दहीचिउरा र खिरले दिएको खुसी

रमा केसी ४ कार्तिक २०८१ २१:३५
36
SHARES
दहीचिउरा र खिरले दिएको खुसी आफ्नो पसलमा लीलादेवी देवकोटा। तस्बिर : रमा केसी

सुर्खेत- लीलादेवी देवकोटा र हेमप्रसाद देवकोटा सात सन्तानका बाबुआमा हुन्। कुनै बेला देवकोटा दम्पतीलाई छोराछोरीको लालनपालनमा निकै समस्या थियो। साथै उनीहरूलाई कसरी पढाउने भन्ने अर्को चिन्ता। अहिले उनीहरू दुवै समस्याबाट मुक्त भएका छन्।

२०६१ सालतिरको कुरा हो। मुलुकमा सशस्त्र द्वन्द्व चर्किएको थियो। उनीहरूले वीरेन्द्रनगरमा चियापसल चलाएर जीवन निर्वाह गर्न थाले। २०६२/६३ पछि देशमा शान्ति कायम भयो। अनि देवकोटा दम्पतीले आफ्नै जग्गामा पसल स्थानान्तरण गरे। वीरेन्द्रनगर–८ कटकुवामा एउटा झुपडी बनाए। चिया, खिर र दहीचिउरा बेच्न थाले।

त्यसयता आर्थिक रूपमा अघि बढ्न थालेका उनीहरू अहिलेसम्म पछाडि फर्कनुपरेको छैन। छोराछोरी सबैले पढ्न पाए। कोही त जागिरे पनि भइसके। चियापसलको लोकप्रियता झन् बढ्दो छ। यति बेला आफूलाई निकै खुसी मिलेको लीलादेवी बताउँछिन्। उनी भन्छिन्, ‘यो पेसामा खुसी र पारिवारिक सुखका साथ रमाइलो गर्दै बिताइरहेकी छु।’

दैलेख सडकखण्डको छेडानजिक पर्ने यो पसल चिया, दहीचिउरा र खिरका लागि प्रसिद्ध छ। पर्यटकीय स्थल पनि भएकाले यहाँ मानिसको चहलपहल हुन्छ। वीरेन्द्रनगरबाट करिब सात किमि उत्तरमा वीरेन्द्रनगर नगरपालिका–८ मा पर्ने कटकुवा हुँदै यात्रा गर्ने जोकोही पनि उनको पसलमा खिर र दहीचिउरा खान्छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुख्यमन्त्री यामलाल कँडेलसहित प्रदेश राजधानीका उच्च सरकारी तथा गैरसरकारी संस्थाका ठूला पदाधिकारीले आफ्नो चिया पसलमा खाजा खाएको लीलादेवी बताउँछिन्।

गाडीमा जाने हुन् या पैदल हिँड्ने यात्री सो ठाउँमा बसेर खिर र दहीचिउरा खाएर थकान मेट्ने गर्छन्। देवकोटाले यहाँको खिर र दहीचिउरा स्थानीय उत्पादन रहेको बताइन्। खिरका लागि ल्याइने दूध, चामल, दही आफ्नो घर गढीबाटै ल्याउने गरेको देवकोटा बताउँछिन्। उनी भन्छिन्, ‘हिउँदमा दूध, चिया र खिर अत्यधिक खपत हुन्छ।’ ग्राहक पनि दहीचिउरा र खिरमा कुनै मिसावट नहुने बताउँछन्। नजिकै रहेको वीरेन्द्रनगर–१४ गढी पशुपालनको पकेट क्षेत्र हो ।

खिर र दहीचिउरा बेचेर कमाएको पैसाले सात सन्तानको पढाइ खर्च धानिएको उनले बताइन्। साथै उनीहरूले गढीमा दुईवटा घर र वीरेन्द्रनगरमा घडेरी खरिद गरेका छन्।
लीलादेवी भन्छिन्, ‘दैनिक २० देखि २५ लिटर दूध खपत हुन्छ। चिया, खिर र दहीचिउरा बेचेर कुनै बेला दैनिक १८ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो।’ अहिले भने घटेर दैनिक १० हजारको व्यापार हुने गरेको छ। त्यस क्षेत्रमा अन्य होटल खुल्न थालेपछि व्यापार घट्दै गएको उनले बताइन्।

लीलालाई पति हेमप्रसाद देवकोटाले भरपूर साथ दिएका छन्। कटकुवाको दहीचिउरा र खिर सबैले एकपटक खानुपर्छ भन्ने सुन्दा खुसी लागेको लीलादेवी बताउँछिन्।
हेमप्रसादले सडक किनारमा बसेर दहीचिउरा र खिरबाट सबै खर्च कटाएर मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको बताए।

भारतीय पर्यटकले पनि आफ्नो पसलमा दहीचिउरा र खिर खाने गरेको उनले जानकारी दिए। कटकुवामा सार्वजनिक बिदाको दिन निकै भीडभाड हुन्छ। रारा घुम्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक वीरेन्द्रनगरबाट कटकुवा हुँदै अघि बढ्छन्। अधिकांशले यहाँको खिर र दही चिउरा खाने गरेको हेमप्रसादले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =