खोटो निकाल्दा मासिन थाले सल्लाका रूख

विवेक विवश रेग्मी २ कार्तिक २०८१ ८:१०
294
SHARES
खोटो निकाल्दा मासिन थाले सल्लाका रूख खोटाङको  खोटेहाङ-७ स्थित जंगलमा सल्लाका रूखबाट खोटो निकालिँदै। खोटो निकालिसकेपछि कतिपय रूखहरू मर्न थालेका छन्। तस्बिरहरू : विवेक विवश रेग्मी

इटहरी- खोला सुसाउँदा बतासको संगीतले एकअर्का बिरुवामा झुम्मिन्छन्, रूखहरू। तिनै रूखबाट आउँछ मिठो धून। बतासकै गीतमा नाचिरहन्छन्, विभिन्न प्रजातिका रूखमा बाँदरहरू। यो केही वर्षपहिलेको कुरा हो।

अहिले भने खोला सुसाउँदा रूखहरू एकअर्कामा झुम्मिन खोज्छन्, तर स्पर्श गर्दैनन्। स्पर्श नगर्नुको कारण भनेको रूख मासिँदै जानु हो। बाँदरहरू भेटिन्छन् जंगलैभरि मान्छेहरू रित्तिँद गएका छन्।

यो गाउँको यथार्थ हो। गाउँ आफैँमा एउटा जीवन पनि हो। त्यही जीवनको गीत बाँच्न सिकाउने गाउँ आज रित्तिँदै जानु स्वाभाविक भइसके पनि जंगल पनि मासिँदै जान थालेको छ।

खोटाङको खोटेहाङ गाउँपालिकाका विभिन्न सामुदायिक वनमा रहेका सल्लाका रूख मासिँदै जान थालेका छन्। सल्लाबाट खोटो निकाल्दा ती रूखहरू मासिँदै गएको जानकारहरू बताउँछन्।

खोटेहाङ ७ पुरानागाउँ निवासी अनुप ढकाल भन्छन्, ‘खोटो निकालेपछि सल्लाका रूख मरे। अहिले जंगलमा सल्लाका बोट पातलिँदै गएको छ।’ उनका अनुसार खोटो निकालेको सल्लाबाट बिरुवा उत्पादन हुँदैन। त्यसैले यहाँका विभिन्न सामुदायिक वन तथा निजी वनमा समेत बिरुवा उम्रिने क्रम शून्यजस्तै छ। ‘नयाँ बिरूवा उत्पादन नहुने र पुराना रूखहरू मर्दै गएपछि जंगल पातलिँदै गएको छ,’ उनी भन्छन्, ‘खोटो निकालेपछि हिउँदको समयमा आगलागीबाट ती रूखहरूले छिटो आगो टिप्छन्। अहिले त सल्लाका रूखमा धुकधुकी मात्रै छ भन्दा फरक पर्दैन।’

चैत-वैशाखमा हुने आगलागीबाट सल्लाका रूखमा छिटो टिप्ने र आगलागीका कारणसमेत वन, जंगल मासिँदै गएकोमा उनको चिन्ता छ। ‘सामुदायिक वनले सल्लाबाट खोटो निकाल्न अनुमति दिए। खोटो निकालेपछि आगलागी र डढेलोबाट रूख मर्‍यो,’ उनले भने, ‘जुन वनमा सल्लामात्रै छ। त्यो जंगल मासिने क्रम ज्यादा छ।’

खोटेहाङ ७ नं. वडामा मात्रै तीनवटा सामुदायिक वन छन्। मड्केना सामुदायिक वन, चैनपुर सामुदायिक वन र खोटाङ पाखा सामुदायिक वन। ती तीनैवटा सामुदायिक वनमा अधिकांश रूख सल्लाका छन्।

मड्केना सामुदायिक वनका उपाध्यक्ष केदार ढकालका अनुसार ७० को दशकबाट खोटो निकाल्न सामुदायिक वनले अनुमति दिएको हो। सल्लाको खाटो अलकत्रा र तार्पिनको तेल बनाउन प्रयोग हुने उनले बताए।

‘पहिलो वर्षमा टाँचा लगाएर रूखबाट खोटो निकाल्ने गरी सहमति गरियो,’ उनले भने, ‘माउ रूखबाट खोटो ननिकाल्ने भनिए पनि कतिपय ठाउँमा माउ रूखबाटै खोटो निकालेको पाइएपछि कारबाही पनि गरिएको थियो।’

उनका अनुसार मड्केना सामुदायिक वनमा मात्रै तीन हजार पाँच सयभन्दा बढी सल्लाका रूख थिए। तिनै रूखहरूबाट खोटो निकालिन्थ्यो। अहिले पनि त्यो क्रम जारी छ। पछिल्लो समय रूख मासिँदै गएपछि खोटो निकाल्न बन्द गरिएको ढकालको दाबी छ।

मड्केनाबाहेक चैनपुर र खोटाङ पाखामा त्यसभन्दा धेरै सल्लाका रूख थिए। ती पनि मासिने क्रम तीव्र छ।

एक सय रूखबाट खोटो निकाल्दा एउटा रूख राखिन्थ्यो। जुन रूखले बिरूवा उत्पादन गर्थ्यो। जसलाई माउ रूख भनिन्छ। उनका अनुसार सुरुआती दिनमा टाँचा लगाएका रूखबाट मात्रै खोटो निकाल्नेगरी सम्झौता भएको थियो।

‘एक केजी खोटो निकालेबापत सामुदायिक वनले १४ रुपैयाँ लिने सम्झौता भएको थियो। नौ फिट भन्दा बढी गोलाइ भएको रूखबाट ३० केजीसम्म खोटो उत्पादन हुन्छ। एउटा रूखबाट १५ देखि २० केजी उत्पादन हुन्छ,’ उपाध्यक्ष ढकालले भने, ‘प्राविधिकले सुझाएअनुसार खोटो निकाल्नुपर्ने हुन्छ। सोहीअनुसार सम्झौता पनि गरिएको थियो।’

खोटो निकाल्नका लागि रिल प्रयोग गरिन्छ। प्राविधिकहरूले सुझाएअनुसार एउटा रूखमा ३६ रिलभन्दा बढी हान्न पाइँदैन। ‘खोटो निकालिसकेपछि पाउडर छर्किनुपर्छ, त्यसो हुँदा रूख मर्दैन भनिन्थ्यो,’ उनी भन्छन्, ‘तर धेरैजसो खोटो निकाल्नेहरूले पाउडर छर्किएको पाइएन। खासमा एक केजी खोटो उत्पादनका लागि एक सय रुपैयाँभन्दा बढी खर्च हुन्छ।’

उनका अनुसार सल्लाको एउटा रूखबाट एक वर्षमा एक पाटोबाट एकपटक, अर्को वर्ष अर्कै पाटोबाट खोटो निकाल्नुपर्ने भए पनि कतिपयले भने एकैपटक चार पाटैबाट खोटोसमेत निकालेका थिए। जसले गर्दा अहिले अधिकांश रूखहरू मासिने क्रममा छन्।

तीन फुटभन्दा बढी गोलाइ भएका रूखबाट मात्रै खोटो निकाल्ने सर्तमा खोटो निकाल्न अनुमति दिए पनि त्यसभन्दा साना बिरुवाबाट पनि खोटो निकालिएको स्थानीय बताउँछन्।

खोटो निकाल्न रूखमा रिल तानेर सोली थापिन्छ। सोली भरिएपछि टिनमा खनाइन्छ। एउटा टिनमा करिब १८ देखि २० केजीसम्म खोटो उत्पादन हुने गरेको छ। खोटो उत्पादन भने फागुन, चैतदेखि असोजसम्म हुने गरेको छ। खोटो गर्मी सिजनमा उत्पादन हुने जानकारहरू बताउँछन्।

‘खोटो निकाल्न अनुमति दिएको वर्ष १७ सय टिन उत्पादन भएको थियो,’ वनका उपाध्यक्ष ढकालले थपे, ‘प्राविधिकले भनेअनुसार खोटो निकाले पनि पछिल्लो समय रूखहरू मासिन थालेपछि अहिले खोटो निकाल्न अनुमति दिइएको छैन।’

वनस्पतिविद् डा. भरतराज सुब्बाले वनस्पति मासिँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘वनस्पति बिना जन्तु हुँदैन, जन्तु बिना वनस्पति हुँदैन,’ उनी भन्छन्, ‘वन तथा वातावरण जोगाउनका निम्ति समुदाय नै सचेत हुनुपर्छ। वातावरण बुझ्ने मानिस कम छन्, जसले समस्या बढ्दै गएको छ। जंगल मासिँदै जाँदा तापक्रम पनि बढ्दै गएको छ।’

उनका अुनसार सल्लाबाट खोटो निकाल्दा कसलाई फाइदा भइरहेको छ वा कसलाई बेफाइदा भइरहेको छ भन्नेबारे अध्ययन गर्न आवश्यक छ।

‘खोटोबाट नेपालमै के प्रयोग भइरहेको छ भन्ने पनि खोज्नुपर्छ। खोटो निकाल्नु व्यावसायिक कुरामा राम्रै होला, तर नष्ट हुनेगरी गर्नु भएन,’ डा. सुब्बा भन्छन्, ‘भएको रूखमध्ये कति रूखबाट खोटो निकाल्ने भन्ने अध्ययन गर्नुपर्छ। विशेषगरी सन्तान उत्पादन हुने गरी छोड्नुपर्छ। जुन भेट्यो त्यसैलाई मास्ने चलन छ।’

उनका अनुसार कुनै पनि वस्तु वा जीव लोप हुनु समस्या हो। यसलाई जोगाउन समुदाय नै अग्रसर हुनुपर्छ। ‘सरकारी निकायले जतिसुकै सचेत गराए पनि वन तथा वातावरण जोगाउन समुदाय नै सक्रिय हुनुपर्छ। सल्लाका रूखमा आगो चाँडै टिप्दा ध्वस्त हुन्छ। आगलागी हुनबाट कसरी जोगाउने भन्नेबारे अध्ययन गरिनुपर्छ,’ उनी भन्छन्, ‘बिरुवा उत्पादन र त्यसलाई संरक्षणका निम्ति पनि जोड दिन आवश्यक छ।’

कोशी प्रदेशको धनकुटा, पाँचथर, उदयपुर, खोटाङलगायतका भेगमा सल्लाका रूख बढी मात्रामा  छन्। पश्चिमतिर फर्किएको, भिरालो र सुख्खा ठाउँमा सल्लाका रूखहरू बढी हुने सुब्बाको भनाइ छ। त्यसो त पछिल्लो समय रूखहरू मासिँदै जाँदा ससानो वर्षामै पनि पहिरो जाने क्रमसमेत बढेको जानकारहरू सुनाउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast