गैरआवासीय नेपाली दिवस मनाइँदै

हिमाल प्रेस २५ असोज २०८१ ११:३१
6
SHARES
गैरआवासीय नेपाली दिवस मनाइँदै
काठमाडौँ- विदेशमा बसोबास गर्ने नेपालीलाई समेटेर सुरु गरिएको गैरआवासीय नेपाली अभियानको २१ वर्ष पूरा भएको छ। विश्वभर नेपाली डायस्पोराको विस्तार भइरहेको सन्दर्भमा यस समुदायबाट ज्ञान, सीप, पुँजी र प्रविधि भित्र्याउन सरकारले प्राथमिकता दिँदै आएको छ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान शुरु भएको थियो। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् स्थापना गर्ने तत्कालीन अभियान्ताहरू उपेन्द्र महतो, रामप्रताप थापा, भीम उदास, देवमान हिराचन, जीवा लामिछाने, दिल गुरुङलगायत थिए।
२१ औँ वार्षिकोत्सव मनाइरहँदा ८७ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकबद्ध गर्न संघ सफल भएको छ । विदेशमा रहेका पहिलो पुस्ताको पदचाप पछ्याउँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूले पनि मातृभूमिप्रतिको अपनत्व महसुस गर्न थालेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।
‘गैरआवासीय नेपाली संघ स्थापनादेखि नै मुख्य रुपमा उठान गरिएका माग तथा मुद्दाहरुमध्ये गैरआवासीय नेपाली नागरिकता प्राप्ति पछि त्यसको कार्यान्वयनका लागि विभिन्न पहल भएका छन्’, परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा कोष योजना, लगानी प्रवर्द्धन, विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार र धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रियाको विषयमा निरन्तर छलफल गरिएको छ भने  शिक्षा तथा स्वास्थ्य, कला साहित्य तथा पर्यटन, उद्योग तथा सञ्चार, उर्जा लगायत खेलकुद, युवा तथा महिला सशक्तीकरणका लागि महत्वपूर्ण कार्यहरु भएको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उल्लेख गरेको छ।
‘नेपालमा पहिलो पटक विश्वभरका महिलालाई एउटै फोरममा ल्याउन अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी भइरहेको छ। विदेशमा रहेका दोस्रो पुस्ताका युवा खेलाडीहरुलाई नेपालको राष्ट्रिय खेलकुद प्रतियोगितामा जोड्न संघ सफल भएको छ। यस वर्षपनि दोस्रो पुस्ताका खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने तयारी जारी छ,’ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्‌द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘एनआरएन डेभलप्मेन्ट फण्डमार्फत विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन संघले जारी राखेको पहल अन्तिम चरणमा पुगेको छ । नेपालको विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि गैरआवासीय नेपालीहरुको उपस्थिति बढ्दो छ। पछिल्लो दुई दशक भन्दा बढीको यस  अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करीब एक खर्ब  भन्दा बढी लगानी भित्रिसकेको  छ।’
आर्थिक लगानी मात्रै नभइ यस सँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको उल्लेख गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्‌ले सोही उद्देश्यअनुसार यसअघि वटा विज्ञ सम्मेलन आयोजना गरेको बताएको छ । यसका साथै परोपकारका क्षेत्रमा मात्र  साढे एक अर्ब भन्दा बढीको सहयोग प्रदान गरिएको उल्लेख छ।
गैरआवासीय नेपाली दिवस विश्वभर विविध कार्यक्रममा साथ मनाइँदैछ। यसै अवसरमा काठमाडौँमा २७ र २८ अक्टोबर  २०२४  एनआरएन डे विशेष कार्यक्रमसहित ग्लोबल कन्क्लेभको आयोजना गरिने तय भएको छ।
प्रकाशित: २५ असोज २०८१ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =