काठमाडौँ- मिथिलामा पान, मखानको पर्वको रूपमा चिनिने कोजाग्रात पूर्णिमा बुधबार उल्लासपूर्वक मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले पान, मखान, मिठाइलगायतका सामग्रीले भगवानलाई पूजाआजा गर्ने गरेकाले कोजाग्रातलाई पान, मखानको पर्व पनि भनिएको हो।
कोजाग्रात पूर्णिमाका दिन जनकपुरधामको जानकी मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दछ। जानकी तथा राम मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि जनकपुरधाममा श्रद्धालुहरूको घुइँचो लागेको छ।
गंगा सागर र धनुषसागरमा बिहानै स्नान गरी जानकी तथा राम मन्दिरमा श्रद्धालुहरूले पूजाआजा गर्ने गर्दछन्।
काजाग्रातको अवसरमा महोत्तरीको रातौलीबाट ठाकुर परिवारबाट जानकी मन्दिरमा विशेष भार (पाहुर) आउने गर्दछ। यसपालि पाँचौँ पुस्ताले कोजाग्रातको अवसरमा जानकी मन्दिरमा भार पठाउने तयारी गरेको ठाकुर परिवारका सदस्य नवीन ठाकुरले जानकारी दिए।
‘कोजाग्रतको अवसरमा जानकी मन्दिरमा हाम्रो परिवारबाट पुस्तौंदेखि भार पठाउने परम्परा छ,’ ठाकुरले भने,‘यो परम्परालाई हामीले पनि निरन्तरता दिएका छौँ। यसपालि हाम्रो परिवारको पाँचौँ पुस्ताले जानकी मन्दिरमा भार पठाउने लागेको हो।’
उनका अनुसार जानकी मन्दिरमा पठाइने भारमा विभिन्न प्रकारका मिष्ठान, फलफूल, दही, लुगालगायतका सामग्री रहने छन्। यसपालि १०१ थान भार जानकी मन्दिरमा पठाउने तयारी गरिएको उनले बताए।
कोजाग्रातका दिन जानकी मन्दिरमा भार पठाउनुपर्ने भएपछि ठाकुर परिवारका सदस्यहरू एक साताअघि नै तयारीमा जुट्ने गरेको उनको भनाइ छ।
महोत्तरीको रतौलीबाट कोजाग्रता पूर्णिमाका दिन जानकी मन्दिरमा भार पठाउने वर्षौं पुरानो परम्परा रहेको ठाकुरले बताए।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कोजाग्रात पूर्णिमाको अवसरमा साँझ माता जानकीको प्रतिमालाई गर्भगृहबाट बाहिर प्राङ्गणमा राखेर पूजाआजा गरिने बताए।
माता जानकीको प्रतिमालाई गर्भगृहबाट बाहिर निकालेर नाचगान र पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए।
यस अवसरमा मिथिला क्षेत्रका हिन्दू धर्मावलम्बीहरूले घरघरमा पनि पान, मखान तथा मिठाईको प्रसादसहित पूजाआजा गर्ने गर्दछन्। यसअवसरमा नवविवाहिताहरूको घरमा माइतीपक्षबाट विशेष कोसेली पठाउने परम्परा पनि रहेको छ।
खासगरेर मैथिल ब्राह्मण र कायस्थ समुदायमा यस अवसरमा नवविवाहिताहरूको घरमा माइतीपक्षबाट पान, मखान, मिठाई, लुगा, माछालगायतका सामग्रीसहित भार पठाउने परम्परा रहेको छ।
स्वर्गमा समेत नपाइने पान मखान मिथिला क्षेत्रमा मात्र पाइने पौराणिक मान्यता रहेको छ। भगवना राम ससुराली जनकपुरधाममा रहेका बेला पूर्णिमाका दिन पान, मखान खाएको मान्यताअनरूप कोजाग्रता पूर्णिमालाई यस क्षेत्रमा विशेष महत्वका साथ हेर्ने गरिन्छ।