सामाजिक सुरक्षा कोषको नयाँ योजना : पतिपत्नी र सन्तानको उपचार खर्च पनि बेहोर्ने

हिमाल प्रेस ४ कार्तिक २०८१ १२:१७
18
SHARES
सामाजिक सुरक्षा कोषको नयाँ योजना : पतिपत्नी र सन्तानको उपचार खर्च पनि बेहोर्ने

काठमाडौँ- सामाजिक सुरक्षा कोषले योगदानकर्ताका आश्रित परिवारको उपचार खर्च बेहोर्ने भएको छ। औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत यस्तो सुविधा थपिएको कोषले जनाएको छ। आश्रित परिवारमा श्रीमान्/श्रीमती तथा छोराछोरी समेटिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए।

कोषले वार्षिक एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च बेहोर्छ। उपचारमा लागेको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत योगदानकर्ताले खर्च गर्नुपर्ने उनले बताए। ‘छोराछोरीको हकमा आश्रित उपचार सुविधा १८ वर्षसम्मकाले पाउनेछन्। श्रीमतीका हकमा भने दोस्रो विवाह नगरेसम्म आश्रित सुविधा पाउँछन्’, उनले भने।

पछिल्लो समय कोषले योगदानकर्तालाई आश्रित सुविधान थपेको हो। योसँग आश्रित परिवारलाई शिक्षा र रोजगारीको सुविधा थप्न लागिएको उनको भनाइ छ।

कोषले गत वर्षदेखि नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी चारवटा सुविधा सञ्चालनमा ल्याएको थियो। यी चारवटा सापटी योजनाअन्तर्गत विशेष सापटी सेवा लिनेको संख्या धेरै भएको कोषले जनाएको छ। कोषबाट तीन लाखभन्दा बढी योगदानकर्ताले सापटी योजनाअन्तर्गत विशेष सापटी सेवा लिएका छन्।

योगदानकर्ताको आकर्षण बढाउन कोषले केही थप योजना मंसिरमा ल्याउन तयारी गरिरहेको प्रवक्ता पन्थीले जानकारी दिए। कोषलाई श्रमिकहरूको सुरक्षित कोष बनाउने गरी योजना बनाइरहेको उनको भनाइ छ।

१७ लाख श्रमिक कोषमा जोडिए

कोषमा ६६ अर्ब ४२ करोड योगदान रकम संकलन भएको भएको छ। उक्त रकममध्ये १० अर्ब ९९ करोड रुपैयाँ बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको कोषले जनाएको छ।

कोषमा हालसम्म १९ हजार ६६८ रोजगारदाता प्रतिष्ठान सूचीकृत भइसकेका छन्। सूचीकृत हुने श्रमिकको संख्या १६ लाख ९३ हजार ४ सय पुगेको कोषको तथ्यांकमा छ। तीमध्ये वैदेशिक रोजगारीमा गएका सात लाख श्रमिक कोषमा जोडिएका छन्।

आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र योगदानकर्ताका तर्फबाट ११ प्रतिशत रकम कोषमा जम्मा हुने गरेको छ। कोषमा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम जम्मा गर्नुपर्ने नियम छ।

प्रकाशित: ४ कार्तिक २०८१ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =