भारत-पाकिस्तान सम्बन्ध सामान्यीकरणले सार्कमा पलाएको आशा

चन्द्रशेखर अधिकारी २९ असोज २०८१ २२:०९
24
SHARES
भारत-पाकिस्तान सम्बन्ध सामान्यीकरणले सार्कमा पलाएको आशा इस्लामाबादमा मंगलबार पुगेका भारतीय परराष्ट्रमन्त्री एस जयशंकर। तस्बिर : एस जयशंकरको एक्स

काठमाडौँ– भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर मंगलबार बिहान इस्लामाबादमा उत्रिएपछि दक्षिण एसियाली क्षेत्रको सहकार्यमा आशा पलाएको छ। नौ वर्षपछि भारतबाट पाकिस्तानतर्फ परराष्ट्रमन्त्रीको भ्रमण भएको हो। लामो समयपछि भएको यो भ्रमण दुईपक्षीय भने होइन। भ्रमण भएपछि दुईपक्षीय छलफल हुने विश्वास कूटनीतिज्ञहरूको छ।

संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनमा सहभागी हुन जयशंकर इस्लामाबाद पुगेका हुन्। गत वर्ष वैशाखमा पाकिस्तानी परराष्ट्रमन्त्रीले पनि भारत भ्रमण गरेका थिए। त्यतिबेला उनी नयाँदिल्ली त गएनन् तर गोवामा भएको यस्तै सम्मेलनमा सहभागी भए। त्यस क्रममा दुईपक्षीय छलफल भएको थिएन। उक्त भ्रमण पनि १२ वर्षपछि पाकिस्तानबाट भारततर्फ भएको थियो।

बेलायतबाट स्वतन्त्र भएपछि तीन पटक युद्ध गरेका यी दुई मुलुकबीच कट्टर दुस्मनी रहँदै आएको छ। भारत-पाकिस्तान नमिल्नु यस क्षेत्रको वास्तविकताझैँ भइसकेको छ। यसैले त यी मुलुकबीच जनस्तरमा सम्बन्ध भए पनि राजनीतिक स्तरमा खासै सम्बन्ध स्थापित हुन सकेको छैन। मिल्यो मिल्यो हुन्छ अनि कति बेला कुरा बिग्रिहाल्छ।

२०८० वैशाखमा गोवामा भएको एससीओ सम्मेनलमा सहभागी हुन पाकिस्तानका तत्कालीन परराष्ट्रमन्त्री बिलावल भुट्टो जर्धारी भारत उत्रिएका थिए। उनले दुईपक्षीय कुराकानी पनि गर्ने बताएका थिए। भारतीय पक्षबाट खासै चासो नदिएको तर सत्कारमा नचुकेको समाचार बाहिरिएको थियो। अहिले पनि त्यस्तै हुने अवस्था देखिन्छ पाकिस्तानमा। त्यति बेला इस्लामाबाद पुग्ने भारतीय अधिकारी अर्थात् परराष्ट्र उनै जयशंकर हुन्।

कूटनीतिक क्षेत्रका जानकारहरू एक मुलुकबाट १२ वर्षपछि र अर्को मुलुकबाट नौ वर्षपछि भ्रमण भएर कुराकानी भइरहेको अवस्थामा क्षेत्रीय संगठन अघि बढाउन पर्याप्त छलफल र बैठक हुनुपर्ने बताउँछन्। यस क्षेत्रको औचित्य बढाएर अघि बढ्दा भारतलाई फाइदा हुन्छ घटाएर अघि बढ्दाभन्दा।

दक्षिण एसियामा पहिलो विश्वले चुनौतीका रूपमा हेरेको मुलुक हो भारत। त्यसैले भारतले आफूलाई छिमेकसँग चुस्तदुरुस्त राखेर अघि बढ्न सक्नुपर्ने सुझाव विज्ञहरूको छ।
भारत, बंगलादेश, श्रीलंकाले इस्लामाबाद (पाकिस्तान) मा असुरक्षा रहेको भन्दै सन् २०१६ मा सार्कको शिखर सम्मेलन अन्तिम समयमा स्थगन गरेका थिए। आठ वर्ष बितिसक्दा पनि सार्क सम्मेलन हुन सकेको छैन।

काठमाडौँस्थित सार्क सचिवालयमा रहने आठ सदस्य मुलुकका प्रतिनिधि बिदा मनाउन आएजस्तै भएको अवस्था छ। यसरी सार्क राख्नुभन्दा यसका केही सुधारात्मक कार्य अघि बढाउन सक्नुपर्छ। अन्यथा सार्कको औचित्य सकिने बताउँछन् कूटनीतिक मामिलाका जानकारहरू।

एससीओको सम्मेलन भइरहेका बेला विश्वका नेताहरू पाकिस्तान पुगेका कारण सन्देश सकारात्मक प्रवाह भइरहेकाले सार्कले गति पाउने विश्वास नेपालका कूटनीतिज्ञहरुको छ। एससीओको बैठकमा सहभागी भारतलाई सार्कमा सहभागी हुनुपर्ने अवस्था सिर्जना हुने बुझाइ उनीहरूको छ।

पाकिस्तानले भारतसँग कुरा गरेमा सार्क अघि बढ्न सक्ने अवस्था देखापरेको छ। किनभने भारतले सार्कलाई मर्न दिएको छैन। उसले सार्कलाई नरुचाए पनि सचिवालयको बजेट कटाएको छैन। निर्देशक पठाइरहेको छ। यसबाट पनि सार्कलाई छाडेर अघि बढ्न सकिन्न भन्नेमा भारत स्पष्ट छ।

पूर्वपरराष्ट्रमन्त्री  थापाले भने, ‘भारतले सार्कलाई मार्न खोजेजस्तो त लाग्दैन। सार्क अघि बढाउँदा भारतलाई पनि फाइदा छ। विश्वको नेतृत्व गर्न राष्ट्रसंघको सुरक्षा परिषद्‌मा स्थायी सदस्यमा दाबी गरिरहेको भारत आफ्नो क्षेत्रीय संगठनमा कमजोर हुँदा त्यहाँ कसरी प्रस्तुत हुने भन्ने समस्या छ।’

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा सार्क अघि बढाउन भारतलाई यस्ता कूटनीतिक क्रियाकलापले बाध्य पार्ने बताउँछन्। भारतले सार्कलाई आफू अनुकूल बनाउन मात्र खोजेको भारतका लागि पूर्वराजदूत रहेका थापाको बुझाइ छ।

थापाले भने, ‘भारतले सार्कलाई मार्न खोजेजस्तो त लाग्दैन। सार्क अघि बढाउँदा भारतलाई पनि फाइदा छ। विश्वको नेतृत्व गर्न राष्ट्रसंघको सुरक्षा परिषद्‌मा स्थायी सदस्यमा दाबी गरिरहेको भारत आफ्नो क्षेत्रीय संगठनमा कमजोर हुँदा त्यहाँ कसरी प्रस्तुत हुने भन्ने समस्या छ।’

सार्क अध्यक्ष नेपाल भएकाले यस्तो अवस्थामा भारतसँग कुरा मिलाएर नेपालले प्रक्रिया अघि बढाउन सकेमा शिखर सम्मेलन पार लगाउन सक्ने अवसर छ। वर्तमान परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले आफूलाई भारतसँग निकट रहेको दाबी गर्ने गरेकाले पनि उनले यसलाई पुष्टि गर्ने समय आएको थापा बताउँछन्।

राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भूराजनीति र कूटनीति मामिलामा कलम चलाउँदै आएका अग्रज पत्रकार ध्रुवहरि अधिकारीले पनि इस्लामाबादमा भएको एससीओको सम्मेलनमा भारतीय परराष्ट्रमन्त्री सहभागी हुनुलाई सम्बन्ध सामान्यीकरणको पहिलो कदमका रूपमा लिएका छन्। यसपछि दुवै मुलुकमा राजदूत नियुक्त हुने अवस्था आएमा सहकार्य अघि बढेको बुझ्न सकिने अधिकारीले बताए।

२०१६ मा सार्क शिखर सम्मेलनको सबै तयारी पूरा भएको थियो। भारतले भाग लिन नजाने निर्णय गर्दै शिखर सम्मेलन स्थगन गरायो। आतंककारी रहने स्थानसमेत भन्दै आएको भारतले आफ्ना परराष्ट्रमन्त्री जयशंकरलगायत एससीओका अन्य प्रतिनिधिलाई सुरक्षित महसुस गराएको पाकिस्तानले सार्कको तयारी पनि त्यसरी गरिरहेको आकलन गर्दै पत्रकार अधिकारी भन्छन्, ‘नेपालले अब भारत-पाकिस्तानको सम्बन्धलाई अध्ययन गरेर सार्क अघि बढाउन भूमिका खेल्न जरुरी छ।’

सार्कका विषयमा भारतीय विज्ञहरूले पनि भारतीय नेतृत्वलाई कैयन् सुझाव दिइरहेका छन्। तर भारतको नेतृत्वले त्यसलाई वास्ता गरेको देखिँदैन। साथै भारत र पाकिस्तानका सञ्चारमाध्यमले सार्कलाई कुनै महत्त्व दिएको देखिँदैन।

जयशंकरको पाकिस्तान भ्रमणले २०१४ मा नेपालमा शिखर सम्मेलन भएपछि सेलाएको सार्क जुरमुराउन सक्ने अवस्था छ। पछिल्लो समय भारतले सार्क नरुचाएपछि यसको स्थान बिम्स्टेकले लिने पनि कतिपयको बुझाइ देखिन्छ। यद्यपि दुवै संगठनको कार्य प्रकृति भिन्न छ।

एससीओको बैठक पाकिस्तानको राजधानी इस्लामाबादमा मंगलबार र बुधबार गरी दुई दिन चल्नेछ। चीन र रुसका प्रधानमन्त्रीहरू इस्लामाबादमा पुगेका छन्। उच्चस्तरीय नेताहरूको उपस्थिति रहेका कारण पनि पाकिस्तानले आफ्नो मुलुकमा यस्ता सम्मेलन गर्न सक्ने सन्देश दिएको छ। पाकिस्तानमा तीन दिन सरकारी बिदा दिइएको छ। सबै स्थानमा सुरक्षा तैनाथ गरिएको पाकिस्तानस्थित एक अधिकारीले जानकारी दिए।

भारत एससीओको सदस्य हो। सम्मेलनमा परराष्ट्रमन्त्री जयशंकरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। पाकिस्तानले बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो। भारतले पहिला वा जुनियर मन्त्री पठाउने भन्दै आएको थियो। अन्ततः हाई प्रोफाइल मन्त्री पठाएको हो।

अहिलेको भ्रमणबाट भारत र पाकिस्तानको सम्बन्ध सुधारमा ठूलो आशा राख्न सकिन्न। पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डारले भनेका छन्, ‘आयोजक मुलुक पाकिस्तानले आफैँ द्विपक्षीय संवादका लागि प्रस्ताव गर्दैन। भारतले अनुरोध गर्‍यो भने सोच्न सकिन्छ।’ यद्यपि भारतीय परराष्ट्रमन्त्री जयशंकरले सम्मेलनका क्रममा दुईपक्षीय होइन बहुपक्षीय कुरा हुने बताएका छन्। उनले सञ्चारकर्मीसँग कुरा गर्दै दुईपक्षीय सम्बन्धमा केही गाढापन आएपछि बहुपक्षीय फोरमको आयोजक मुलुक पुगिने पनि बताएका छन्।

पाकिस्तानकी पूर्वपरराष्ट्रमन्त्री हिना रब्बानीले त जयशंकरको भ्रमणलाई भारतको ‘स्मार्ट मुभ’ को संज्ञा दिएकी छन्। यस प्रकारको भ्रमणबाट सकारात्मक सन्देश अघि बढ्ने विश्वास उनको छ। उनले भनिन्, ‘भारत र पाकिस्तानबीचको सम्बन्ध सामान्य नरहेको मात्र होइन, दुवै मुलुकका एकअर्काको उच्चायुक्त (राजदूत) समेत नरहेको अवस्थामा सामान्य अधिकारी र जुनियर मन्त्री नआएर जयशंकर आउनु भारतको ‘स्मार्ट मुभ’ हो।’ उनले भारत र पाकिस्तान यस क्षेत्रमा मिलेर प्रतिस्पर्धी मुलुकका रूपमा अघि बढ्न सक्नुपर्ने बताइन्।

पाकिस्तानमा भारतका लागि उच्चायुक्त भइसकेका अजय बसारियाले भारतीय परराष्ट्रमन्त्री जयशंकरको पाकिस्तान भ्रमण सम्बन्ध सुधारका पक्षमा एक उच्चस्तरको खुड्किलो रहेको बताएका छन्। उनले भनेका छन्, ‘यसले अर्को के सन्देश दिन्छ भने भारत पनि छिमेकी मुलुकबाट आफ्नो मुलुकसँगको सम्बन्धमा स्थिरता खोजेको देखिन्छ। भारतले छिमेक पहिलो भन्दै आएपछि त्यसअनुरूपको व्यवहार नभएको भनिरहेको अवस्थामा यो भ्रमण अर्थपूर्ण छ।’

जयशंकर फर्केपछि दुवै मुलुकमा राजदूत सिफारिस भए र व्यापारमा पनि सहकार्य सुरु भयो भने दुई कट्टर मुलुकहरूबीच मन फर्कनेछ अनि सार्क पनि अघि बढ्न सक्ने संकेत आउनेछ।

पूर्वराजदूत एवम्  दुई पूर्वप्रधानमन्त्रीका कूटनीतिक सल्लाहकार भइसकेका डा. दिनेश भट्टराई भन्छन्, ‘यस्तै प्रकारको गतिविधिले थला परेको कूटनीतिमा सुधार आउने हो।’

कूटनीतिको दुई पाटा हुन्छन्, एउटा दुईपक्षीय अर्को बहुपक्षीय। कहिले दुईपक्षीयले बहुपक्षीयलाई सहयोग त कहिले बहुपक्षीयले दुईपक्षीयलाई। सायद एससीओको निहुँमा

भारत र पाकिस्तानबीच कैयन् चरण छलफल भएर दुई मुलुकबीचको वैमनश्य अन्त्य गरी आपसी व्यापार प्रवर्धन गर्न साढे १३ वर्षअघि हिना रब्बानी खार आफ्ना समकक्षी एसएम कृष्णलाई भेट्न दिल्ली पुगेकी थिइन्। उनीपछि गत वर्ष जर्धारी गोवा पुगेका थिए।

मोदीको पहिलो कार्यकालमा सुष्मा स्वराज परराष्ट्रमन्त्री बनिन्। उनले आरम्भमै पाकिस्तान भ्रमण गरेकी थिइन्। त्यसरी भ्रमण भएको नौ वर्ष बितेको छ। पाकिस्तान पनि अमेरिकासँग कूटनीतिक सम्बन्ध चिसो हुँदा भारत खोज्छ भने भारतले पनि पहिलो शक्ति मुलुकसँग सम्बन्धमा तलमाथि हुँदा छिमेक खोज्दै आएको छ। यसमा दुवै मुलुकको प्रवृत्ति समान छ।

दुईपक्षीय सम्बन्ध भन्दा पनि यहाँ म एससीओको असल सदस्यका कारण आएकाले अहिले दुईपक्षीय विषयमा छलफल हुँदैन,’ जयशंकरले भनेका छन्।

बेलायतले घाउका रुपमा छोडेर गएको कश्मीरलाई लिएर दुई मुलुकबीच तीनपटक युद्ध भइसकेको छ। पछिल्लोपटक सन् २०१९ मा भारतले पाकिस्तानको इलाकामा हवाई हमला गरेको थियो। कश्मीरको भारतीय क्षेत्रका सेनामाथि पाकिस्तानबाट आक्रमण भएपछि भारतले जवाफ दिएको थियो। यो युद्ध लम्बिन पाएन। त्यसपछि सन् २०२१ मा सीमासम्बन्धी पछिल्लो सम्झौतापछि तनाव अलि साम्य भयो। सम्बन्धमा भने उही स्तरको वैमनाश्य छ।

भारत र पाकिस्तान दुवैले सांघाई कोअपरेसनलाई महत्त्व दिएका कारण भ्रमण भएको हो। यस कोअपरेसनमध्ये एसियालाई आर्थिक र सामारिक रूपमा बलियो बनाउन चीनले स्थापना गरेको थियो। सम्मेलनमा सहभागी नभए समूहबाट एक्लिने हुँदा डेढ वर्षअघि जसरी पाकिस्तान बाध्य भएको थियो अहिले भारत बाध्य भएको हो। अन्यथा कोअपरेसनबाटै एक्लिने सम्भावना रहन्थ्यो।

जयशंकरले यस भ्रमणलाई दुई पक्षीय नभएर बहुपक्षीय मुद्दामा केन्द्रित गर्न खोजेको विश्लेषकहरूको धारणा छ। विगत चार वर्षयता दुई मुलुकको सम्बन्ध स्थिर अवस्थामा छ। दुवै पक्ष आपसी सहकार्यका लागि तयार छैनन्। सीमा क्षेत्रमा तनाव कम गर्ने दुई मुलुकको लक्ष्य हो तर त्यसका लागि आपसी संवाद गर्न दुवै पक्ष तयार छैनन्।

‘पाकिस्तान आन्तरिक समस्या व्यवस्थापनमा केन्द्रित छ। पछिल्लो समयमा भारतले पाकिस्तानबाट भन्दा पनि चीनबाट सुरक्षा खतरा देखेकाले अन्य मुलुकसँग सम्बन्ध गाढा राख्न खोजेको हो’, एक नेपाली कूटनीतिज्ञले भने। यतिबेला भारत र पाकिस्तान दुवै तनाव व्यवस्थापनका पक्षमा भए पनि राजनीतिक कारणले आपसी मेलमिलापको प्रस्ताव अघि लैजान सकेका छैनन्।

दुवै मुलुकको चासो एकअर्का विषयमा फरक भएर पनि हो। भारत पाकिस्तानसँग आतंकवाद नियन्त्रणका लागि संवाद गर्न चाहन्छ। पाकिस्तानको चाहना कश्मीरप्रतिको नीति परिवर्तनका लागि वार्ता गर्ने हो। भारत र पाकिस्तान दुवै मुलुकको बढ्दो राजनीतिक ध्रुवीकरणले पनि आपसी सम्बन्धलाई थप संकटतर्फ धकेलेको छ। आपसी सम्बन्ध सुधारका लागि आमनेसामने नभएर लुकिछिपी संवाद पनि भइरहेकै कारण जयशंकर इस्लामाबादमा पुगेका हुन्।

यसअघि पनि भारतमा पाकिस्तानी उच्चपदस्थ अधिकारीको भ्रमण भए पनि वैमनश्यको स्थिति ज्यूँकात्यूँ छोडेको थियो। ‘दुईपक्षीय सम्बन्ध भन्दा पनि यहाँ म एससीओको असल सदस्यका कारण आएकाले अहिले दुईपक्षीय विषयमा छलफल हुँदैन,’ जयशंकरले भनेका छन्। उनी परराष्ट्रमन्त्री भएपछि पहिलोपटक पाकिस्तान पुगेका हुनाले त्यहाँ प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी भए। त्यसैले अहिले कूटनीतिक चासोको विषय हो, यी दुस्मन मुलुकबीच सहकार्य होला त?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =