क्यानाडाबाट राजदूतसहितका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउँदै भारत

हिमाल प्रेस २८ असोज २०८१ २०:१५
28
SHARES
क्यानाडाबाट राजदूतसहितका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउँदै भारत

काठमाडौँ- भारतले क्यानाडाबाट आफ्नो राजदूतसहित कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने भएको छ। भारतीय विदेश मन्त्रालयमा सोमबार बसेको बैठकमा राजदूतलगायतका कूटनीतिज्ञहरूलाई क्यानाडाबाट फिर्ता बोलाउने निर्णय भएको हो।

क्यानाडा सरकारले पृथकवादी नेता हरदीपसिंह निज्जरको क्यानाडामा भएको हत्यामा भारतीय राजदूत सञ्जयकुमार वर्मामाथि छानबिन गर्ने निर्णय गरे लगत्तै भारतले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

निज्जरको हत्यामा आफ्ना राजदूत र कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबारमात्रै क्यानाडाको आलोचना गरेको थियो।

सन् २०२३ मा क्यानाडाका नागरिक निज्जरको हत्यापछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतका गुप्तचर निकायको संलग्नता रहेको आरोप लगाएका थिए। यद्यपि निज्जरको हत्यामा भारतको संलग्नता भएको प्रमाण ट्रुडो सरकारले हालसम्म पेश गर्न सकेको छैन।

ट्रुडोले यो आरोप लगाएपछि भारत र क्यानाडाका कूटनीतिक सम्बन्ध चिसिएको थियो।

सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गरेका थिए।

उनलाई भारतीय अधिकारीहरूले आतंकवाद र हत्याको षडयन्त्र गरेको आरोपमा ‘अत्यधिक खोजीको सूची’मा राखेर खोजी गरिरहेको थियो।

सन् २०२३ को जुन महिनामा भ्यानकुभरको एक सिख मन्दिरको पार्किङ स्थलमा भएको निज्जरको हत्यामा संलग्न भएको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

भारतले हत्यासँग जोडिएको आरोपलाई ‘निरर्थक’ र ‘राजनीतिक लाभका लागि भारतलाई बदनाम गर्ने रणनीति’ भनेको छ।
क्यानडामा करिब सात लाख ७० हजार शिखहरू बसोबास गर्छन् र यो क्यानडाको जनसंख्याको लगभग दुई प्रतिशत हिस्सा हो।

प्रकाशित: २८ असोज २०८१ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =