पक्राउपछि रविलाई पोखरा पुर्‍याइयो, आइतबारदेखि अनुसन्धान

हिमाल प्रेस ३ कार्तिक २०८१ ६:३५
20
SHARES
पक्राउपछि रविलाई पोखरा पुर्‍याइयो, आइतबारदेखि अनुसन्धान

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्‍याएको छ। प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर रातारात पोखरा पुर्‍याएको हो।

राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्‍याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि समेत रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो। लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ।

आज शनिबार अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो। लामिछानेलाई ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि शुक्रबार अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो। सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

प्रकाशित: ३ कार्तिक २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =