काठमाडौँ- भाटभटेनी सुपर मार्केटका संस्थापक मीनबहादुर गुरुङसँग जग्गादानमा लिएर भवनसमेत उनैले बनाएर दिने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २५ गते कीर्तिपुरमा पार्टी कार्यालय निर्माणको शिलान्यास गरेपछि उक्त कार्यको पार्टीभित्रै विरोध हुन थालेको छ।
सरकारको नेतृत्वसमेत गरिरहेका प्रधानमन्त्री ओलीले ललितानिवास जग्गा प्रकरणमा विवादित व्यवसायी गुरुङसँग प्रचलित बजार मूल्यमा करिब एक अर्बको जग्गा दानमा लिनुले स्वार्थको द्वन्द्व निम्त्याउने भन्दै त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब बढेको हो।
सार्वजनिक वृत्तमा भने यस परिघटनालाई लिएर प्रधानमन्त्री ओलीले घुमाउरो बाटो प्रयोग गरी घूस लिएको आरोप व्याप्त छ। कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा १० रोपनी १४ आना क्षेत्रफलको जग्गामा एक वर्षभित्र भवन बनाएर दिने गरी गुरुङसँग एमालेले भवन र जमिन दानमा लिएको हो। उक्त कार्यालय भवन निर्माणमा लागि भूमिपूजामा प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्य र मीनबहादुर दम्पती सहभागी थिए।
पार्टी कार्यालय रहेको च्यासलको भवन पटकपटक डुबानमा परेपछि नडुब्ने अग्लो स्थानमा पार्टी कार्यालय बनाउन दान लिदाँ पार्टी नै डुब्ने जोखिम भएको एमालेका एक वरिष्ठ नेताले हिमाल प्रेसलाई बताए। ती नेताले पार्टीभित्र पर्याप्त बहस र छलफल बिना नै चाकरीबाज कोटरीको निर्णयमा ओली अगाडि बढ्दा आस्थावान कार्यकर्ता र २८ लाख मतदाताको भावनामा ठेस पुगेको बताए।
ती नेताको बुझाइमा विवादित व्यवसायीसँग दानदातव्य मात्र लिइएको र कुनै गोप्य डिल नभएको मान्न एमाले कार्यकर्ता तयार छैनन्। कतिपयले त शिलान्यासका बखत राखिएको शिलालाई ओलीले नेकपा एमाले पार्टीको चिहान खनेर ‘ग्रेभ स्टोन’ राखेको जस्ता अभद्र र अमर्यादित टिप्पणीसमेत गरेका छन्।
एमाले नेतृ विन्दा पाण्डेले त यसको सार्वजनिक विरोध गरेकी छिन्। उनले भूमिपूजाकै फोटो राखेर सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘२५ वर्ष पहिला एक दिनको पारिश्रमिक मनमोहन मजदुर भवनलाई अभियानमा सहभागL हरेकले आज पनि जिफन्ट कार्यालय पुग्दा गर्व गर्छन् त, आज साढे पाँच लाख पार्टी सदस्य र मतका आधारमा सवैभन्दा ठूलो दलको कार्यालय निर्माणस्थल दानमा लिएर नेतृत्व गर्व गर्ने ठाउमा पुगेकै हो?’
एमालेसँग निकट मानिने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका कुमार पन्तले पनि यसको विरोध गरेका छन्। ‘नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो कार्यालय निर्माणका लागि विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट आर्थिक सहयोग लिएको कुरा अत्यन्त चिन्ताजनक छ। यसले जनतामा पार्टीहरूप्रति रहेको विश्वासमा गम्भीर ह्रास ल्याउने जोखिम पैदा गर्दछ। यस्तो घटनाले पार्टीको छवि मात्र बिगार्दैन, नागरिकको मनोबलमा पनि नकारात्मक प्रभाव पार्दछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजको समयमा, जनता राजनीतिक दलहरूको पारदर्शिता र इमानदारीको खोजीमा छन्। नेतृत्वले जनताको चासो र आवश्यकताहरूलाई ध्यानमा राखेर कार्य गर्नुपर्ने आवश्यकता छ।’
पार्टीहरू यस्ता विवादास्पद सम्बन्धहरूबाट टाढा रहेर जिम्मेवार ढंगले काम गर्न सकेमा, जनताको विश्वास पुनः स्थापित गर्न सम्भव हुने उनले उल्लेख गरेका छन्। पन्तले लेखेका छन्, ‘यसैले, नेताहरूले जनताको आवाज सुन्न र उनीहरूको अपेक्षालाई ध्यानमा राख्न जरुरी छ।’