चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले भेट्यो प्रधानमन्त्री

हिमाल प्रेस ४ कार्तिक २०८१ ११:४२
6
SHARES
चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले भेट्यो प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए। प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराए।

चिनियाँ नेता छेनले आफू महासचिव चिङफिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने स्पष्ट गरेको प्रधानमन्त्रीको सचिवालयले दाबी गर्‍यो।

उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए।

प्रकाशित: ४ कार्तिक २०८१ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =