राेशीले बस बगायो, सुख्खा पहिरोमा पुरियो सुमो, बीपी राजमार्ग फेरि अवरुद्ध

हिमाल प्रेस २५ असोज २०८१ ११:१०
34
SHARES
राेशीले बस बगायो, सुख्खा पहिरोमा पुरियो सुमो, बीपी राजमार्ग फेरि अवरुद्ध बीपी राजमार्गअन्तर्गतको रोशी खोलामा बगाएको बस र सुख्खा पहिरोमा पुरिएको सुमो। तस्बिर : प्रिन्स मैनाली

काठमाडौँ- बीपी राजमार्गमा पर्ने रोशी खोलाले बस बगाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान ३ बजे रोशी गाउँपालिका-११ पिप्लेमा सुख्खा पहिरोमा परेको बा४ख ४३५२ नं. को बस रोशीले बगाएको हो।

यसैगरी ना१ज ६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको छ। सुमोको पछाडिको भाग मात्र देखिएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

जिल्ला प्रहरी कार्यालयले शुक्बार जारी गरेको सूचनामा भनिएको छ, ‘रोशी गापा ११ पिप्ले बीपी राजमार्गमा माथिबाट सुख्खा पहिरो आई उक्त पहिरोले सिन्धुलीटबाट काठमाडौँँतर्फ आउँदै गरेको बा४ख ४३५२ नं. को बसलाई धकेली २० मिटर तल खोलामा बगाएको र खोटाङबाट काठमाडौँतर्फ नै आउँदै गरेको ना१ज ६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको छ।’

प्रहरीले बीपी राजमार्गअन्तर्गत नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गापा-११ पिप्ले स्थित बीपी राजमार्गमा पुन: सुख्खा पहिरो झरिरहेकाले तत्काल दुईतर्फी सडक अवरोध भएकोले यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।

सुख्खा पहिरो खसेपछि बाटो अवरूद्ध भएको छ। सुख्खा पहिरोमा बस र सुमो पुरिए पनि मानवीय क्षति नभएको एमाले रामेछापका सदस्य एवं विपद् व्यवस्थापन स्वयंसेवा उपप्रमुख प्रिन्स मैनालीले जानकारी दिए।

मैनालीका अनुसार सुख्खा पहिरोमा पुरिएको बस र सुमोको उद्धारका लागि आएको डोजर पनि पल्टिएको छ। उनले भकुन्डेबेसी-नेपालथोक सडक खण्डमा यात्रा नगर्न अनुरोध गरेका छन्।

बाढीपहिरोबाट क्षतिग्रस्त भएर १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गअन्तर्गत काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड शुक्रबार बिहानबाट सञ्चालनमा आएको थियो।

सञ्चालनमा आएको केही घण्टा नबित्दै सुख्खा पहिरो जाँदा बीपी राजमार्ग फेरि अवरूद्ध भएको हो। भौतिक मन्त्रालयका अधिकारीहरूले केही दिनअघि गरेको अनुगमनपछि बाढीपहिरोका कारण यो सडक खण्डको १८ किलोमिटर सडक क्षतिग्रस्त भएको बताएका थिए।

मन्त्रालयले बाढीले सडक नै बगाएको अवस्था रहेकाले दसैँअगाडि बीपी राजमार्ग सञ्चालनमा आउन नसक्ने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी राजमार्ग शुक्रबार बिहानबाट सञ्चालनमा आउने बताएका थिए। फिल्डमा रहेका भौतिक मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग भएको कुराकानीका आधारमा ओलीले बीपी राजमार्ग शुक्रबार बिहानबाट सञ्चालनमा आउने जानकारी सामाजिक सञ्जालमा दिएका थिए।

प्रकाशित: २५ असोज २०८१ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =