पोखरामा निषेध आदेश

हिमाल प्रेस ४ कार्तिक २०८१ १२:२७ | Sunday, October 20, 2024
पोखरामा निषेध आदेश

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन गर्ने तयारी गरेपछि पोखरामा प्रशासनले निषेध आदेश जारी गरेको छ। पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले जानकारी दिएका छन्।

आइतबार ११ः४५ देखि अर्को आदेश नहुन्जेलसम्मका लागि निषेध आदेश जारी गरिएको पाण्डेले जारी गरेको आदेशमा उल्लेख छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने जिल्ला प्रहरी कास्कीको हिरासतमा छन्। उनलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारीबीच रास्वपा नेता र कार्यकर्ताको भीडले आवागमनमा समस्या भएको छ। साथै सहकारी पीडितले पनि प्रदर्शन जारी गरेका छन्।

सहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिम तर्फ फिस्टेल गेट (बैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ चोक र दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि सम्म निषेध आदेश जारी गरिएको छ।

प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्तिसुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी निषेध आदेश जारी गरिएको पाण्डेले जनाएका छन्।

उनले जारी गरेको आदेशमा उल्लेख छ, ‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।’

प्रकाशित: ४ कार्तिक २०८१ १२:२७ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast