झापा- चार महिनाअघिको कुरा हो। झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन पर्यो भनी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको सम्पर्कमा आउँछन्।
छोराले घरमा भएका जिन्सी सामान, लत्ताकपडा, खाद्यान्न, सुनलगायत सबै सामान बिक्री गरिसक्यो। लागूऔषध खरिद गर्न घरमा बिक्री गर्नका लागि सम्पत्ति बाँकी नरहेपछि सधैँ झगडा हुने गरेको र अब छोराले उनीसहित परिवारमा ज्यानै लिने भन्दै त्रसित बनाएको थियो। यस्तो परिस्थिति उत्पन्न भएपछि १९ वर्षिय छोरालाई पक्राउ गर्न ब्युरोलाई सुराकी दिई उनले लागूऔषधसहित पक्रिन लगाउनुपर्यो।
एक्काइस वर्षीय एक युवती श्रीमान्लाई उपचार गरिदिन भनी नवयात्रा पुनःस्थापना केन्द्र काँकरभिट्टामा आउछिन्। आफ्नो श्रीमानले लागूऔषध सेवन गरी घरपरिवारमा झगडा हुँदा एक वर्षदेखि छुट्टै बस्दै आएका छौँ। छुट्टिएर बसेको केही समयमा नै घरमा भएको भाँडावर्तन, खाद्यान्न, मैले लगाउने गरगहना सबै लगेर बेचिसक्यो। अब त परिवार पनि छैन, सम्पत्ति पनि सबै उडाइसक्यो। कुन दिन मलाई नै सिध्याउने हो भर छैन भन्दै ती युवती श्रीमान्को उपचार गराउन पुनःस्थापना केन्द्रमा उनी पुग्छिन्।
माथि उल्लिखित प्रतिनिधि घटनाहरू जस्तै झापामा हजारौँ घरपरिवार लागूऔषधका कारण पीडित छन्। यसरी लागूऔषध सेवनकर्ता अन्तिम अवस्थामा पुगेपछि मात्रै प्रहरी तथा पुनःस्थापना केन्द्रको सम्पर्कमा आउने गरेको लागूऔषधकै क्षेत्रमा काम गर्दै आएका अभियन्ता भीम लुइँटेल बताउँछन्। ‘जिल्लामा ३० वटा पुनःस्थापना केन्द्र, कारागार तथा प्रहरी थुनामा सयौँको सङ्ख्यामा लागूपदार्थ प्रयोगकर्ता रहेका छन्’ उनले भने,‘हजारौँ प्रयोगकर्ता सम्पर्क बाहिर छन्, तिनको पहिचान गरी यथाशीघ्र उपचार गर्नुपर्छ’।
लागूपदार्थको दुर्ब्यसनीलाई राज्यले अपराधीको रुपमा व्यवहार गर्दा दुर्ब्यसनीहरू खुलेर उपचार गर्न सक्ने अवस्था नरहेको यसै क्षेत्रमा काम गर्दै आएका राजु गिरी बताउँछन्। लागूऔषधको कारोबारीलाई कानुनको कठघरामा ल्याउने र लागूपदार्थको दुर्ब्यसनीलाई अपराधीको रुपमा नहेरी यो एक प्रकारको रोग हो, उपचार गरे निको हुन्छ भन्ने चेतना व्यापक रुपमा जनमानसमा फैलाउनुपर्ने उनको भनाइ छ।
पछिल्लो समय जिल्लाको विभिन्न स्थानबाट लागूऔषध खैरो हिरोइन, गाँजालयायतका साथमा व्यक्तिहरू दिनहुँ पक्राउ पर्ने क्रम जारी छ। चाडपर्वको समयमा यसको व्यापार अझ फस्टाउने गरेको पाइन्छ। जिल्लामा हुने अपराधका अधिकांश घटनाहरूमा लागूऔषध सेवन गर्ने व्यक्तिहरूको संलग्नता हुने गरेको स्थनीय प्रशासनको तथ्यांकले देखाउँछ।
लागूऔषधको अधिकांश प्रयोगकर्ता अभिभावकविहिन र अभिभावक छुट्टिएर बसेका बालबालिका रहेको लागूऔषध नियन्त्रणको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका रमेश बास्तोला बताउँछन्। ‘त्यस्ता बालबालिकाहरूले उचित अभिभावकत्व नपाउँदा गलत सङ्गतमा फस्र्दै गएका छन्’, उनले भने,‘विद्यालयमा पढने उमेर समूहका बालबालिका साथीसङ्गतको लैलै र विभिन्न प्रलोभनमा परी धुम्रपानको लतमा फस्ने गरेका र विस्तारै उक्त लत नै लागूपदार्थ सेवनसम्म पुग्ने गरेका छन्।’
बीस हजार पाँच सय सक्रिय प्रयोगकर्ता
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार झापा जिल्ला लागूपदार्थको दुर्ब्यसनी तथा कारोवारी भएको प्रमुख जिल्लाका रुपमा रहेको छ। जिल्लामा लागूऔषध खैरो हिरोइनका २० हजार पाँच सय सक्रिय प्रयोगकर्ता रहेका छन्, जुन काठमाडौं पछि दोस्रो बढी भएको लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरी नायब निरीक्षक सोमेस लामिछाने बताउँछन्। उनका अनुसार झापा जिल्ला भारतसँग १४४.२ किमि खुला सीमाना रहेका कारण लागूऔषधको कारोबारको ग्राफ वर्षेनी बढादो क्रममा छ।
प्रनानि लामिछानेका अनुसार एक ग्राम खैरो हिरोइनलाई भारतीय सीमावर्ती बजारमा रु १७ सय पर्छ, जुन नेपाली सीमा कटाउने बितिक्कै रु पाँच हजार पर्न जान्छ। सीमावर्ती जिल्लाबाट जति टाढा पुर्याउन सकियो लागूऔषध खैरो हिरोइनको मूल्य बढ्दै जाने उनले बताए।
एक ग्राम खैरो हिरोइनलाई तीनदेखि पाँच जनाले सेवन गर्ने गरेको प्रनानि लामिछाने बताउँछन्। यसरी हेर्दा औसतमा एक जना दुर्व्यसनीले एक दिनमा रु आठ सय बराबरको लागूऔषध खैरो हिरोइन सेवन गर्ने गरेका छन्। करिब २० हजार पाँच सय प्रयोगकर्ताले दैनिक आठ सयको हिसाबले लागूऔषध खैरो हिरोइन सेवन गर्दा एक करोड ६४ लाख दैनिक नेपाली रुपयाँ लागूऔषधका लागि सीमावर्ती भारतीय बजारमा खर्च हुने गरेको ब्युरोको तथ्यांक रहेको छ।
नेपालको सीमासित जोडिएका भारतीय बजारहरूमा लागूऔषध खैरो हिरोइन सहजै उपलब्ध हुँदा नेपालतिर यसको कारोबार बढेको लागूपदार्थ प्रयोगकर्ता नै बताउने गरेका छन्। नवयात्रा पुनःस्थापना केन्द्रमा उपचार गराइरहेका एक लागूऔषध प्रयोगकर्ताका अनुसार भारतीय सीमावर्ती बजारका पानपसल, चिया पसल जहाँ पनि लागू पदार्थ सहजै रुपमा पाइने गरेको छ। उनका अनुसार अधिकांश नेपाली युवायुवती भारतमा नै गई लागूऔषध सेवन गरी आउने गरेका छन्।
लागूऔषधमा लत बसाउन युवतीको प्रयोग
भारतीय सीमावर्ती पानीटङ्कीलगायतका सहरका भारतीय नागरिकहरूले नेपाली आदिवासी मूलका कम साक्षर महिलालाई प्रयोग गर्ने गरेको ब्युरोका प्रनानि लामिछाने बताउँछन्। ‘बिर्तामोडमा डेरा गरी बस्ने त्यस्ता भारतीय नागरिकले नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी लागूऔषध खैरो हिरोइनको लतमा फसाउँछन्’ उनले भने,‘लतमा फसिसकेपछि शारीरिक सम्बन्ध राखेपछि मात्रै खैरो हिरोइन खान दिने भन्दै देह व्यापारमा लगाउने गरेका छन्।’
लागूऔषधको लत लागेपछि ती युवतीहरूलाई नै उनीहरूले खैरो हिरोइनको कारोबार र देह व्यापारमा लगाउने गरेको प्रहरीको भनाइ छ। डेरा गरी बस्ने अधिकांश भारतीय नागरिकले चार/पाँच ठाउँमा कोठा डेरामा लिई बस्ने गरेका छन्।
कुन ठाउँमा लागूऔषध राखेका हुन्छन्, पत्ता लगाउन नै समस्या पर्ने गरेको उनको भनाइ छ। घरधनीले पनि डेरामा बस्नेहरूको वास्तविक विवरण नराख्दा को कहाँ बस्छन् छुट्याउन नै गाह्रो हुने गरेको छ। डेरामा बस्ने मानिसहरूको विवरण सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने प्रणाली अपनाउन सकियो भने लागूऔषधको अनुसन्धान प्रक्रियामा सहयोग पुग्ने ब्युरोका प्रनानि लामिछानेको भनाइ छ। लागूऔषधको सेवन तथा कारोबारीलाई सूचना चुहाएको, छापा हान्नेलगायतका सूचना दिएको र कारोबारमा संलग्न रहेकामा प्रहरीका जवानहरू समेत पक्राउ पर्ने गरेको ब्युरोका प्रमुख लामिछाने बताउँछन्।
लागूऔषधका मुद्दाको चाप
स्थानीय प्रशासनले पछिल्लो तीन वर्ष (२०७८/७९ देखि २०८०/८१) मा लागूऔषध कारोबार तथा सेवनमा संलग्न एक हजार एक सय पाँच जना मानिसलाई पक्राउ गरेको छ। उनीहरूका साथबाट चार दशमलव पाँच किलोग्राम खैरो हिरोइन र ९६ दशमलव पाँच किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक रहेको छ। यसरी पक्राउ पर्नेमा गत आव २०८०/८१ मा मात्रै चार सय ६२ जना रहेका छन्।
तीन वर्षमा पक्राउ पर्ने व्यक्तिहरूमध्ये ९६ महिला र एक हजार नौ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूका विरुद्ध आव २०७८/७९ मा दुई सय, आव २०७९/८० मा दुई सय छ र आव २०८०/८१ मा दुई सय ९७ गरी सात सय तीन मुद्दा जिल्ला अदालत झापामा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
यसैगरी, झापा जिल्ला अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा सम्बन्धविच्छेद र अंशचलनपछि सवैभन्दा धेरै लागूऔषधका मुद्दा फछ्र्यौट भएका छन। गत वर्ष मात्रै लागूऔषधका मात्रै दुई सय ५३ मुद्दा फछ्र्यौट हुँदा एक सय ८४ मुद्दा बाँकी रहेका थिए।
सीमानाकामा निगरानी र नीतिगत सुधार
लागूऔषध दुर्ब्यसनी र यसको कारोबारका कारण गम्भीर आर्थिक, पारिवारिक र सामाजिक समस्याहरू निम्त्याएको स्थानीय समाजसेवी एंव पूर्वशिक्षक लक्ष्मी श्रेष्ठ बताउँछिन्। उनका अनुसार भारतसँगको खुला सिमानाले लागूऔषधको आपूर्ति सहज बनाएको छ।
राज्यले यस किसिमको समस्यालाई कानुनी रुपमा मात्र नहेरी सामाजिक रुपमा बुझ्न आवश्यक रहेको समाजसेवी रमेश उप्रेतीको धारणा छ। ‘दुर्ब्यसनीलाई उपचार, पुनःस्थापना र जनचेतनाको माध्यमबाट पुनः समाजमा फर्काउने प्रयास गर्नुपर्छ’ उनले भने, ‘लागूऔषधको कारोबार रोकथामका लागि सीमा नाकामा कडाइ गर्दै नीतिगत सुधार गर्न आवश्यक छ।’