विजया दशमी : टीका लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

हिमाल प्रेस २६ असोज २०८१ ६:५८
20
SHARES
विजया दशमी : टीका लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

काठमाडौँ– बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

ददसैँ घर वा पूजाकोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो। साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, उनले भने।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ। समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ।

आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवं समितिका सदस्य प्राडा देवमणि भट्टराई। यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन्। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।

प्रकाशित: २६ असोज २०८१ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast