खेतीकिसानी

कृषिबाट आत्मनिर्भर बन्दै २५ वर्षीय विनोद

रमेश भारती ३० असोज २०८१ ९:२८
16
SHARES
कृषिबाट आत्मनिर्भर बन्दै २५ वर्षीय विनोद आफूले लगाएको केराखेतीमा सुर्खेत भेरीगंगा नगरपालिका–८ का विनोद शर्मा।

काठमाडौँ- सुर्खेत भेरीगंगा नगरपालिका- ८ का २५ वर्षीय विनोद शर्मा कृषि पेसामा आबद्ध छन्। सानै उमेरदेखि परम्परागत कृषिलाई नियालेका विनोदले उच्चशिक्षा कृषिमा गरेर त्यसैलाई व्यवसाय बनाएका हुन्। उनी किसान बाबुआमाका सन्तान हुन्।

विनोद २०७४ देखि पढ्दै कमाउँदै कार्यक्रममा जोडिएका थिए। त्यसको दुई वर्षपछि २०७६ मा उनले कर्णाली एग्रो कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि सुरु गरे। उनले भने, ‘आईएस्सी एजी गरेपछि दायाँबायाँ नसोची कृषिमै लागेँ।’ उनले पढाइ पनि छाडेका छैनन्।

ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री संकायअन्तर्गत रामघाट कृषि क्याम्पसमा बीएस्सी चौथो सेमेस्टरमा अध्ययनरत उनी कृषि पेसाको भविष्य उज्यालो रहेको बताउँछन्। पढ्दै कमाउँदै कार्यक्रममा जोडिएपछि अध्ययनसँगै कृषि पेसा थालेको उनले बताए।

विनोदले फार्ममा मौसमी तरकारी, केरा र सयपत्री फूल उत्पादन गर्दै आएका छन्। उनको फार्ममा वार्षिक ९ लाखभन्दा बढीको तरकारी उत्पादन हुन्छ। ‘पाँच वर्षदेखि तरकारी, यसै वर्षदेखि केरा र सयपत्री फूलखेती गरिरहेको छु। कृषिमा आधुनिक प्रविधिको प्रयोगसँगै बिस्तारै आत्मनिर्भरताको बाटो खोज्न थालेको छु’, उनले भने।

उनका अनुसार वार्षिक ४ हजार टन मौसमी तरकारी उत्पादन हुन्छ। विनोदको फार्ममा उत्पादन भएको तरकारी नेपालगन्ज र कर्णाली प्रदेशका मुख्य बजारमा खपत भइरहेको छ।

विनोदले केराखेती भने यस वर्षदेखि सुरु गरेका हुन्। ‘६ लाख रुपैयाँ लागतमा १८ रोपनी जग्गामा २७ सय बोट केरा रोपेको छु। यही साल १२ लाख रुपैयाँभन्दा बढीका केरा उत्पादन हुन्छ। ‘केराखेतीबाट सबै खर्च कटाएर वार्षिक तीन लाख आम्दानी गर्ने लक्ष्य छ’, विनोदले भने। कैलाली गएर कालु केरा फार्म अवलोकन गरेपछि केराखेतीमा आकर्षित भएको उनले बताए। फार्ममा उत्पादित केरा आफैँले बजारमा लगेर बिक्री गर्ने तयारीमा विनोद छन्।

विनोदले सञ्चालन गरेको कृषि फार्म।

उनको फार्ममा यति बेला सयपत्री फूल ढकमक्क फुलेका छन्। तिहारलाई लक्ष्य गरेर १ लाख लगानीमा सयपत्री फूलखेती गरेको विनोदले बताए। उनले भने, ‘तिहारमा सयपत्री फूलबाट ३ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ।’

विनोदलाई व्यावसायिक किसान बन्न कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले केरा भण्डारण, प्लास्टिक टनेल, थोपा सिँचाइ र केराका बोट खरिदमा सहयोग गरेको छ। कृषि पेसामा यति सहयोगले पर्याप्त नहुने उनी बताउँछन्।

आफ्नै देशमा केही गर्नुपर्छ भन्ने कृषि पेसामा लागेको उनले बताए। ‘लगानी सानो हुन सक्ला तर निरन्तर कृषि पेसामा लाग्ने हो भने आफ्नै देशको माटोमा परिवारसँगै रमाउन सकिन्छ। तर यसमा सरकारले ठूलो सहयोग गर्नुपर्छ’, उनले भने। अध्ययन र रोजगारीका लागि युवामा विदेश जाने होड चलेको छ। जसका कारण गाउँमा जमिन बाँझै छन्। यस विषयमा राज्य ध्यान नदिएको उनको आरोप छ।

‘हामीसँग केही छैन, केही गर्न सकिँदैन भन्ने जताततै निरासा छाएको छ। यस्तो भ्रमबाट सरकारले युवालाई बाहिर निकाल्नुपर्छ’, उनले भने। कृषिमा लाग्न चाहने युवालाई गर्न सके कृषिबाट आत्मनिर्भर हुन सक्ने योजना सरकारले ल्याउनुपर्ने उनको भनाइ छ। देश छाड्नु गलत भएको उनले बताए। ‘युवा पुस्ता कक्षा १२ सम्म पढाइ सकेपछि जसरी हुन्छ विदेश जाने मनस्थितिमा पुग्छन्। प्राविधिक शिक्षा अध्ययन गरेका युवा त आफ्नो देशमा भविष्य नै देख्दैनन्। सरकारले पनि उनीहरूलाई विदेश पठाउन सहयोग गरिरहेको छ’, विनोदले भने।

प्रकाशित: ३० असोज २०८१ ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =