करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

हिमाल प्रेस २ कार्तिक २०८१ १५:५१
10
SHARES
करेन्ट लागेर एकको मृत्यु, दुई घाइते प्रतीकात्मक तस्बिर।

महोत्तरी– महोत्तरीको गौशालानगरपालिका– ३ पचाईन टोलमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई किशोरी घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए।

शुक्रबार बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरुलाई करेन्ट लागेको थियो। स्थानीय विनोद महतोले जंगली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको विजलीको नाङ्गो तारबाट उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करिनाको घटनास्थलमै मृत्यु भएको हो ।

बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन्। उनीहरु दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ। हाल उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कबिहीन छन्। मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ। घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =