एकीकृत समाजवादीका नेता : कोही बदनाम, कोही गुमनाम

किरण पौडेल २९ असोज २०८१ ९:४४
78
SHARES
एकीकृत समाजवादीका नेता : कोही बदनाम, कोही गुमनाम

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको गत असारमा सम्पन्न १० औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि अहिले अनेकन् प्रश्न उठिरहेका छन्। अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनाललाई साथमा लिएर विधानविपरीत काम गरेको आरोप नेताहरूको छ।

समाजवादीको विधानमा महाधिवेशन हलबाट पोलिटब्युरो र सचिवालय चुनिनुपर्ने व्यवस्था छ।  नेपालले भने पोलिटब्युरो र पदाधिकारी केन्द्रीय सदस्यबाट चुनेपछि उनीमाथि प्रश्न उठेको हो। त्यसैले पार्टीमा एकातिर विधानको कुरा उठेको छ भने अर्कातिर कुनै बेला अध्यक्षलाई साथ दिएकाहरू बदनाम बनेको चर्चा चुलिन थालेको छ। एमालेबाट फुटेर समाजवादी बन्दा जजसले दरिलो साथ दिए अहिले नेपालबाट टाढा हुन खोजेको आरोप उनीहरूमाथि लागेको छ।

त्यसो त विभाजनमा साथ नदिएका घनश्याम भुसाल लामो समयपछि समाजवादीमा प्रवेश गरे र महासचिव बनेका छन्। महाधिवेशनपछि पनि उनै भुसाल महासचिव दोहोरिए। समाजवादीभित्र भुसालबाहेक महासचिवका दाबेदार नभएका होइनन्। नेपालकै चाहनामा भुसाल महासचिव बनेको नेताहरू बताउँछन्। यही सन्दर्भले पनि अध्यक्ष नेपालसँग विगतमा साथ दिएकालाई अहिले फरक व्यवहार गर्न थालेको गुनासो कतिपयले गर्न थालेका छन्।

रामकुमारी झाँक्री

एमाले विभाजनका बेला सबैभन्दा दरिलो साथ दिनेमा पर्छिन्, रामकुमारी झाँक्री। झाँक्रीले अध्यक्ष नेपालको हात समाएर निर्वाचन आयोग गएको फोटोको अहिले पनि चर्चा हुन्छ। तिनै झाँक्री नेपालसँग रुष्ट छिन्।

समाजवादी बनेपछि झाँक्री मन्त्री बनेकी थिइन्। तर पार्टीले आफूहरूसँग सोधखोज नगरी हटाएको झाँक्रीको आरोप छ। ‘मैले बैठकमै भनेको थिएँ, हामीलाई फिर्ता बोलाउने भए हामीलाई भन्नू। मिडियाबाट सुन्नु नपरोस्,’ उनी भन्छिन्, ‘तर हामीले जे चाहेका थिएनौँ त्यही भयो।’ २०७८ असोजमा सहरी विकासमन्त्री बनेकी झाँक्री २०७९ असारमा फिर्ता बोलाइएको थियो। फिर्ता हुन नमानेको भन्दै पार्टीले कारबाही गर्नेसमेत बताएको थियो।

नेतृत्वसँग रुष्ट झाँक्री महाधिवेशनमा उपाध्यक्षमा पराजित भइन्। जयन्ती राईसँग महिला उपाध्यक्ष भिड्न पुगेकी झाँक्री पोलिट्ब्युरोमा खुम्चिएकी छन्। उनी पार्टी नेतृत्वले आफूहरूको कुरा नसुनेको बताउने गर्छिन्। झाँक्री अहिले दोधारमा रहेको उनीनिकट स्रोत बताउँछ।

प्रकाश ज्वाला

समाजवादीमा विद्रोहको पहिलो झिल्को हाल्ने नेतामा पर्छन्, प्रकाश ज्वाला। जतिबेला एमालेमा केपी शर्मा ओली-माधव नेपालबीच तिक्त सम्बन्ध बनेको थियो, त्यतिबेला ज्वाला कर्णालीका प्रदेश सांसद थिए। ज्वालाले ‘फ्लोअर क्रस’ गरेर एमालेको ह्विप अमान्य बनाएका थिए।

माओवादी नेता महेन्द्रबहादुर शाहीको सरकार कर्णालीमा थियो। उनीसहितका नेताले जसरी विद्रोह गरे, त्यसपछि नै समाजवादी बन्ने दिशामा गयो। तिनै ज्वाला पछिल्लो समय बदनाम भएको पार्टी स्रोत बताउँछ।

उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका बेला बालकुमारीमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले दोषी ठहर गरेको थियो। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाका लागि फाराम भर्ने क्रममा भएको विवाद हिंसात्मक हुँदा दुई युवकको मृत्यु हुनुको साथै मन्त्रीकै सवारी साधनमा आगो समेत लगाइएको थियो।

