
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिको पहलमा सिन्धुलीको सुनकोशी गाउँपालिकाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री सहयोग गरिएको छ।
नेता निधिको पहलमा जनकपुरधामका कांग्रेसका नेता कार्यकर्ताहरूले सुकोशी गाउँपालिका–१ दुम्जाका बाढीपहिरो प्रभावितहरूलाई राहतसामग्री सहयोग गरेका हुन्।
जनकपुरधामबाट बुधबार राहतसामग्री लिएर पुगेका उनीहरूले सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालालाई हस्तान्तरण गरेका हुन्।
कांग्रेस धनुषाका नेता मनोज चौधरीले जनकपुरधामबाट लिएर आएको राहतसामग्री गाउँपालिकाका उपाध्यक्ष कोइरालालाई सिन्धुलीको चियाबारीमा हस्तान्तरण गरेको बताए।
चौधरीले पूर्वउपसभापति निधिको समन्वय र पहलमा जनकपुरधामका कांग्रेसका युवा नेता तथा कार्यकर्ताहरूले राहत सामग्री संकलन गरी दुम्जाका बाढीपहिरो प्रभावितलाई सहयोग गरेको बताए।
उनका अनुसार सय परिवारका लागि राहत सामग्री गाउँपालिका उपाध्यक्षलाई हस्तान्तरण गरिएको छ।
२५ केजी चामल १०२ बोरा, ५ केजी च्युरा सय प्याकेट, ५ केजी मसुर दाल सय प्याकेट, आधा लिटर खाने तेल सय प्याकेट, १५ कार्टुनु चाउचाउ, दुई सय कार्टुन पानी, सय प्याकेट नुनलगायतका सामग्री सहयोग गरिएको चौधरीले बताए।