
काठमाडौँ- बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सर्साइज क्याम्ब्रेन पाट्रोलमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ। उक्त अभ्यासमा बेलायतसहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ।
सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ।
दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दुरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइँको तयारी, सूचना संकलन, घाइते-बिरामीको व्यवस्थापनलगायतका दक्षताहरूको परीक्षण गरिन्छ। पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपक कुमार बानिया सम्मानित अतिथिको रुपमा सहभागी थिए।