‘दोषी’ करारसँगै नैतिकताको खडेरीकै कारण नेपाली राजनीतिक दल, तिनका नेता र कार्यकर्तामाथि औँला उठाइने क्रम बढिरहेका बेला ज्वाला त्यसको अपवाद बन्लान् भन्ने जिज्ञासा सर्वत्र छ। ‘यसमा पार्टीले ज्वालाज्यूलाई जोगाउनुपथ्र्यो तर गरेन’, समाजवादीका एक नेता भन्छन्, ‘उनले मन्त्री हुँदा समेत राम्रो काम गर्न नसकेको पार्टीले आरोप लगायो।’

मेटमणि चौधरी

माधव नेपालका अति निकट नेता मानिन्छन्, मेटमणि चौधरी। उनी प्रतिनिधिसभा सदस्य एवं प्रमुख सचेतक हुन्। चौधरी यसअघि एक टेलिभिजनमा दिएको अभिव्यक्तिले बदनाम भएका छन्। उनले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएका थिए।

एकीकृत समाजवादीले उपमहासचिव समेत रहेका चौधरीलाई पार्टी महासचिवले स्पष्टीकरण लियो। स्पष्टीकरणमा भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै छ। त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताविरुद्ध तपाईंले किन बोल्नु भएको हो?’

चौधरीले जिब्रो चिप्लिएकाले अभिव्यक्ति गलत भएको स्पष्टीकरण दिएका थिए। उनलाई पार्टी संस्थापन पक्षले ‘क्षमा’ दिने बताएको थियो। एकाएक समाजवादीका अर्का नेता झलनाथ खनालले चौधरीले अक्षम्य गल्ती गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेका थिए। यसपछि यो विवाद नेपाल-खनालसम्म पुगेको थियो। नेपाल चौधरीलाई जोगाउने पक्षमा देखिए भने खनाल कारबाही गर्ने पक्षमा देखिए।

गुमनाम छन् यी नेता

गठनबाटै समाजवादीमा तिक्तता बढ्यो। मुख्य नेतृत्व नेपाल-खनाल दुईतर्फ बाँडिदा किचलो बढेको बढ्यै गर्‍यो। महाधिवेशनको नेतृत्वमा पनि यी दुई पात्र नै मुख्य आकांक्षी देखिए।

अहिले यो किचलो समाजवादीका तीन नेता नेपाल, खनाल र भुसालबीच हुने गरेको छ। त्यसो त समाजवादीमा खनालको खास ठूलो गुट छैन। वरीयतामा दोस्रो रहेका खनालको ‘बोली बिक्ने’ गरेको छ।

सांसदसमेत पार्टीको निर्णयविपरीत लागेको आरोप लाग्ने गरेको छ। कुनै बेला नेपाललाई साथ दिने नेताहरू प्रेम आले, कृष्णबहादुर श्रेष्ठ (किसान) र शेरबहादुर कुँवर महाधिवेशनमा अनुपस्थित थिए। निकट स्रोतका अनुसार यी नेताको नेतृत्व अहिले प्रेम आलेले गरिरहेका छन्। आले समाजवादीमा बसेर कहीँ नपुगिने तर्कमा पुगेको नेताहरू सुनाउँछन्।

कतिपय नेताहरू यी सांसदहरू रुष्ट हुँदै एमालेमा फर्किने तयारीमा रहेको बताउँछन्। ‘हाम्रो अध्यक्ष (माधव नेपाल) कै नजिक ती सांसदहरू छैनन्। क्षमता कमजोर भएको हो’, समाजवादीका एक पदाधिकारी भन्छन्। ओलीसँग पनि यी नेताहरू सम्पर्कमा रहेको पार्टी स्रोतको दाबी छ।

‘किसान श्रेष्ठ पनि ओलीसँगै सम्पर्कमा रहेका छन् भन्ने बुझिएको छ। हामीले केही गर्न सकेजस्तो लाग्दैन’, ती नेता भन्छन्।

पार्टी एक बनाउँदैछौँ : समाजवादी

पार्टीभित्र बदनाम र गुमनाम हुने प्रवृत्ति बढ्दा पनि अहिले नै विभाजनमा नजाने पार्टी स्रोतको दाबी छ। पार्टी सचिव सोम पाण्डेय अहिले विभाजन नहुने तर्क गर्छन्। उनी महाधिवेशनले एकताको काम गरेको दाबी गर्छन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि पार्टी विभाजनमा जान नहुने सुनाउँछन्। उनी लोकतान्त्रिक पार्टीमा विवाद हुने विषय सामान्य भएको बताउँदै जनप्रतिनिधिहरू पार्टी विभाजनमा पुग्न नहुने दाबी गर्छन्। ‘हिजो समाजवादीमा भोट माग्ने, अनि अहिले एमालेमा जाने काम गर्दा जनतालाई हेपेको जस्तो हुन्छ,’ पाण्डे भन्छन्,‘यस्तो काम कसैबाट हुनुहुँदैन।’

समाजवादीका १० सांसद छन्। गत आम निर्वाचनमा थ्रेस होल्ड पनि कटाउन नसक्दा समानुपातिक मत समेत समाजवादीले गुमाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =