प्रचण्डभन्दा ओली लोकतान्त्रिक!

हिमाल प्रेस २८ असोज २०८१ ८:१५
24
SHARES
प्रचण्डभन्दा ओली लोकतान्त्रिक! एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड।

काठमाडौँ- विद्यार्थी संगठनलाई पार्टीको ‘नर्सरी’ भनिन्छ। शैक्षिक मुद्दामार्फत दलीय गतिविधि चलायमान बनाउन विद्यार्थी संगठनको योगदान रहँदै आएको छ। विद्यार्थी संगठनमा हुने सांगठनिक क्रियाकलापले पार्टी कस्तो बन्छ भनेर अनुमान लगाउन सकिन्छ। यद्यपि विद्यार्थी संगठनमा नेतृत्व चयनका लागि लोकतान्त्रिक अभ्यास हुन छाडेको छ। आफूलाई लोकतान्त्रिक भन्ने दल नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेविसंघ टीके प्रथामा सञ्चालन हुँदै आएको लामो समय भइसक्यो।

नेकपा माओवादी केन्द्रको अवस्था पनि उस्तै छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सधैँ आफू लोकतान्त्रिक र क्रान्तिकारी नेता भएको दाबी गर्छन्। उनी जुनसकै मञ्चमा पनि भाषण गर्दा देशको पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो नेतृत्व सफल भएको बताउँछन्। उनी आन्तरिक चुनावबाट भने पन्छिँदै आएका छन्। पार्टीभित्र मात्र नभई उनी भ्रातृ संगठनभित्र पनि यस्तो प्रवृत्ति मौलाउँदै आएको छ। यस्तै आरोप अखिल क्रान्तिकारीको हालै सम्पन्न राष्ट्रिय सम्मेलनका सन्दर्भमा प्रचण्डले भोग्नुपर्‍यो।

प्रचण्डकै रोकटोकका कारण यो संगठन सधैँ विवादित बनिरहेको छ। यसपटक पनि क्रान्तिकारीको सम्मेलनमा त्यस्तै भयो। पटकपटक म्याद सरेर यसपटक तोकिएको सम्मेलन पनि नेतृत्व चयन नभई स्थगित भएको छ।

निवर्तमान उपाध्यक्ष मदन भट्टराईका अनुसार अब महाधिवेशनको टुंगो छैन। क्रान्तिकारीको सम्मेलन गत असोज १० देखि काठमाडौँमा भएको थियो। सम्मेलन उद्घाटनसत्रमा प्रचण्डले उद्घाटन गरेका थिए।

क्रान्तिकारीभित्र गुटगत प्रवृत्ति, नेताहरूको हस्तक्षेप र उमेर हदका कारण नेतृत्वको निकास निस्कन सकेन। कतिपयले त प्रचण्डले नेतृत्व चुन्न नदिएको आरोप लगाएका छन्।

क्रान्तिकारीमा उमेद हद रहने–नरहने विषय एकाएक आयो। उमेर हद राख्ने प्रस्ताव प्रचण्डसमक्ष पनि पुगेको थियो। तर प्रचण्डले लगाउनुपर्ने ‘सिग्नल’ दिएका थिए। यसैको विवादले सम्मेलनमा कुर्सी भाँचाभाँचदेखि तोडफोडसमेत भयो।

संगठनका निवर्तमान उपाध्यक्ष भट्टराई भने उमेर हद बहानाबाजी मात्र भएको सुनाउँछन्। ‘प्रदेश र जिल्लामा नलागेपछि अब राष्ट्रमा किन लाउने? यो विषय एकाएक पस्यो’, भट्टराई भन्छन्, ‘उमेर हद बहाना हो। नेतृत्वको इच्छाशक्ति मुख्य हो।’

असोज १० मा राजधानी पसेका क्रान्तिकारीका प्रतिनिधि ‘भूमिकाविहीन’ हुँदै १७ असोजमा घर फर्किए। खासमा यस विषयमा प्रचण्डले निर्णय लिन नसकेको एक विद्यार्थी बताउँछन्। नेतृत्वको आकांक्षी रहेका नेताहरू पटकपटक प्रचण्डको निवास खुमलटारमै छलफलमा थिए। प्रचण्डको उम्मेदवार को हुने भन्ने बुझ्न नसक्दा सम्मेलन रोकिएको ती नेताको भनाइ छ।

अर्का एक नेताका अनुसार प्रचण्डले विवादित विद्यार्थी नेता दीपेश पुनलाई बोक्न खोजेका थिए। अध्यक्षका लागि झन्डै ३ दर्जन आकांक्षी भएका क्रान्तिकारीमा पुनलाई अघि बढ्न नेताहरूले दिएनन्।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा र पार्टी उपमहासचिव वर्षमान पुननिकट दीपेशलाई अघि सारे संगठन विवादित हुने नेताहरूको अडान थियो। अर्का उपमहासचिव जनार्दन शर्मा र निवर्तमान अध्यक्ष पञ्चा सिंह पनि पुनलाई रोकेर आफ्नो गुटबाट अन्य नेतालाई अघि बढाउन चाहन्थे। यसमा प्रचण्डको कुरा नबिक्ने भएपछि सम्मेलन रोकिएको नेताहरूको तर्क छ।

ओली-प्रचण्डको विद्यार्थी संगठनको तुलना

ओली नेतृत्वको एमालेको विद्यार्थी संगठन हो, अनेरास्ववियु। प्रचण्डको संगठन अखिल क्रान्तिकारी। आजभन्दा ६ वर्षपहिले यी दुवै संगठन एक थिए। यसैले पनि दुवै संगठनको तुलना गर्न सकिन्छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुँदा विद्यार्थीको संगठन थियो, अनेरास्ववियु।

त्यसबेला माओवादीबाट आएका रञ्जित तामाङ संयोजक र एमालेबाट आएका ऐन महर सहसंयोजक थिए। २०७४ को आमनिर्वाचन एमाले–माओवादी एक भएर लडे पनि विद्यार्थी संगठनको एकता २०७६ साल भदौमा भएको थियो। यी दुवै संगठन पार्टी एक हुँदासम्म मात्र एक भए।

जब २०७६ फागुनमा नेकपा विघटित भएर एमाले–माओवादी पूर्वविभाजित भएपछि विद्यार्थी संगठन पनि छुट्टिए। त्यसपछि एमालेले महरलाई अध्यक्ष बनायो। केही समयपछि महरले २०७८ असोज २ मा नेतृत्व छाडे र अध्यक्ष बनिन्, सुनिता बराल। यता माओवादीमा २०७८ असोजमा २२ औँ सम्मेलनबाट अध्यक्ष चुनिइन्, पञ्चा सिंह। त्यसबेला पनि सिंहलाई प्रचण्डले अध्यक्ष तोकेका थिए।

सिंहविरुद्ध वर्षमान–नारायणकाजी श्रेष्ठ समूहले समानान्तर गठन गरे। सिंहले नै अहिले नेतृत्व हस्तान्तरण गर्न २३ औँ सम्मेलन बोलाएकी हुन्। एमालेमा भने सुनिता बरालले २०७९ फागुनमै २३ औँ सम्मेलन गराएर नेतृत्व हस्तान्तरण गरिसकिन्। अनेरास्ववियुका नेता सुसन घिमिरेका अनुसार विधिसम्मत हिसाबले अबको एक वर्षमा फेरि राष्ट्रिय सम्मेलन हुनेछ।

माओवादीनिकट क्रान्तिकारीको भने सिंहलाई नेतृत्व छोडाउन कष्टकर देखिएको छ। संगठनमा किचलो भएपछि अनिश्चितकालका लागि सम्मेलन सरेको छ।

चुनावमा जान दिने ओली, नदिने प्रचण्ड

एमाले निकट अनेरास्ववियुको सम्मेलनमा पनि कडा प्रतिस्पर्धा हुने निश्चित थियो। बरालले नेतृत्व चुन्न चुनावमा जान अनुरोध गरिन्। यसमा पार्टी अध्यक्ष ओली पनि सकारात्मक रहे।

सम्मेलनमा अध्यक्षमा पाँचजनाको प्रतिस्पर्धा थियो। अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, वाङ्सु योञ्जन र लोकेस निरौलाले उम्मेदवारी दिएका थिए। ‘त्यसबेला पार्टीले हस्तक्षेप गरेन। हामी लोकतान्त्रिक विधिबाट चुन्नि पायौँ’, एमाले अखिलका नेता जीबी गजल भन्छन्, ‘नेतृत्वले हस्तक्षेप नगरेपछि हामी आफैँ चुनावमा जाने तयारीमा लाग्यौँ।’

निर्वाचनमा १५१७ मत खस्दा बडालका पक्षमा ९६२ मत आएको थियो । त्यस्तै अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाए। माओवादी निकट क्रान्तिकारीको सम्मेलन भने चुनाव जानै सकेन। ‘अध्यक्ष (प्रचण्ड)ज्यूले नै चुनावमा जाओ भन्न सक्नुभएन। यसैले पनि सम्मेलन स्थगित भयो,’ विद्यार्थी संगठनका एक नेता भन्छन्।

सम्मेलनमा एउटै गुटमा धेरै आकांक्षी हुँदा पनि सकस भएको थियो। वर्षमान गुटबाटै दीपेश पुन, इन्द्र भुसाल र पवन कार्की अध्यक्षका दाबेदार थिए। जनार्दन गुटबाट क्षितिज सापकोटा, नारायण खनाल, जीपी मैनाली, मदन भुल, मदन भट्टराई, प्रबिना अधिकारी, केशव रावल आकांक्षी थिए। पम्फा भुसाल र देव गुरुङ गुटबाट नरेश रेग्मी र मिलन एमसी अध्यक्षका दाबेदार थिए।

कृष्णबहादुर महराको गुटबाट तुकमान महरा अध्यक्षका आकांक्षी थिए। तुकमानले सम्मेलनमा खुकुरीसमेत देखाएका थिए। पार्टी अध्यक्ष प्रचण्ड निकटस्थ रहेका महरालाई अध्यक्ष बन्न नदिने वर्षमान-जनार्दन सक्रिय रहेको नेताहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =