचोकमा धेरै पटकसम्म प्रहरी र रास्वपा कार्यकर्ताबीच धकेलाधकेल भयो।

प्रहरीले प्रदर्शनकारीको आन्दोलन दबाउन पानीको फोहोरा हानेको थियो। त्यस्तै, एकपल्ट अश्रुग्यास हानेको थियो। अझै पनि प्रदर्शनकारी पछाडि नहटिसकेपछि अर्कोपल्ट पनि पानीको ट्यांकर भरेर ल्याएको प्रहरीको गाडीलाई प्रदर्शनकारीले फिर्ता पठाइदिएका थिए।

विरोध प्रदर्शनमा उत्रिएकी एक महिलालाई पक्राउ गरी वडा प्रहरी कार्यालय, बैदाम लगिएको छ। प्रदर्शनकारीले ‘ओली सरकार राजीनामा दे, रवि दाइ हाइहाइ, अन्याय गर्न पाइँदैन’ लगायतका नाराबाजी गर्दै तत्काल रविको रिहाइको माग गरेका थिए।

प्रदर्शनका कारण राष्ट्र बैंक चोक, सहिद चोक, बैदाम, रत्नचोक लगायतको क्षेत्र तनावग्रस्त बनेको थियो। कतिपयले प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा पनि प्रहार गरेका थिए। राजनीतिक प्रतिशोधका कारण पार्टी अध्यक्ष लामिछानेलाई पक्राउ गरिएको रास्वपाका केन्द्रीयस्तरका नेताहरुले बताएका छन्।

पार्टी उपसभापतिहरु डा. स्वर्णीम वाग्ले र डीपी अर्याल, नेताहरु सुमना श्रेष्ठ, शिशिर खनाल, रमेश प्रसाईंले केपी ओली सरकारले राजनीतिक प्रतिशोधका कारण झुठा मुद्दामा फसाएको संचारकर्मीलाई प्रतिक्रिया दिएका छन्।

यता, सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफूहरुको बचत रकम तत्काल फिर्ताको माग गरे। सहकारीपीडितले राष्ट्र बैंक चोक क्षेत्रमा दिनभरजसो नाराबाजी गर्दै आन्दोलन गरेका थिए। रास्वपाका कार्यकर्ताको तुलनामा उनीहरुको आन्दोलन शान्तिपूर्ण थियो।

जिल्ला प्रशासन कार्यालयले पोखरा ७ सहिदचोक आसपास क्षेत्रको पूर्वतर्फ वाईचोक, पश्चिममा बैदामको फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड क्षेत्रलाई निषेधित क्षेत्रको आदेश जारी गरेको छ।

यस्तै, पोखरा ४, गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा पालिखचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन। प्रहरीले त्यस क्षेत्रमा सुरक्षा घेरा हालेर सुरक्षा व्यवस्था कडा पारेको छ।

घरघरबाट यो सरकारको विरोध गर्न रविको अपील

रास्वपा सभापति रवि लामिछानेले घरघरबाट यो सरकारको विरोध गर्न अपील गरेका छन्। आइतबार अदालतमा उपस्थित गराउने क्रममा संचारकर्मीसँग लामिछानेले सो प्रतिक्रिया दिएका हुन्।

‘अधिनायकवादी सरकारका विरुद्ध यही बेला देशैभरिबाट आफ्नो लागि हैन, देशका लागि जो जो जहाँ हुनुहुन्छ, बाहिर निस्कन आउनुपर्ने हुनसक्छ। त्यसका लागि तयार हुनुहोस्। यो सरकार रहेसम्म यही हर्कत भइरहन्छ। झुठा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ। यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रही रहेसम्म यस्ता कार्य भइरहन्छन्,’ उनले भने, ‘सहकारी पीडितहरु आफ्नो पार्टीभित्र पारेर, भ्रष्टाचारको जगमा उभिएर, झुठा मुद्दा लगाइएको छ। मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो। मलाई विश्वास छ, अदालतले न्याय दिन्छ। म एकदमै विश्वास गरेर न्यायिक प्रक्रियामा सघाउन आएको छु। तर यिनीहरुको वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र निर्दोषलाई फसाउने खेल अन्त्य हुनुपर्छ।’

प्रकाशित: ४ कार्तिक २०८१ १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =