काठमाडौँ– बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
‘हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ भएको सफाइमा पूर्वमन्त्री अग्नि खरेललगायतका अभियानकर्मीको सक्रियता थियो। विसं २०६० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार दुई घण्टा नदी किनारमा गर्ने गरिएको छ।
त्यस क्रममा आज तीनकुनेस्थित पुलमुनिको पाँच सय मिटर तलसम्म सफाइ गरिएको अभियानकर्मी डा. माला खरेलले जानकारी दिइन्। आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ।
सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको निरन्तर चलिरहेको छ। यो महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी पनि सफाइ भइरहेको छ। यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ भइरहेको छ। महाअभिायनबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ।