ओलीले गरे चिनियाँ नेतासँग सहयोगको अपेक्षा

हिमाल प्रेस ४ कार्तिक २०८१ १३:४७
12
SHARES
ओलीले गरे चिनियाँ नेतासँग सहयोगको अपेक्षा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार बालुवाटारमा भेट गर्दै नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवम् सिङ्हाई प्रान्तका सेक्रेटरी छेन् गाङ। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवम् सिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार-सरकार, जनता-जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

चिनियाँ नेता छेन्‌ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपाल भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सधैँ साथ रहने स्पष्ट पारे। उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =